माया यति बेला आमाको स्वास्थ्यलाई लिएर केही चिन्तित देखिइन्। उनी भन्दै थिइन, ‘जागिर भए आमाको उपचारका लागि केही सहयोग गर्न सक्थे कि?’
माया सापकोटा, २९। कुनै बेला उनी आफ्नो शारीरिक अवस्था हेरेर घरमा एक्लै रुएर बस्थिन्। पोरसम्म पनि उनले मर्नका लागि अनेक प्रयत्न नगरेकी होइनन्। नवलपरासी (पूर्व) गैडाकोट निवासी मायाले कमर्शमा स्नातक गरेकी छिन्। तर, उनी आँखा राम्रो देख्दिनन्। जन्मजात रतन्धोबाट प्रभावित हुन्।
सानोमा उनलाई आमाले डोर्याएर नजिकैको स्कुल लैजान्थिन्। स्कुलमा साथीहरू सहयोगी थिए। शिक्षकले ‘ब्ल्याक बोर्ड’ मा लेखेको कुरा उनको कपिमा सारिदिन्थे। २०६२ सालमा गैडाकोटको कालिका मावीबाट एसएलसी उत्तिर्ण हुँदा सबैभन्दा बढी खुसी उनकै अविभावक र साथीहरू थिए।
उनले गत वर्ष जनक उच्च मावीबाट कमर्श विषयमा स्नातक गरिन्। यति बेला उनको अविभावक खुसी भएपनि उनी रमाउन सकिरहेकी थिइनन्। कारण थियो, त्यही आँखाको समस्या। उनलाई लागेको थियो, ‘आँखा नदेख्ने कारण जति पढेपनि केही गर्न सकिन्न। जीवन यत्तिकै खेर जाने भयो।’
उनले खेतीका लागि अन्नबाली सपार्न ल्याइएको किटनाशक औषधी खाने प्रयास नगरेकी होइनन्। तर, परिवारको मायाले उनलाई रोक्यो।
उनको परिवार मूलत कृषिमा आधारित छ। बुवा विनोद र आमा सीता सापकोटा खेती गर्छन। सापकोटा दम्पत्तिको दुई छोरापछि मायाको जन्म भएको थियो। उनीभन्दा मुनि भाई पनि छ।
यी तीनै दाजुभाईको सहयोगले उनले पढ्न सिकिन्। जन्मजात रतन्धो भएका कारण उनी दिनमा पटक्कै आँखा देख्दिनन्। राती केही प्रतिशत देख्छिन्, त्यो पनि आँखाकै अगाडि किताब जोड्नु पर्छ।
२८ वर्षको उमेरसम्म उनलाई आँखा नदेख्नेका लागि विशेष स्कुल र रोजगारीका अनेक सम्भावना छन् भन्ने पनि थाहा थिएन। तर, गाउँकै एक आफन्तले काठमाडौंमा आँखा नदेख्नेका लागि थुप्रै अवसर रहेको जानकारी दिएपछि मायाको जीवनमा नयाँ उमंग छायो।
उनी पाँच महिनाअघि काठमाडौं प्रवेश गरिन्। अहिले उनी काठमाडौंको कागत्यानी चोकमा रहेको ‘पहिचान नेपाल’ नामक संस्थामा आश्रय लिएर बसेकी छिन्। यही उनी अनामनगरमा बुनाईको तालिम लिइरहेकी छिन्।
अहिले उनको आत्मविश्वास चुलिएको छ। बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा उनले भनिन्, ‘जति बेला म घर बस्थे, दृष्टीविहिनका लागि कोही छैन जस्तो लाग्थ्यो। मैले कैयौं रात रोएर बिताए। मर्ने बिचार पनि आएको थियो।’
मायाकी आमा सीताको पाँच वर्षअघि देब्रे मृगौलाले काम गर्न छोड्यो। यसले मायालाई थप तनाव दियो। हाल सीता नियमित उपचारका लागि गैडाकोटबाट काठमाडौं धाउने गर्छिन। काठमाडौं आउँदा उनको भेट छोरीसँग पनि हुन्छ। उनी यति बेला छोरीको चुलिएको आत्मविश्वास देखेर दंग छिन्।
मायाको अन्तर्वार्ता लिन गत साता ‘पहिचान नामक’ संस्था पुग्दा सीता पनि सँगै थिइन। उनी मलाई भेटेपछि आफ्नो छोरीको भविष्यलाई लिएर झन् बढी आशावादी देखिइन्। ‘तपाई पनि आँखा देख्नु हुन्न रहेछ। त्यही पनि पत्रकारिता गरिरहनु भएको छ’, उनले भनिन्।
माया यति बेला आमाको स्वास्थ्यलाई लिएर केही चिन्तित देखिइन्। उनी भन्दै थिइन, ‘जागिर भए आमाको उपचारका लागि केही सहयोग गर्न सक्थे कि?’