सहर पसेको माग्ने र छाडा छोडिएको कुकुर गाउँ फर्कदैनन्। कारण प्रष्ट छ, उनीहरू सहरमा विभिन्न स्वादका खानेकुरा पाउँछन् जुन गाउँमा पाइँदैनन्। हिजोआज गाउँ छोडेको लाठेको हालत पनि त्यस्तै छ। तर, उनीहरू सहर भासिनुको पछाडि कुकुर र माग्नेको जस्तो 'स्वाद' कारण मात्र हुदैनन्, अरू पनि तपसिलमा थुप्रै कारण हुन्छन्, जसको समाजशास्त्रीय ब्याख्या गर्नुपर्ने हुन्छ।
कुनै पनि सदरमुकाम या राजधानीको चरित्र फरक हुन्छ। सिधा भाषामा भन्दा यिनमा अलि बढी निर्दयी चरित्र हुन्छ- अरूको दु:खमा सम्वेदनशील हुनेभन्दा पनि खिसिट्युरी गर्ने प्रवृतिको ।राजधानीमा गाउँठाउँबाट अति महत्वाकांक्षा भएका वा अति वितृष्णा भएका मानिस आउँछन् र उनीहरू स्थानीयलाई किनारा लगाउँदै बहुमतमा पुग्छन्। उनीहरूको एउटा साझा चरित्र बन्छ- महत्वाकांक्षा र स्वार्थ। त्यसलाई सपनाको जलप लगाइन्छ। त्यही सपना साकार बनाउने अर्थमा उनीहरूको त्यही चरित्र राजधानी वा सदरमुकामको आमचरित्र बन्न पुग्छ।
अति महत्वाकांक्षी मानिस र अति स्वार्थी मानिस लगभग विवेकहीन हुन्छ। अनि ऊ आफ्नो महत्वाकांक्षा र स्वार्थ पूरा गर्न जे पनि गर्न थाल्छ। पूरा भएन भने त उसले क्रमश: मानवीय चरित्र पनि गुमाउँदै जान्छ र कतिपय अवस्थामा त अमानवीय नै बनेका दृष्टान्त पाइन्छन्। सपना पूरा नै भयो भने पनि उसमा एक किसिमको मात चढेको हुन्छ, जुन मातले उसलाई असामान्य हुने यात्रातिर डोहोर्याइरहेको हुन्छ।
कुनै समय अमेरिकालाई केन्द्रविन्दु मानेर संसारकै राजधानीका रूपमा अर्थ्याइन्थ्यो। अहिलेको अमेरिका अलि फरक छ, ट्रम्पको 'अमेरिका फस्ट' को जगजगी छ। यसले अमेरिकाले त्यो आफ्नो खास चरित्र गुमाउने हो कि भन्ने शंसय पैदा गरिदिएको छ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनिए भने २०२५ को जनवरी २०मा ह्वाइट हाउस छोड्दा अर्कै अमेरिका भैसकेको पनि हुन सक्छ। त्यस्तो अवस्थामा अमेरिकासँगै राजधानीको पाराडाइम सिफ्ट पनि हुन सक्ला। कसरी? यसको पनि मानवशास्त्रीय कोणबाट लामै व्याख्या गर्नुपर्ने हुन्छ।
सहर पसेको माग्ने र छाडा छोडिएका कुकुर गाउँ फर्कदैनन्। कारण प्रष्ट छ, उनीहरू सहरमा विभिन्न स्वादका खानेकुरा पाउँछन् जुन गाउँमा पाइँदैनन्। हिजोआज गाउँ छोडेको लाठेको हालत पनि त्यस्तै छ । देश छोडेको मानिसको त के कुरा भयो र ?
