सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भयो : सञ्चारमन्त्री

रासस

काठमाडाैं

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन्।

राष्ट्रिय सभागृहमा चलिरहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी मन्त्री बाँस्कोटाले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी पनि केलाइने भएकाले आलोचना भएको बताए।

‘सरकारको आलोचना केही साथीले गर्नु भएको छ। कम्युनिस्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो। कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्नै पर्ने कारणले आलोचना भएको हो,’ उनले भने, ‘हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहनु भएका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संश्लेषित गर्न आवश्यक रहेको बताए। उनले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्नेमा जोड दिए। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार अहिले देशलाई आधार बिन्दुबाट उठेर क्रमशः परिमाण देखिने बिन्दुमा आउन थालेको जानकारी दिए।   

‘पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ। यसले पार्टीको मूलमर्म, भावना, गति र युगिन चुनौतीलाई कार्यभार पूरा गर्ने छ। पार्टी कसैलाई रहर लागेर बनेको होइन। विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो। त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन्। त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्छ।’ उनले भने।

प्रकाशित मिति: : 2020-02-02 20:23:42

प्रतिकृया दिनुहोस्