‘संसद् भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो,’ निर्विरोध सभामुख निर्वाचित साविक माओवादीका नेता अग्निप्रसाद सापकोटाले राजनीतिक जीवनको करिब तीन दशक कार्ल मार्कलाई उधृत् गर्दै उक्त भनाइलाई आदर्श माने।
संसदीय व्यवस्थाको भण्डाफोरको ‘स्कुलिङ’ बाट खुला प्रतिस्पर्धात्मक राजनीतिमा आएका सापकोटाले त्यसबेला माक्र्सवादलाई उधृत् गरिरहे, ‘संसद् भनेको गफ गर्ने अखडा हो। यहाँबाट जनताका समस्या हल हुनसक्दैनन्।’
२०६३ सालको राजनीतिक परिवर्तनसँगै सापकोटाको आदर्श फेरियो। उनी संसदीय व्यवस्था अपनाउने अवस्थामा पुगे। भलै जनताका सीमित आवश्यकता पूर्ति मात्र हुनसक्छन् भन्दै किन नहोस्। उनी जीवनको ६२औँ वसन्तमा प्रवेश गर्दा उनको काँधमा नयाँ जिम्मेवारी आइपरेको छ।
अब उनी त्यस्तो कुर्सीमा पुगेका छन्, जसले माक्र्सको व्याख्यालाई खण्डन गर्नेछ। उनी संघीय संसद्को त्यो सर्वोच्च आसनमा पुगेका छन्, जहाँबाट भन्नुपर्ने छ, ‘संसद्बाटै सबै समस्याको हल हुन्छ। देशका सबै समस्याबारे यसै सदनमा छलफल गराउनुपर्छ।’
प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अग्निप्रसाद सापकोटा संसद्को सर्वोच्च नेता अर्थात् सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। ज्येष्ठ सदस्य महन्थ ठाकुरले उनलाई सभामुखको कुर्सी हस्तान्तरण गर्ने छन्। योसँगै हिजो संसदीय व्यवस्था झूठको खेती गर्ने थलो हो भन्ने उनको मुखबाट प्रतिनिधिसभाको बैठक सुरु हुनेछ, ‘माननीय सदस्यहरू, प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ।’
सदनमा प्रतिपक्षले अवरोध गर्न खोजेमा उनले रुलिङ गर्नेछन्, ‘माननीय सदस्य, सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ। त्यसैले समस्या के हो, यहीँ छलफल गरी टुंगोमो पुगौँ।’ साविक संयुक्त जनमोर्चा, माओवादी केन्द्र हुँदै नेकपाका स्थायी कमिटी सदस्य हरेका सापकोटा अब दल निरपेक्ष हुने छन्। फेरिएको भूमिकासँगै उनको शैली र स्वर पनि फेरिने छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानका कारण सभामुखको जिम्मेवारीपछि सापकोटाका बारेमा विविध टिप्पणी सुरु भएका छन्। उनको विरुद्ध द्वन्द्वकालको घटनासँग जोडेर माइतीघर मण्डलामा केही ‘अधिकारकर्मी’ धर्ना बस्दै छन्। अर्काथरि यसैसँग जोडेर भन्दै छन्, ‘पाँच वर्षभित्र फेरि सभामुखको निर्वाचन गर्ने अवस्था आउन सक्छ। उनलाई सर्वोच्च अदालतले सभामुखबाट वर्खास्त गर्नेछ।’
