सचिवालय बैठकमा प्रधानमन्त्रीलाई माधव नेपालको प्रश्न–यतीसँगै पार्टी किन सति जाने ?

केदार दाहाल

काठमाडौँ
फाइल तस्बिर

राष्ट्रको सम्पत्ति सरकारले शृंखलाबद्ध रूपमा यती समूहलाई हस्तान्तरण गर्न थालेपछि सत्तारुढ दल नेकपाभित्रै आवाज उठेको छ । पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि यतीलाई दिएको समाचार प्रकाशित भएपछि पार्टी सचिवालयमा प्रश्न उठेको हो । ‘गोकर्णदेखि पाथीभरासम्मको जग्गा सरकारले एउटै समूहलाई बुझाएको भनेर समाचार आइरहेको छ । यसले पार्टी बदनाम भएको छ, तर सरकारले चिन्ता गरेको छैन,’ मंगलबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरे, ‘देशको सम्पत्ति एउटा घरानालाई जिम्मा लगाउनुपर्ने र तिनकै छोराछोरीलाई राजदूत पनि बनाउनुपर्ने रहस्य के हो ? पार्टी यती समूहको सति जानुपर्ने बाध्यता के छ ?’ स्मरणीय छ, यती समूहका ल्हाक्पा सोनामकी छोरी दावा फुटी शेर्पालाई वर्तमान सरकारले स्पेनको राजदूत बनाएर पठाएको छ । 

नेता नेपालको प्रश्नमा सही थाप्दै अर्का नेता वामदेव गौतमले भने, ‘माधव कमरेडको चिन्ता जायज छ, जनताले विश्वास गरेको पार्टीको लोकप्रियता एउटा व्यापारिक घरानाको स्वार्थका कारण संकटमा परेको छ । यो विषयमा हामीले छलफल गर्नुपर्छ र गल्ती सच्याउनुपर्छ ।’ दुई शीर्षस्थ नेताले आक्रामक रूपमा प्रश्न राखे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली मौन रहे । बुधबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि राष्ट्रिय सम्पत्तिमा यती समूहको दोहनको विषयमा प्रश्न उठाउने केन्द्रीय सदस्यहरूको तयारी छ ।

प्रकाशित मिति: : 2020-01-30 05:59:14

प्रतिकृया दिनुहोस्