राष्ट्रपतिको 'फिर्ती-सवारी', सवारीमन्त्री भने अमेरिकामै

तस्वीर: ईनेप्लिज

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर नेपाल फर्के पनि उनकी सवारी मन्त्रीका रूपमा आएकी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा भने अमेरिकातिरै घुमघाम गरिरहेको पाइएको छ।

 उनी मेरिल्याण्ड राज्यकै बाल्टिमोरतिर आयोजित स्वागत कार्यक्रममा सहभागी भएका तस्वीरहरू सार्वजनिक भएका छन्।अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतसमेत सहभागी कार्यक्रममा उनलाई मन्त्रीकै रूपमा स्वागत गरिएको समाचार सम्प्रेषण भएको छ।

 म्याग्दीका नेपालीहरू त्यसमा पनि मगरहरूको बाक्लो बसोबास भएको बाल्टिमोरमा मन्त्री थापाको विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो। उनी म्याग्दीकै मगर भएकाले मगर संघले पनि उनको स्वागत गर्यो।

 आफ्नो जिल्लाबासी र आफ्नै समुदायको व्यक्ति मन्त्री भएर अमेरिका आइपुगेको बेला स्वागत गर्ने लोभ हुनु जो कोहीलाई पनि लाग्नु स्वभाविकै हो। त्यसैले म्याग्दीबासी र मगर संघले उनलाई बाल्टिमोरमा आमन्त्रण गरेको हुन सक्छ। तर, निम्तो पाइयो भन्दैमा राष्ट्रपतिको सवारीमन्त्रीका रूपमा आएको व्यक्तिले राष्ट्रपतिलाई छोड्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्न उठेको छ।

 यसबारेमा प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्तासँग सम्पर्क हुन सकेन। मन्त्रालयका एक प्रोटोकल अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भने- राष्ट्रपतिको प्रतिनिधिमण्डलमा सवारीमन्त्रीका रूपमा जानुभएकी मन्त्री थापा प्रोटोकलका हिसाबले पनि राष्ट्रपतिसँगै फर्कनुपर्थ्यो।तर, अहिले नेपालमा सत्तारूढ पार्टीले जे गरे पनि हुने भएको छ। डेकोरम, प्रोटोकल केहीको पनि अर्थ छैन। एकपछि अर्को खराब नजीरहरू बनेका छन्।'

 

मन्त्री थापासँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क स्थापित हुन सकेन । उनलाई बाल्टिमोरमा स्वागत गर्ने उनी निकट एक आयोजकसँग सम्पर्क गर्दा उनले भने- 'यस्तो कुरा नगर्दा नै राम्रो। हाम्रो निम्ता स्वीकारेर आउनुभयो। उहाँ हाम्रो समुदाय र जिल्लाको गौरव हो। उहाँलाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लाग्यो।'

'राष्ट्रपतिको प्रतिनिधिमण्डलमा सवारीमन्त्रीका रूपमा जानुभएकी मन्त्री थापा प्रोटोकलका हिसाबले पनि राष्ट्रपतिसँगै फर्कनुपर्थ्यो।तर, अहिले नेपालमा सत्तारूढ पार्टीले जे गरे पनि हुने भएको छ। डेकोरम, प्रोटोकल केहीको पनि अर्थ छैन। एकपछि अर्को खराब नजीरहरू बनेका छन्।'

 राष्ट्रपतिको सवारीमा सहभागीहरूका लागि कति दिनको दैनिक भत्ता दिने व्यवस्था भनेर सोधिएको प्रश्नमा परराष्ट्र मन्त्रालयको लेखाका एक अधिकारी भन्छन्- मन्त्री थापाको मात्र कुरा भएन, भ्रमण दलका अरू सदस्यहरू कोही राष्ट्रपतिको सवारीभन्दा अगाडि जानु भएको थाहा भएको छ, कति राष्ट्रपति फर्केपछि पनि अमेरिकामै घुमिरहेको सुन्न पाइएको छ। सबैको हिसाब किताव आइसकेको छैन। उहाँहरूले कति दिनको दाबी गर्नुहुन्छ? त्यसपछि मात्र भन्न सकिएला। 

प्रकाशित मिति: : 2019-03-19 09:24:42

प्रतिकृया दिनुहोस्