सापकोटाको राजनीतिक जीवनलाई नजिकबाट हेर्नेहरू चाहिँ अनुमान गर्दै छन्– उनले सभामुखको हिसाबले तटस्थ भूमिका खेल्न सक्ने छैनन्। धेरैले सम्झँदै छन्, कतै रामचन्द्र पौडेल सभामुख हुँदा जस्तै उनले पनि पार्टी संसदीय दलको बैठक पनि नछाड्ने पो हुन् कि !? सधैँ पार्टी संस्थापन पक्षको केन्द्र भागमा बसेका सापकोटाको हिजो माओवादी जनयुद्धको कडा रूपमा वकालत गरेको दृश्य देख्नेहरूलाई उनको स्वतन्त्र र पार्टीभन्दा माथिको भूमिका शायद् अकल्पनीय पनि लाग्न सक्छ।
प्रचण्डको अर्को अनुहार
चार दशकअघि निर्मल लामाले नेतृत्व गरेको तत्कालीन चौथो महाधिवेशनबाट पार्टी राजनीति सुरु गरेका नेता हुन् उनी। संसद्को चुनाव ०४८ सालमा पहिलो चोटी लडे तर भण्डाफोरको नारा लिएर। अरुले विकासनिर्माणको नारा अघि सारेर भोट माग्थे। पेन्सन पाक्न लागेको शिक्षकको जागिर छाडेर उम्मेद्वार भएका उनी भने संसदीय व्यवस्थालाई यहीँभित्र पसेर भत्काउने ‘मिशन’का लागि भोट माग्थे। उनी सम्मानजनक तेस्रो मत ल्याएर चुनाव हारे। त्यसपछि पूर्णकालीन राजनीतिक कार्यकर्ता भए। शिक्षक हुँदा उनी शिक्षक संगठनका नेता थिए।
२०५१ सालमा माओवादीले सशस्त्र आन्दोलन सुरु गर्दा उनी पार्टी केन्द्रीय सदस्य थिए। त्यसबेला उनी निवर्तमान सभामुख कृष्णबहादुर महराभन्दा वरिष्ठ नेता थिए। ०४८ सालमा सांसद् भएका महरा भने ०५३ सालमा मात्र माओवादी केन्द्रीय सदस्य भएका नेता हुन्।
तत्कालीन नेकपा माओवादीले ०५२ साल फागुन १ गतेदेखि सशस्त्र विद्रोह सुरु ग¥यो। सापकोटा भने त्योभन्दा पहिल्यै भूमिगत भइसकेका थिए। सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका, कुभिन्डेमा माघ १८ गते भएको राजनीतिक कार्यक्रममा भएको प्रशासनिक धरपकडमा ६५ जना स्थानीय पक्राउ परेका थिए। उनी त्यसैबेला देखि भूमिगत भइसकेका थिए।
माओवादी ‘जनयुद्ध’ कालमा उनी प्रचण्डनिकट भएर काम गरे। महरा नेतृत्वमा सरकार–माओवादी पहिलोपटक भएको वार्तामा उनी माओवादी वार्ताटोलीमा सदस्य भएर आएका थिए। ०६३ सालपछि उनी दुवै संविधानसभा र ०७४ सालको संसदीय चुनावमा उनी विजयी भए। यसबीचमा उनी एकपटक सञ्चारमन्त्री र एकपटक वनमन्त्री बने। उनी पार्टीको प्रवक्ता भएर पनि काम गरे।
सधैँ पार्टीको संस्थापन पक्षमा रहे– सापकोटा। माओवादी पार्टीमा आएको पटक–पटकको टुटफुटमा उनी संस्थापन पक्षमै रहे। सधैँ प्रचण्डलाई सघाए। राजनीतिक वृत्तमा उनलाई यसरी हेरिन्छ– अग्नि सापकोटा भनेका प्रचण्डका विस्तारित हुन्। उनको आवाज भनेको प्रचण्डको स्वर हो। अर्थात्, सभामुखका रूपमा सापकोटाको सफलता र विफलता भनेको प्रचण्डसँगै जोडेर हेरिने छ। त्यसै कारण पनि सभामुखका रूपमा उनीमाथि राजनीतिक हमला निकै हुनसक्ने अनुमान गर्न सकिन्छ।
