कोरोना भाइरसको संकट समाधानका लागि अमेरिकाले चीनसँग सहकार्य गरिरहेकाे छ: ट्रम्प

बिएल संवाददाता

वासिङ्टन डिसी

 कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय बढेपछि आपतकाल घोषणा गरिएको हो।

कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि कोरोना भाइरसको संकट समाधानका लागि अमेरिकाले चीनसँग नजिकबाट काम गरिरहेको बताएका छन्।  ‘हामीले चीन र अरु धेरै मानिससँग र अरु धेरै देशसँग ज्यादै नजिकबाट काम गरिरहेका छौँ,’ उनले भनेका छन्।

साथै यो समस्या बलियो नियन्त्रणमै रहेको र तत्काल अमेरिकामा सानो समस्या बनेको ट्रम्पले जनाए। 

चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान लिइसकेको कोरोना भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको छ।

धेरैजसो सङ्क्रमण चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा देखिए पनि जर्मनी, जापान, भियतनाम र अमेरिकामा मान्छेबाट मान्छेमा सरेर सङ्क्रमण भएका आठ वटा घटना देखिएकोले बढी सचेतना आवश्यक रहेको बताइएको छ।

वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन्।

सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए। ५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो। डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।  
 

प्रकाशित मिति: : 2020-02-01 01:47:21

प्रतिकृया दिनुहोस्