कोरोना भाइरस नियन्त्रणका लागि चीनद्वारा सेना परिचालन

पीएलएले वुहानमा कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगउन आफ्नो हजारौं स्वास्थ्यकर्मीलाई उतारिसकेको छ। 

कोरोना भाइरसको प्रकोपबाट आफ्नो जनतालाई सुरक्षित राख्न चिनियाँ राष्ट्रपति सी चिनफिङले सेनाको सहयोग लिने भएका छन्। 

मध्य चीनको वुहान शहरबाट फैलिएको मानिएको यो भाइरसको संक्रमणलाई रोक्न राष्ट्रपति चिनफिङले सेनालाई बाहिर निकालेका हुन्। चीनमा फैलदो कोरोना भाइरसका कारण अमेरिका र जापानले आफ्नो नागरिकलाई ‘एयरलिफ्ट’ गरेर बाहिर निकालिसकेको छ। 

वुहान शहरबाट फैलिएको यो भाइरस विश्वको केही देशमा पुगेको बताइएको छ। तिब्बतमा पनि कोरोना भाइरसको प्रकोप देखिएको बताइन्छ। 

रहस्यमय मानिएको कोरोना भाइरसका कारण चीनमा हाल १ सय ३३ जनाको निधन भइसकेको छ र यो संख्या बढ्ने देखिन्छ। 

६ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण हाल ६ हजार मानिस प्रभावित भइसकेका छन्। यसमा ६ विदेशी पनि रहेको बताइएको छ। ४ पाकिस्तानी छात्र तथा दुई अस्ट्रेलियाली नागरिक कोरोना भाइरसबाट संक्रमित देखिएका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले व्यक्तिबाट व्यक्तिमा फैलिएको संक्रमणको घटनालाई गम्भीरताका साथ लिएको छ। उसले बुधबार जेनेभास्थित मुख्यालयमा आपतकालिन बैठक बोलाएको थियो। बैठकले आपतकालिन स्थित घोषणा गर्ने विषयमा विचार विमर्श गरेको थियो। 

सेनाले हजारौं मेडिकलकर्मीलाई उद्धारका लागि उतार्‍यो

समाचार एजेन्सी सिन्हवाका अनुसार पिपल्स लिबरेशन आर्मी (पीएलए) का प्रमुख राष्ट्रपति चिनफिङले कोरोना भाइरसविरुद्धको युद्धमा विजय प्राप्त गर्ने उद्देश्यलाई दृढतापूर्वक आफ्नो मस्तिस्कमा राख्न सबैलाई निर्देशन दिएका थिए। चिनफिङले कोरोना भाइरसलाई ‘दानव’ को उपमा दिइसकेका छन्। 

पीएलएले वुहानमा कोरोना भाइरसको संक्रमणबाट मानिसहरूलाई जोगउन आफ्नो हजारौं स्वास्थ्यकर्मीलाई उतारिसकेको छ। 

अमेरिका चीनसँगको प्रत्यक्ष उडान बन्द गर्ने विषयमा विचारविमर्शमा 

जापान एयरलाइन्सको एउटा चार्टर्ड विमान बुधबार २ सय ६ नागरिकलाई बोकेर वुहानबाट टोक्यो फर्किसकेको छ। वासिङटनस्थित अमेरिकाका एक वरिष्ठ अधिकारीले २ सय ४० जनाको विशेषज्ञ टोली बोकेर अमेरिकाको चार्टर्ड विमान वुहान उडेको छ। यो टोलीमा ५० जना राजनीतिज्ञ छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मेरो कुरा सीसँग भयो। मैले उनलाई कोरोना भाइरसलाई रोक्न अमेरिका चीन सरकारसँग मिलेर काम गर्न तयार भएको बताएको छु।’ 

ह्वाइट हाउस हाल चीनमा आफ्नो उडान जारी राख्ने कि नराख्ने विषयमा विचारविमर्शमा छ। अस्ट्रेलियाको सरकारले वुहानबाट आफ्नो नागरिकलाई निकाल्ने सबै उपाय अवलम्बन गरिने बताएको छ। 

विश्वभरि ७० वटा मुद्धा 

अमेरिका, फ्रान्स, जर्मनी, युएई र सिङ्गापुरलगायत विश्वको १७ देशमा कोरोना भाइरसको करिब ७० वटा मुद्धा फेला परेको छ। यसको रोकथामका लागि सबै देशले चीनबाट आउने यात्रुलाई विमानस्थलमै कडा चेकजाँच गर्न थालेका छन्। 

सीफूड मार्केट मात्र जिम्मेवार होइन

कोरोना भाइरस फैलिन वुहानको सीफूड मार्केट जिम्मेवार भएको दावी धेरैको छ। तर, विशेषज्ञले सीफूड मार्केटलाई नै जिम्मेवार ठहर गर्नु उपयुक्त नहुने बताएका छन्। उनीहरूले यस्तो थुप्रै ठाउँ हुने जसले मानिसमा भाइरस प्रवेश गरेको हुन सक्ने आशंका गरेका छन्। यो भाइरसलाई सन् २०१९ मा एनसीओवी नामाकरण गरिएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-30 21:45:56

प्रतिकृया दिनुहोस्