सधैँ पार्टी संस्थापनको वकालतकै कारण पनि हुनसक्छ– आलोचकहरू उनलाई रुखो राजनीतिज्ञका रूपमा हेर्छन्। संसद्भित्रका सबै दल र सांसद्लाई समेटेर अविभावकीय नेतृत्व दिनुपर्ने भूमिकामा उनी कति सफल हुने छन् भनी आशंका गर्नेहरू प्रशस्त छन्।
सरल शैली
नेकपा स्थायी कमिटी सदस्य सापकोटालाई नजिकबाट चिन्नेहरू सरल नेता मान्ने गर्छन्। वाल्यकालदेखि हलो–कोदालोसँग खेल्दै हुर्केका उनी ग्रामीण भेगको जनजीवनसँग पर्याप्त परिचित छन्। उनको बाल्यकालमा उनको घाँसकाट्ने क्षमतालाई अहिले पनि आफन्तजन सम्झने गर्छन्।
नेकपा (चौथो महाधिवेशन) बाट शिक्षक राजनीति हुँदै हुर्केका उनी विद्यालयको प्राथमिक शिक्षक हुँदै माविको हेडसरसम्म भए। काठमाडौं आएर पढ्ने आर्थिक हैसियत नभएका कारण जागीर खाँदै प्राइभेट जाँच दिएर स्नातकोत्तरसम्म पढे। उनी निकै मेहनती र तीक्ष्ण मान्छन् त्यसबेलाका सहकर्मीहरू।
पार्टीको शीर्षनेतृत्वमा रहेर पनि उनी सम्बन्ध अत्यन्तै ख्याल गर्छन्। यतिसम्म कि कसैले फोन गर्दा उनले उठाउन भ्याएनन् पटक–पटक ‘कल ब्याक’ गर्छन्। उनी मनदेखि बोल्ने नेता हुन्। त्यसैले उनी सार्वजनिक स्थलमा बोल्दाबोल्दै गला अवरुद्धसम्म हुने गर्छ। नजिकबाट चिन्नेहरू उनलाई अत्यन्त मिलनसार, सरल र खुलेर बोल्ने नेता भन्छन्। द्वन्द्वकालका घटनालाई राजनीतिक नेतृत्वविरुद्ध प्रयोग गर्ने ‘मिशन’ मा पार्टीविरोधीहरूले दानवीकरण गर्ने प्रयास गरिएका एकजना नेता भएको उनका शुभेच्छुकहरूको मत छ।
सिंगै परिवार सशस्त्र द्वन्द्वमा
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा परिवारभित्रबाट क्षति व्यहोर्ने एक जना वरिष्ठ नेता हुन्– अग्नि सापकोटा। उनको परिवारभित्रबाट तीन जना शहीद भएका छन्।
चार दाजुभाइमध्ये साहिँला हुन्– अग्नि। उनका जेठा दाजु टीकाका दुवै छोरा सशस्त्र द्वन्द्वमा मारिए। शहीद भएका रेवती २५ र प्रेम २१ वर्षका थिए। उनका कान्छा भाइ कृष्ण सापकोटा अहिले नेकपा केन्द्रीय सदस्य छन्। सिन्धुपाल्चोक पार्टी इञ्चार्ज रहेका उनकी छोरी सुभद्रा पनि सशस्त्र द्वन्द्वमा शहीद भएकी थिइन्। उनी पार्टीको कलाकार फाँटमा काम गर्थिन्।
अग्नि सापकोटाका ज्येष्ठ पुत्र दीपकले भने, ‘अरुलाई पार्टीमा लगाउनुभन्दा अघि आफ्नो परिवारलाई लगाउनुपर्छ भन्नुहुन्थ्यो। त्यसैेले हामी सबै पार्टीमा लाग्यौँ। ०५८ सालपछि त आमा पनि भूमिगत हुनुभयो। म ०५७ सालदेखि भूमिगत भएर ‘जनादेश’ मा काम गर्न थालेँ।’
द्वन्द्वपछि सम्हालिएको परिवार
तीन भाइ छोराका पिता अग्नि सापकोटाका तीन जना छोरा छन्। ०६३ सालपछि सबैले बीचमा टुटेको शिक्षालाई जोड्न सफल भए। अहिले तीनै सन्तान उच्चशिक्षा आर्जन गरी स्थापित भएका छन्।
