सामाखुसीमा जन्मिएकी शर्मिला मगर अमेरिकामा इतिहास रच्न तयारी गरिरहेकी छिन्।
मनमा आउने अनेकौं खुल्दुलीले आधा रातसम्म जागै हुन्छिन्। नेपालमा छोडेका छोराछोरी के गर्दै होलान्? सन्चो, बिसन्चो के होला? के खाए होलान्? यस्तै प्रश्नले गाँज्दा गाँज्दै रात बितेको पत्तै पाउँदिनन्। केही खान खोज्यो कि तिनैलाई सम्झिन्छिन्। दिनभरको कामको थकान तिनैसँग कुरा गरेर बिर्सिन्छिन्। परदेशमा दिनरात संघर्ष गदै गरेकी उनको मन भने हरपल नेपालमा छोडेका तिनै दुई नाबालक सन्तानमाथि छ। अमेरिकामा संघर्ष गर्दै गरेकी ३५ वर्षे शर्मिला मगरको जीवनका भोगाइले एकल महिलालाई मात्र होइन, आम महिलालाई जीवन जिउनका लागि संघर्ष गर्न प्रेरित गर्छ।
सानै उमेरमा प्रेम विवाह गरेकी शर्मिलाले विवाह गर्ने उमेरमा एक छोरा पाइसकेकी थिइन्। विवाहपछि श्रीमान–श्रीमती बीचको मायाप्रेम, साथ, सहयोग के हो? भन्ने उनलाई थाहै भएन। छोरा तीन वर्षको हुँदा उनको सम्बन्धबिच्छेद भइसकेको थियो। काठमाडौंमा एक्लो महिलाका लागि सन्तान हुर्काउन कति सकस होला? जस्तोसुकै संघर्ष गर्न पनि पछि हटिनन् उनी। छोरालाई हुकाउँदै पढाउँदै गइन्।
श्रीमान जतिसुकै फटाहा, बदमास भएर श्रीमतीले डिभोर्स गरेको किन नहोस्, सम्बन्धबिच्छेद पछि महिलालाई ‘लोग्नेले छोडेकी’ ट्याग लगाउने हाम्रो समाजमा परिवार झेल्नु सामान्य थिएन । उमेर कलिलै थियो तर मन भने ढुुङ्गाभन्दा बलियो बनाएर समस्यासँग जुझिरहिन्। परिवार, इष्टमित्र र समाजको एकल महिलाप्रतिको नकारात्मक दृष्टिकोणलाई चिर्नैपर्छ भन्ने अठोटका साथ उनी अघि बढिन् । चुनौतिसँग जुद्नु त उनको दिनचर्या नै बन्याे। जसले उनलाई दिनप्रति दिन ब्यवहारिक रुपमा परिपक्क बनाउँदै लग्यो ।
याे पनि: ११ वर्षकाे उमेरदेखि लुटिदै आएकी याैनकर्मी भन्छिन्–परिवारका लागि घर बनाउने इच्छा छ (भिडियाे)
‘पढेर होइन परेर जानिन्छ’ भन्ने भनाइ उनको जीवनमा ठ्याक्कै मेल खान्छ। काठमाडाैंकाे सामाखुशीमा जन्मिएकी शर्मिलाको स्वभाव सानैदेखि अलिक भिन्न थियो। कसैले अरुमाथि अन्याय, अत्याचार र दमन गरेको देख्दा उनलाई असह्य हुन्थ्यो; प्रतिकारमा उत्रिहाल्थिन् । पढाइ अत्यन्तै तेज थियो तर कसैको प्रेम जालमा परेर निरन्तरता दिन सकिनन्।
आफ्नोभन्दा अरुको समस्यामा साथ दिने शर्मिलाले आफू जस्तै संघर्षरत महिलालाई सहयोग गर्न ‘समिदा’ नामक गैरसरकारी संस्थाको स्थापना गरिन्। उक्त संस्थामार्फत आफूजस्ता धेरै एकल आमालाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका सामाजिक तथा आर्थिक सशक्तिकरणमा आधारित तालिम प्रदान गर्दै आएकी छिन्।
शर्मिलाले एकल महिलाको जीवनमा मात्र हैन, समाज परिवर्तन गर्नका लागि गहन भूमिका निर्वाह गदैआइरहेकी छिन्। ‘मृत्यपछि दागबत्ती दिन छोरा नै चाहिन्छ’ भन्ने पुरानो मान्यतालाई चिर्दै उनले आमाको मृत्युमा आफैले दाग बत्ती दिएर, कपाल मुन्डन गरी १३ दिनकाे काजकिरिया गरेकी थिइन् । उनको यो साहसलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिइएको थियाे ।
सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा ज्यान गुमाउनेका परिवारलाई दिनरात सहयोग गरिन्। भुकम्प प्रभावित जिल्लामा पुगेर रेस्क्यु र राहत कार्यमा जुटिन्। भूकम्पले भत्काएका मनमा मलमपट्टि लगाइरहिन्। उनले समाज परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै सन् २०१५ मा संयुक्त राष्ट्र संघले एनपीसी अर्वाडले सम्मान गर्याे।
सामाजिक सेवाका साथै बिभिन्न कार्यमा उनकाे सक्रियतापूर्वक सहभागिता लाेभलाग्दाे हुन्छ। उनले साइकल चलाएर नेपालका धरै जिल्ला घुमिसकेकी छिन् । केही समयअघि साइकलमा यात्रा गर्ने क्रममा पहाडबाट खसेर उनकाे नली खुट्टा नै भाँचियो। अझै पनि दुईवटा स्टील रड र ९ वटा किला उनकाे खुट्टामा यथावत छन्। यति हुँदा पनि उनले हिम्मत हारेकी छैनन्। अझै साईकलमार्फत धेरै शहर घुम्ने चाहना छ उनकाे।
गत बर्ष मात्र उनले नेपाल पर्यटन बाेर्ड तथा परराष्ट मन्त्रालयबाट तीन महिने क्लाइम्बरको ट्रेकिङ तालिम लिएकी थिइन्। उनीलगायत उनको समुहले सिन्धुपाल्चोकमा रहेको ५,८२५ मीटर जुगल हिमाल सफल आरोहण गरेको थियो । महिला कमजोर हुँदैनन् भन्ने भनाईका साथ उनी अमेरिकाको अलस्का राज्यमा रहेको २०,३१० फिट अग्लो डेनाली हिमाल चढेर अमेरिकामा हिमाल चढ्ने पहिलो नेपाली महिलाको रेकर्ड राख्ने उद्धेश्यका साथ लागिपरेकी छिन्।
अहिले उनी हिमाल चढ्नका लागि आर्थिक संकलन जुटाइरहेकी छिन् । जीवनमा जति नै बाधा अड्चन र चुनौति आए पनि निरन्तर लागिरहेमा लक्ष्यमा पुग्न सकिने उनकाे धारणा छ। आफूले आँटेको यो कार्यलाई सफल बनाउन सहयोग गरिदिनु उनी सबैसँग अपील गर्छिन्।