कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु, चीनमा सोमबारमात्रै ६४ जनाको ज्यान गयाे

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ। क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो।

साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ। ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन। पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ।

समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो। उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए। उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ।

यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो। यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो।

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा चार सय २५ पुगेको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ। 

कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। 

चीनभन्दा बाहिर हङकङमा १५, मकाउमा ८ र ताइवानमा १० कोरोना संक्रमित बिरामी भेटिएका छन्। एसियाका अन्य देशमा ९७, युरोपमा २१, उत्तर अमेरिकामा १५ र अस्ट्रेलियामा १२ बिरामी फेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2020-02-05 00:48:51

प्रतिकृया दिनुहोस्