सखुवाप्रसौनी गाउँपालिकामा जन्मने छोरीले ६ लाख पाउने

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तरगत शुरु भएको छोरी शिक्षा विमा शिविरमा विमा गरिने छोरीले अब पठनका लागि ६ लाख पाउने भएका छन्। प्रदेश सरकारको तर्फबाट ३ लाख र गाउँपालिकाको तर्फबाट ३ लाख गरी ६ लाख रुपैयाँ पाउने भएका हुन्।

छोरी शिक्षा विमा शिविर कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले प्रदेश सरकारको तर्फबाट ३ लाख पाएजस्तै गाउँपालिकाको तर्फबाट समेत ३ लाखरुपैया प्रत्येक छोरीलाई उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे। ‘प्रदेश सरकारले विमाको लागि ३ लाख उपलब्ध गराउने छ।’ उनले भने ‘प्रदेश सरकारबाट दिइने रकममा हामीले थप ३ लाख थपेर कुल ६ लाख दिनेछौं।’ 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सबै भन्दा बढी महिलाहरुको जागरुकता र उत्प्रेरणाका लागि महिला मैत्री कार्यक्रम संचालन गरेको बताए। 

उनले छोरी शिक्षा विमा कार्यक्रम, छोरीलाई विद्यालय तथा कलेज पठाउन साईकल वितरण, विद्यालय तथा कलेजमा छात्रा मैत्री शौचालय निर्माणपछि अब सरकारले गरिव तथा जेहेन्दार छात्राहरुलाई पठन पाठनका लागि प्रोत्साहन गर्न ५ सय रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने बताए।

उनले रोजगारीका लागि प्रदेश नम्बर २ मा खुल्ने विज्ञापनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको समेत बताए।

यसैबीच ‘बेटी पढाउ बेटि बचाउ’ अभियान अन्तर्गत शुरु भएको छोरी शिक्षा विमा कार्यक्रममा सखुवाप्रसौनी गाउँपालीकामा २९५ नवजात छोरी बिमित भएको पर्साका संयोजक अमोद यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-03 01:40:55

प्रतिकृया दिनुहोस्