बेलायत युरोपेली सङ्घ (इयू)बाट बाहिरिएको छ।
बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो। बेलायत इयूबाट बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन्।
उनले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बीबीसीले जनाएको छ।
सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेका थिए। प्रर्दशन उच्च भएपछि यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए।
इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्ममार्फत यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए।
जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो। सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो। तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो।