सुर्खेतमा गोली चल्यो, ८ जना घाइते

वीरेन्द्रनगर सुर्खेतमा टिप्परले किच्दाँ एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ।

मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेको भे १ ख २२४२ नम्बरको टिपरले सोही दिशाबाट पूर्वतर्फ आइरहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए। 

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन्।

घाइतेहरुको उपचार अहिले स्थानीय अस्पतालमा भइरहेको छ।

आन्दोलनकारीले जिल्ला उद्योग बाणिज्य संघको कार्यालय, एरिचोकमा रहेको प्रहरी बिट अन्य ठाउँमा सरकारी धनमालको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आफन्तले टिपर र चालकलाई आफ्नो रोहबरमा नल्याएसम्म लास नबुझ्ने अडान लिएका छन्। प्रहरीले चालक र टिपरलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: : 2020-01-29 05:55:04

प्रतिकृया दिनुहोस्