रुप फेर्दै युद्धकालको चर्चित पिली

रमेश रावल

सुर्खेत

दसवर्षे सशस्त्र द्वन्द्वले धुजाधुजा बनेको पिली गाउँ अहिले विकास निर्माणको गतिमा लम्किरहेको छ। सशस्त्र द्वन्द्वको अन्त्यपछि खाँडाचक्र नगरपालिका ७ को पिलीगाउँ अहिले तग्रिदै गएको छ। सशस्त्र द्वन्द्वपछिको शान्तिकालमा पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा तिब्र गतिमा विकास भइरहेको छ।

माओवादी सशस्त्र  युद्धकालमा द्वन्द्वको ठुलो घाउ बोकेको पिली गाउँ अहिले यहाँका जनप्रतिनीधि तथा स्थानीयहरु मिलेर नमुना बस्तीका रुपमा विकास गर्नमा लागि परेका छन्।

बि.स. २०६२ साउन २३ गते माओवादीले आक्रमणबाट दुवै पक्षले ठुलो संख्यामा मानवीय तथा भौतिक क्षति व्यहोरेको पिली गाउँ अहिले विकास निर्माणका क्षेत्रमा अग्रणी भूमिका खेल्न थालेको छ।

माओवादीले २०५२ सालबाट थालेको सशस्त्र द्वन्द्वका बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको पिली नै हो। बि.स. २०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा एक सय ३ जनाको ज्यान गएको थियो। 

त्यो लडाइँमा माओवादीबाट मारिएका १३ श्रमिक र ६२ जना सेना गरी ७५ जनाको सम्झनामा स्मारक समेत बनाएको छ भने माओवादी लडाकु २८ जना मारिएको बताइए पनि त्यसबारे उल्लेख छैन। 

युद्ध पर्यटकीय क्षेत्र बन्दै
पिली गाउँ कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बीच बाटोमा पर्ने भएकोले पर्यटकहरुले पिलीमा गाडी रोकेर तत्कालिन माओवादी र शाही सेना बीच भएको भिडन्तको भएको स्थानको धेरैले चासो राख्ने भएकाले पीलीलाई युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए।

‘माओवादी युद्धका बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सँधैभर चिनाउन र युद्धको अवशेषहरु देखाउन तथा स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना छ।’ उनले भने, ‘युद्ध पर्यटकीय स्थल र लडाइँ भएका ठाउँमा भग्नाअवशेष र लडाइँमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ। त्यस्तै लडाइँमा प्रयोग भएका हतियार समेत संकलन गर्ने तयारी गरेका छौं।’ 

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर म्युजिक बनाउने लगायतका योजना रहेको पिली युद्ध पर्यटनका अध्यक्ष पुत्रबहादुर मल्लले बताए। ‘कर्णाली राजमार्ग निर्माणको क्रममा ०६२ वैशाखमा राखिएको तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो।’ उनले भने, ‘पिलीमा भएको लडाई भएको लडाई मारिनेको तस्वीर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौं।’

युद्ध पर्यटकीय क्षेत्रको लागि बजेट व्यवस्था 
पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रदेश सरकार र खाँडाचक्र नगरपालिकाले बजेट छुटाएको छ। युद्ध पर्यटकीय क्षेत्रको लागि प्रदेश सरकारले १ करोड ५० लाख र खाँडाचक्र नगरपालिका २० लाख रकम विनियोजन गरेका छन्।

प्रदेश सरकार र खाँडाचक्र नगरपालिकाले पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउनका लागि बजेटको व्यवस्था गरेको काम त्यसको काम छिट्टै हुने आफूले जानकारी पाएको वडा अध्यक्ष मल्लले बताए। ‘प्रदेश सरकारले पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउनका लागि बजेटको व्यवस्था गरेको छ।’ उनले भने, ‘त्यो बजेट छिट्टै कार्यन्वयन आउने मैले जानकारी पाएको छु।’

प्रदेश सरकारले पिलीमा युद्ध संग्रालय, भ्युटावर बनाउने र युद्धमा प्रयोग भएका बंकर संरक्षण लागि बजेटको विनियोजन गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘प्रदेश सरकार र हामीले पनि बजेटको व्यवस्था गरेको छौं।’ उनले भने, ‘युद्ध संग्रालय, भ्युटावर र युद्धमा प्रयोग भएका बंकर बनाउनको संरक्षणमा बजेटको लगानी गरिनेछ।’

घर घरमा खानेपानी धारा
सशस्त्र द्वन्द्वको चरम चपेटामा परेको पिली गाउँमा अहिले घर घरमा खानेपानीको धाराको अवधारण अघि सारिएको छ। अहिले पिलीमा रहेका १ सय ५० वटै घरमा खानेपानीको धारा रहेका छन्।

