चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा चार सय २५ पुगेको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ।
कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।
चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ। हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ।
कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ। चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो।
वुहान ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ।
वुहानबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ। ६८ ओटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो।
चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन्।
मङ्गोलिया र रुसले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ। हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरुपमा रोकिएको छैन।