अमेरिकामा संसारभरका मानिस आएर यसलाई बहुरंगी, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश बनाइदिएका छन्। अमेरिकालाई रंगीचंगी बनाउने नेपाली पनि एक रंग हो। नेपालमा रहदा विभिन्न जातजाति, भाषाभाषीका आआफ्नै खोली बनाएर अघि बढेका नेपाली अमेरिकामा भने एउटै नदी भएर मिसिएका छन्।
सामान्यत: अमेरिका आउँने नेपालीको आम चरित्र पनि राजधानी पस्ने आम मानिसको चरित्र जस्तै हो। उनीहरू या त नेपालमा केही नै भएन भनेर वितृ्ष्णाका कारण यहाँ आइपुगेका छन् या त अमेरिकामा सबै सपना साकार हुने लोभमा आफ्नो अति महत्वाकांक्षा पूरा गर्न । सामान्य भाषामा भन्ने हो भने यहाँ सामान्य चरित्रका हैन, असामान्य चरित्रका मानिस आइपुगेका छन् । केही अपवाद हुन सक्ला, मूलप्रवृतिमा खासै फरक पाइदैन, कसैले अस्वीकार गर्नु नेपालीको नानीदेखि लागेको बानी नै हो।
असामान्यको कुरा गर्दा, अमेरिकामा के कस्ता नेपाली, कसरी आइपुग्छन् भन्ने पृष्ठभूमिका बारेमा जान्न जरूरी छ। सामान्यत: नेपाली पाँच किसिमले अमेरिका आइपुग्छन्।
पहिलो, विद्यार्थी जो अपवादलाई छोडेर धनी परिवारमा जन्मेका हुन्छन्। त्यही पारिवारिक पृष्ठभूमी नै उनीहरूको भाग्य हुन्छ ।
दोस्रोथरि, डाइभर्सिटी भिसाका आएका छन्। उनीहरूलाई आफ्नो भाग्यमा यति ठुलो विश्वास हुन्छ कि मलाई त डिभी पो परेको त भन्दै आफ्नो खप्पर ढुंगामै ठोके पनि चोट लाग्दैन भन्ने खालको भ्रममा हुन्छन्।
तेस्रोथरि, लाखौं तिरेर कष्टप्रद यात्रा तय गरेका आएका हुन्छन्। उनीहरूलाई लागेको हुन्छ, मैले त्यति धेरै कष्टप्रद यात्रा तय गरेर आएको छु, मेरा सारा दशाग्रह सकिए, सुखै सुखका दिन आउँछन् अब।
चौथोथरि, अमेरिकी सरकारले सेमेिनार, गोष्ठी, सभा, सम्मेलन, छात्रवृति, भ्रमणका लागि पत्याएका नेपालमै एक तहको प्रतिष्ठा कमाएका मानिस हुन्छन्। उनीहरू यहाँ आएपछि या त शरण माग्छन् या कुनै न कुनै किसिमको कागज बनाउने हैसियत राख्छन्। यसै पनि यी मानिसहरू केही त विशेष हुन नै, नभएको पनि विशेष ठान्छन्।
पाँचौथरि, पारिवारिक सम्बन्धका कारण आएका हुन्छन्। कोही विवाह गरेर आएका छन्, कोही छोरीका कारण त कोही छोराका कारण । उनीहरू त्यस्तो साइनो हुनु नै भाग्य ठान्छन् र अरूलाई सितिमिति गन्दा पनि गन्दैनन्।
यी बाहेक अरू पनि एक दुईथरि होलान् तर मूल थरि यिनै हुन्।
यी सबै जे जसरी आउँछन्, अपवाद, स्वास्थ्य अवस्था, उमेर र नातेदारबाट उचित मान-सम्मान नपाएको अवस्थामा बाहेक अमेरिका नै बस्न चाहन्छन्।र, त्यसका लागि आफ्नो जन्मभूमिलाई तथानाम गाली गर्न पनि तयार हुन्छन्, डिभी परेकी भान्जीको कागजी श्रीमानसमेत हुन तयार तयार भएका दृष्टान्त पाइन्छन्। यसले अमेरिकाको नेपाली डायस्पोरा मानवीय कोणबाट कति तल छ भन्ने छर्लङ्ग ऐेना देखाउँछ।
पछिल्लो समय, अमेरिकाको मूलधारको नेपाली डायस्पोरामा देखिएका कृयाकलाप हामी यहाँ कसरी आयौं, त्यही ्पृष्ठभूमिको उपज हो। सामाजिक सञ्जाल त्यो क्रियाकलापको प्रदर्शन हुने 'पव्लिक डोमेन' हो। यसलाई गिजोल्ने काममा जानेर नजानेर हामी सबै सहभागी छौं र त्यसमा पनि सञ्चारकर्मी र सामाजिक अभियन्ता भन्नेहरूको अहम् भूमिका छ। तर, पानीमाथिको ओभानो भनेझैं हामी कोही पनि त्यो सत्य स्वीकार्न तयार छैनौं ।