सशस्त्र द्वन्द्वको समाप्ति पछि स्थानीय जनप्रतिनिधि पाएको र अहिले यहाँको विकासले फड्को मार्न थालेको स्थानीय अनिल कार्कीले बताए। ‘सशस्त्र द्वन्द्वको समाप्तिपछि  स्थानीय जनप्रतिनिधिहरु आएका छन्।’ उनले भने, ‘द्वन्द्वको चपेटामा परेको पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको छ।’

अहिले पिली गाउँमा रहेका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको छ। जसका लागि हुरन्डेक नामको गैर सरकारी संस्थाले सहयोग गरेको वडा अध्यक्ष रजबहादुर मल्लले बताए। ‘केही आर्थिक सहयोग हुरन्डेक संस्थाले गरेको थियो। अरु सबै स्थानीयको पहलमा भएको हो।’ उनले भने, ‘अहिले सबै घरधुरीमा खानेपानीको धारा पाएका छन्।’

सिंचाइका लागि पोखरी बन्दै
गाउँमा सिंचाइको सुविधा नभएका कारणले हिउँदे बाली उत्पादनमा समस्या भएको छ। वडा कार्यालयको पहलमा अहिले गाउँको सिरानमा १६ लाख लिटर अटाउने पोखरी बनाउन गाउँलेहरु कस्सिएर लागेका छन्।

वडा कार्यालयले पोखरी बनाउनका लागि गत आर्थिक वर्षमा २५ लाख र चालू आर्थिक वर्षमा २५ लाख बजेट छुट्याइ पोखरी बनाएर गाउँमा सिंचाइको सुविधा दिन थालिएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए। ‘गाउँमा सिंचाई सुविधा नभएका कारणले खेतहरु बाझैँ छन्।’ उनले भने, ‘त्यो समस्या समधान गर्नका लागि गाउँको सिरानमा १६ लाख लिटर पानी अटाउने सिंचाइ पोखरी बनाउँदै छौं।’

घरमा घरमा गोबर ग्याँस
गाउँमा खाना पकाउने दाउराको समस्या भएका कारण स्थानीयले अहिले घर घरमा गोबर ग्याँसको प्रयोग गर्न थालेका छन्। नजिकै वन जंगल नभएका कारण खाना पकाउने दाउराको समस्या हुन थालेपछि गोबर ग्याँसमार्फत खाना पकाउन थालिएको छ। 

नजिकै वन जंगल नभएको र भएको जंगल पनि मासिदैँ जान थालेपछि अहिले सबै घरधुरीमा गोबर ग्याँसको चुलो जडान गर्न गैससको सहयोगमा काम थालिएको वडा अध्यक्ष रजबहादुर मल्ले बताए। ‘अहिले हामीले प्रत्येक घरमा गोबर ग्याँस अनिवार्य बनाउने भनेका छौं।’ उनले भने, ‘हाल अधिंकासको घरमा गोबर ग्याँसबाट खाना पकाउने भइरहेको छ।’

खुख्खा डाडाँमा रुख रोपिदैँ
खुख्खा डाडा बढी देखिने पिलीको माथिल्लो भागमा वृक्षारोपण गरेर वडालाई हराभरा बनाउने योजना वडापालिकाले लिएको छ। गाउँमा भएका रुखहरु कटान हुदैँ गएको र नयाँ बिरुवा उम्रन समस्या हुन थालेका कारणले नयाँ वृक्षारोपण गरिएको छ। 

गत आर्थिक वर्षमा सुख्खा डाडामा २५ हजार सल्ला र टिमुरका बिरुवा रोपिएको थियो भने यो आर्थिक वर्षमा थप बिरुवा रोप्ने तयारी भएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए। ‘गत आर्थिक वर्षमा २५ हजार सल्ला र टिमुरका बिरुवा रोपेको थियौं।’ उनले भने, ‘रोपिएका अधिंकास बिरुवा बाँचेका छन्। चालु आर्थिक वर्षमा पनि थप बिरुवा रोप्ने योजना बनाएका छौं।’

विभेदमुक्त वडा घोषणा
सामाजिक तथा सांस्कृतिक रुपमा कुस्कारहरुलाई हटाउने अभियान पनि वडापालिकाले थालेको छ। अहिले गाउँलाई छाउपडी गोठमुक्त घोषणा, पूर्ण सरफाईयुक्त वडा, धुवाँरहित वडा, छुवाछुतमुक्त वडा लगाएतका विभिन्न कुरिती र कुसंस्कार विरुद्ध  विभिन्न अभियान समेत संचालन गरेको छ। 

समाजमा विभिन्न प्रकारका कुसंस्कार र विभेद रहेको छ। त्यसलाई हटाउन वडाबाट विभिन्न प्रकारका पहल थालिएको वडा अध्यक्ष रजबहादुर मल्लले बताए। ‘हामीले विभिन्न विभेदमुक्त वडाका रुपमा विकास गर्न थालेका छौं।’ उनले भने, ‘त्यसका लागि हामीले सबै प्रकार कदम चालेका छौं।’   

प्रकाशित मिति: : 2020-01-28 20:29:20

प्रतिकृया दिनुहोस्