दृष्टिविहीनको सरकारसँग आग्रह, ‘कि बाँच्ने विकल्प देऊ कि गोली ठोक’

पूर्णरूपमा दृष्टिविहीनलाई सरकारले मासिक १६ सय रुपैयाँ उपलब्ध गराउदैं आएको छ। तर, त्यसले न महिनाभरिको घरभाडा तिर्न पुग्छ, न त पेट पाल्न नै। 

काठमाडौंका सडकमा  दृष्टिविहिनले गीत गाएर माग्न नपाउने भएपछि उनीहरूलाई दुईछाक टार्न धौं–धाैं पर्न थालेको छ। 

दृष्टीविहिनले सडकपेटीमा बसेर माग्दा विदेशी पर्यटकमाझ नराम्ररो सन्देश जाने भन्दै सरकारले नयाँ नियम लागु गरेको हो। 

मुलुकी अपराध संहिता २०७४ को दफा १२६ ले पनि सडकमा बसेर भिक्षा माग्न वा माग्न लगाउन नपाउने व्यवस्था गरेको छ। सोही दफालाई टेकेर काठमाडौं महानगरपालिकाले सडकमा मागेर बस्न नपाइने भन्दै केही समय यतादेखि सडकपेटीमा गीत गाएर बसेका दृष्टिविहिनलाई पक्राउ गर्न थालेको हो। 

यसै सातामात्र काठमाडौंका विभिन्न ठाउँबाट गीत गाएर बसेका २२ दृष्टिविहिनलाई पक्राउ गरिएको थियो। उनीहरूले प्रयोग गर्ने माइक र स्पिकर समेत जफत गरिएको थियो। सडकपेटीमा गीत गाएर बस्ने दृष्टिविहिनको संख्या २ सयको हाराहारीमा रहेको बताइन्छ। 

आर्थिक अवस्था अत्यन्त कमजोर भएका दृष्टिविहिनले पेट पाल्नकै लागि सडकमा बसेर गीत गाउने र त्यसबाट संकलन भएको रकमले जीविकोपार्जन गर्दै आइरहेका छन्। सरकारी रवैयापछि अहिले उनीहरू सडकपेटीमा बस्न डराइरहेका छन् र उनीहरू भित्री सडकमा बस्न थालेका छन्। 

सरकार आफूहरू प्रति पूर्वाग्रह भएको पशुपति क्षेत्र वरिपरी गीत गाउदै माग्न बसेका दृष्टिविहिन बताउँछन्। ‘सरकार आफै भारत र चीनसँग चन्दा मागेर देश चलाउँछ। हामीलाई भने आफ्नै देशका जनतासँग माग्न प्रतिबन्ध लगाउँछ। सरकारले कि हामीलाई वैकल्पिक उपाय दिनु पर्यो,’ उनीहरू भन्छन्–‘माग्नु हाम्रो रहर होइन। बाध्यता हो।’ 

पूर्ण रूपमा दृष्टिविहिनलाई सरकारले मासिक १६ सय रुपैयाँ उपलब्ध गराउदैं आइरहेको छ। तर, त्यसले न महिनाभरीको घरभाडा तिर्न पुग्छ, न त पेट पाल्न नै। 

बिरामी भएर उपचार गर्न गयो भने उधारो राखेर फर्किनु पर्ने बाध्यता छ। एक दृष्टिविहिन भन्छन् – ‘हामीसँग पढे लेखेका शिक्षित साथी छन्। तर कसैले रोजगारी पाउदैनन्। के हामी यो देशको नागरिक होइनौं?’ 

सरकारले दृष्टिविहिनलाई मासिक ८ देखि १० हजार भत्ता उपलब्ध नगराएसम्म सडकमा माग्ने अवस्थाको अन्त्य नहुने उनीहरूको भनाई छ। ‘सरकारले वैकल्पिक व्यवस्था गर्न सक्दैन भने गोली ठोकेर मारिदिए हुन्छ,’ उनीहरू भन्छन्। 

जीवन गुजाराको लागि सडकपेटीमा बसेका दृष्टिविहिन महिलाले प्रहरीले आफ्नो कपडा च्यातिने गरी लछारपछार गर्दै दुर्ब्यहार गर्ने गरेकाे आरोप लगाए। उनीहरू भन्छन्, ‘अहिले पनि कतिबेला नगर प्रहरी आउछ र हामीले सडकमा बसेर जम्मा पारेका चामल खानेकुरा र पैसा लुटेर समातेर लैजान्छ भन्ने डर लाग्छ।’ 

सडकमा आफ्नो कला प्रदर्शन गरेर पैसा संकलन गर्ने प्रचलन संसारभरी जहाँ पनि देख्न पाईन्छ । अमेरिका जस्तो धनि मुलुकमा पनि सडकछेउ मानिसहरू गीत गाएर पैसा संकलन गर्ने गर्छन। दृष्टिविहिनप्रति देखिएकाे याे समस्या वास्तवमै साेचनीय छ।
 

प्रकाशित मिति: : 2020-02-03 20:27:37

प्रतिकृया दिनुहोस्