यही पृ्ष्ठभूमीमा नेपालका भाग्यमानी, टाठाबाठा, पैसावालहरू अमेरिका आएका छन्। अपवादका रूपमा अमेरिकालाई खाँचो परेका केही प्रोफेसनल (प्राध्यापक, चिकित्सक, इन्जिनियर) पनि थोरै संख्यामा छन्, उनीहरूको समय आफ्नो प्राज्ञिक/व्यावसायिक उन्नयनका लागि वा अर्को पुस्ताको शिक्षादीक्षामा केन्द्रीत छ, उनीहरू अमेरिकाको मूलधारको नेपाली डायस्पोरासँग खासै वास्ता पनि राख्दैनन्। तर, नेपालमा हुँदा अखिल वा नेविसंघको राजनीति गरेका व्यक्ति चाँहि राजनीतिको नशाले फेरि मूलधारमै फर्केका दृष्टान्त पाइन्छन्।
यसको पछाडि मासिफिकेसनले जन्माएको आइडेन्डी क्राइसिस पनि छ। मासिफिकेसन र आइडेन्डी क्राइसिसको सम्बन्ध समाजशास्त्रसँग छ। यसको पनि लामै व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ। समयक्रममा त्यसमाथि पनि चर्चा गरौला नै।
अहिलेका लागि चाँहि, यति भनौं- पछिल्लो समय, अमेरिकाको मूलधारको नेपाली डायस्पोरामा देखिएका संघ-संस्था, तिनीहरूका नेता, सामाजिक अभियन्ता, सञ्चारकर्मी, पत्रकारलगायतका सबै तह र तप्काका मानिसका कृयाकलाप माथि उल्लेखित पृष्ठभूमिका उपज हुन्। सामाजिक सञ्जाल त्यो क्रियाकलापको सजिलो प्रदर्शनीस्थल बनेको छ।यसलाई गिजोल्ने काममा जानेर/नजानेर हामी सबै सहभागी छौं र त्यसमा पनि सञ्चारकर्मी र सामाजिक अभियन्ता भन्नेहरूको अहम् भूमिका छ। तर, पानीमाथिको ओभानो भनेझैं हामी कोही पनि त्यो सत्य स्वीकार्न तयार छैनौं।
मूल समस्या यसैमा छ। अमेरिकाको एनआरएन त यस्तो फोहोरको डंगुर भैसकेको छ कि जता छोए पनि निस्कने चाँहि दुर्गन्ध नै हो। भलेभाती यो सबैलाई थाहा छ तर यति थाहा हुँदाहुँदै पनि यसलाई सच्याउने नाममा हामी चलाइरहन्छौं र परपरसम्मको वातावरण पनि दुर्गन्धित बनाइरहेकै छौं।
यो पंक्तिकार पनि प्रिय मित्र शैलेस श्रेष्ठको आग्रहलाई टार्न नसकेर यसपाली एनआरएन अमेरिको चौवन्नी सदस्य बन्यो। तर, जीवनमा केही पछुतो भयो भने यसको सदस्य लिएकोमा भयो। त्यसपछि मतदान पनि नगरेर जीवनमा कहिलै यसको सदस्य नबन्ने सार्वजनिक रूपमै घोषणा गर्न पुगियो। यसको सदस्य हुनु मेरो गल्ती थियो, म त्यो दोहोर्याएर स्टेटमेन्ट बनाउन चाहन्न। एनआरएन अमेरिकाको छविका बारेमा संसारलाई भलिभाती जानकारी छ।
पंक्तिकारले माथि नै भनिसकें, हामी अमेरिकामा आएका नेपालीहरू अमेरिकी हुनलाई पहिला जन्मभूमिलाई जे भन्न पनि तयार भयौै, त्यति गरेर अमेरिकी भएपछि फेरि नेपाली हुनलाई तथानाम गरिरहेका छौं। जन्मभूमिलाई दिन हैन, जन्मभूमिबाट लिनका लागि यस्तो पाखण्ड चिन्तन बोक्ने अति महत्वाकांक्षी वा अति स्वार्थी प्राणी हौं हामी, यस अर्थमा अमेरिाकाले 'एलेन' भनेको पनि ठीकै हो जस्तो लाग्छ। अनि त्यस्तै मान्छेमध्ये पनि अगुवाहरूको छाता संस्था हो, एनआरएन। अब यसबाट सुवास आउँछ भनेर नाकको डाँडी नजिक लैजानेलाई मूर्ख नभनेर के भन्ने ? निश्चित छ, हामी यही भोग्न अभिसप्त छौं, हामी यही डिजर्व गर्छौैं।
यसै पनि सहर पसेको माग्ने र छाडा छोडिएका कुकुर गाउँ फर्कदैनन्। कारण प्रष्ट छ, उनीहरू सहरमा विभिन्न स्वादका खानेकुरा पाउँछन् जुन गाउँमा पाइँदैनन्। हिजोआज गाउँ छोडेको लाठेको हालत पनि त्यस्तै छ। देश छोडेको मानिसको त के कुरा भयो र ?