भारतका वामपन्थी नेता कन्हैया कुमार पक्राउ

बिएल संवाददाता

नयाँदिल्ली

भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन्। आफ्ना समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

 कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको बिबिसीले जनाएको छ।  उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दै आएका थिए।

हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ। अब स्वास लिन पनि अनुमति लिनुपर्ला। प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर। हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो। प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन।’

कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआएका छन्। पछिल्लो चुनावमा बिहारबाट पराजय भोगेका उनी एक प्रभावशाली वक्ताको रुपमा चिनिन्छन्।

कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए। उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो। तर भाषणवाजको रुपमा चिनिएका युवा नेता कन्हैयालाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो। 

भारतविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारलाई 'देशद्रोह' को आरोपमा सन् २०१६ मा केही साता जेल हालिएको थियो।

त्यतिखेर दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका (जेएनयु) विद्यार्थी नेता कन्हैया कुमारलाई सन् २००१ मा भारतीय संसदमा हमला गरेकोमा दोषी पाइएका एक कश्मीरी व्यक्ति मोहम्मद अफजल गुरुलाई मृत्युदण्ड दिइएको वार्षिकीमा क्याम्पसमा आयोजित कार्यक्रममा भारत विरोधी नारा लगाएको आरोप लागेको थियो।

प्रकाशित मिति: : 2020-01-31 02:56:17

प्रतिकृया दिनुहोस्