चीनले कोरोना संक्रमितका लागि १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा ल्याउने

बिएल संवाददाता

काठमाडाै‌ं

कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल सोमबारबाट सञ्चालनमा आउने भएको छ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल आजबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन्। १४ सय मध्ये ९५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनियाँ लिबरेसन आर्मीका ४५० जनालाई उक्त अस्पतालमा खटाएकाे हाे। यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन्।

चीनले यस अघि सन् २००३ मा पनि बेइजिङमा यस्तै एक अस्पतालमा निर्माण गरेको थियो। 

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको बीबीसीले बताएको छ। दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ समाचारमा उल्लेख गरिएको छ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ। चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको हो। 

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ। चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ। 

आइतबार फिलिपिन्समा कोरोनाबाट एक जनाको ज्यान गएको छ। 

६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ। वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन्। वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन्।

वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ। 

वुहानको पूर्वी सहर वेन्जुउमा बसोबास गर्नेहरूलाई खाना र अन्य अत्यावश्यक सामान किन्नको लागि एउटा परिवारको एक जनालाई दिनमा दुई पटक घरबाट बाहिर निस्कन अनुमती दिएको छ। 

प्रकाशित मिति: : 2020-02-04 00:17:02

प्रतिकृया दिनुहोस्