जेठा छोरा दीपकले अंग्रेजीमा एमए गरेका छन्। उनी सञ्चारकर्मी हुन्। माइला रूपकले विद्यावारिधि गरेका छन्– चीनबाट। उनी परराष्ट्र मामिला अध्ययन केन्द्रका निर्देशक छन्। कान्छा छोरा अनुशील सरकारी सेवामा छन्। उनी लोकसेवा पास गरेर कानून अधिकृत भएका छन्। अहिले छोराबुहारी गरी पाँच जनाले काम गर्छन्, उनको परिवारमा।
अग्निका माइला दाजुका छोरा सुवोध सापकोटा पार्टी केन्द्रीय सदस्य छन्। प्रचण्डको सचिवालयको प्रेस संयोजक काम गर्ने विष्णु सापकोटा ‘जुगल’ सुबोधका सहोदर दाजु हुन्। समकालीन माओवादी नेताहरू रामबहादुर थापाका भाइ ठगीमा पक्राउ परेको समाचार आउँछ। छोरो ‘डन’ भएर हप्ता उठाएको आरोप लाग्छ। उपराष्ट्रपति नन्दबहादुर पुनका सुपुत्रमाथि समेत यस्तै आरोप लाग्छ। समकालीन अन्य माओवादी नेताका परिवार पनि अशिक्षाले दिशाहीन छन् तर सापकोटाको परिवार भने शिक्षित र परिश्रमी देखिन्छ।
लामा हत्या अभियोग: प्रमाण छैन
अग्निप्रसाद सापकोटामाथि काभ्रे जिल्ला छत्रेबाँधका अर्जुन लामाको हत्या गरेको अभियोग लगाइएको छ। २०६२ बैशाख १६ गते स्कुल व्यवस्थापन समितिको निर्वाचन भइरहेको ठाउँबाट माओवादीले अपहरण गरी लगेका उनको दुई महिनापछि साविक बुढाखानीमा गाडेको अवस्थामा शव फेला परेको थियो। यो घटना हुँदा सापकोटा माओवादीको तामसालिङ राज्य समिति इञ्चार्ज थिए।
लामाकी पत्नी पूर्णीमायाले दर्ता ०६९ साल मंसिर ७ गते सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दामा पति हत्यामा सापकोटा पनि संलग्न भएको आभियोग लगाइएको छ। उक्त मुद्दाको सुुनुवाई गर्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्की र न्यायाधीश ओमप्रकाश मिश्रले अन्तिम सुनुवाइ गर्ने फैसला गरे।
अर्जुन लामा हत्याबारे राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरी कारवाही र क्षतिपूर्तिका लागि सरकारलाई सिफारिश गरिसकेको छ। उक्त अनुसन्धान प्रतिवेदनमा पूर्व सहायकमन्त्री भइसकेका माओवादी केन्द्रीय सदस्य सूर्यमान दोङलाई दोषी किटान गरिएको छ। ‘सापकोटाबारे केही प्रमाण फेला परेन, त्यसैले प्रतिवेदनमा उहाँलाई आरोपित गर्न नसकिएको हो’, त्यसबेला अनुसन्धानमा खटिएका आयोगका एक अधिकृत जानकारी दिए। उक्त अनुसन्धान प्रतिवेदन आयोगसँग सुरक्षित रहेको पनि उनले बताए।
सभामुखका रूपमा सापकोटासामु यतिबेला चुनौतीका पहाड खडा छ। एकातर्फ द्वन्द्वकालीन मुद्दाको विषय उठाएर उनीमाथि दबाब बढेको छ। सर्वोच्च अदालतमा मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले ०७२ सालमा हालेको मुद्दा छ। नयाँ मुद्दाहरू पनि परेका छन्। त्योसँगै कठोर पार्टी राजनीतिमा बिताउँदाको चार दशकलामो शैली र व्यवहार बदलेर सबै दलको नेता बन्नसक्नु पनि अर्को चुनौतीपूर्ण काम हो।