आँखाको दृष्टि छ, सबथोक छ। हात खुट्टा सग्ला छन् र त सबै ठाउँमा पुग्न र घुम्न सकिन्छ।
२० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने भन्दै सरकारले ‘भ्रमण वर्ष सन् २०२०’ को निकै प्रचारप्रसार गरिरहेको छ । तर, पर्यटकको नेपाल बसाइ सुविधाजनक र स्मरणीय बनाउनेतर्फ भने खासै काम भएको छैन।
अहिले काठमाडौंसहित देशका धेरै सडकमार्गको दुर्गति छ। यस्तो सडकमा यात्रा गर्दा विदेशी पर्यटकलाई मस्ती होला कि सास्ती? अनि उनीहरूले नेपालको बारेमा कस्तो सन्देश लैजालान्? यो पक्ष भने सरकारले नजरअन्दाज गरेको छ। फेरि सपाङ्गका लागि त यस्तो सास्ती खेप्नुपर्छ भने म जस्ता दृष्टिविहिन र अपाङ्गता भएकाहरूका लागि सरकारले केही सोचेको छैन।
करोडौं रकम खर्चिएर संसारभर पर्यटन वर्ष २०२० को प्रचार प्रचार गरिए पनि अपाङ्गता भएका पर्यटकका लागि के कस्तो पूर्वाधार बनेका छन् त?, यसको जवाफ कसैसँग छैन।
सरकारले अपाङ्गता भएकामैत्री पूर्वधार बनाउने विषय बेला बेलामा उठे पनि यस्तो महाउत्सवमा भने विदेशी अपाङ्गता भएका पाहुना लक्षित कुनै पूर्वाधार बनेको देखिदैन। देशका केही प्रमुख सहरमा दृष्टिविहिन हिँड्न टेकटेलको व्यवस्था भएपनि बिजुलीको खम्बाले बार लगाइरहेको हुन्छ।
यस्तै शारीरिक रूपले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने ह्विलचेयर गुडाउने बाटोसमेत नहुँदा भ्रमण वर्षमासम्भवतः अपाङ्गता भएका पर्यटकहरू शून्य त हुँदैन भन्ने आशंका गर्ने ठाउँ प्रसस्त छ।
सरकारले भ्रमण वर्षलाई लिएर होटलको व्यवस्थापन र सुधारमा चासो देखाए पनि सडक पूर्वाधारमा भने आँखा चिम्लेको छ। पर्यटकको लागि होटल राम्रा भएर मात्रै पुग्दैन, हवाई र सडक यातायात पनि सुविधाजनक हुनु उत्तिकै महत्वपूर्ण छ। पूर्वाधारहरूको यस्तै हविगत र धूलोमैलोमा सुधार नआउने हो भने आएका पर्यटक पनि बिच्किनेछन्।
समथर ठाउँमा अपाङ्गता भएका पर्यटक जानसक्ने भए पनि अधिकांश पर्यटकीय स्थानहरूमा जान नसक्ने बुटवलका दृष्टिविहिन टिकाराम पौडेलले बताए। लुम्बिनी जस्तो समथर स्थानमा भएको पर्यटकीय स्थानमा समेत ह्विलचेयर गुड्ने बाटो नहुँदा शारीरिक अपाङ्गता भएकाहरू लुम्बिनी मन्दिर वरपरको दृश्य हेरेर फर्कने शारीरिक रूपमा अपाङ्गता भएका रहेका पवन घिमिरेले बताए।
नेत्रहिन संघसहित विभिन्न अपाङ्गता भएकाता सम्बन्धि संघसंस्थामा काम गरिरहेका घिमिरेले सरकारको महत्वकाक्षी पर्यटन वर्षलाई समावेशी बनाएर विदेशी अपाङ्गता भएका र असक्त पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए। उनले यसका लागि आवश्य प्रारम्भिक भौतिक पूर्वाधार पुरा गरे विदेशी अपाङ्गता भएका पर्यटक पनि नेपाल भ्रमणमा आउने दाबी गरे।
नेपालमा पर्यटक सङ्ख्या बढाउन वा तोकिएको लक्ष्य पूरा गर्न विभिन्न पूर्वाधार विकासका लागि सरकारी निकाय र निजीक्षेत्रले प्रशस्त लगानी गर्नुपर्ने हुन्छ। पर्यटकका लागि स्तरीय होटल लज, सडक यातायात, आन्तरिक विमानस्थलदेखि लिएर गाउँ–घरका गोरेटो घोडेटो बाटो निर्माण र मर्मत लगायत अधिकांश पूर्वाधार अलपत्र अवस्थामा छन्।
अपाङ्गता भएका पर्यटकको कुरा छोडौं सपाङ्ग पर्यटकका लागिसमेत सरकारले आवश्यक न्यूनतम् पूर्वाधार नबनाएको यता राष्ट्रिय अपाङ्गता भएका मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष बाबु कृष्ण महर्जनले बताए।
राष्ट्रिय अपाङ्ग माहासङ्घका अध्यक्ष मित्रलाल शर्मालेपर्यटकको रूपमा अपाङ्गता भएकाहरू पनि नेपाल आउन सक्छन् भन्ने कुरा सरकारलाई विश्वास नरहेको भन्दै त्यहीँ अनुसारको तयारी गरेको बताए।
पर्यटकीय स्थल त परै जावस हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलसँगै अधिकांश आन्तरिक विमानस्थल अपाङ्गता भएका मैत्री नभएको गुनासो गरे। उनले देशले गर्ने महत्वपूर्ण र ठूला ठूला कार्यक्रमहरूमा आफूहरूलाई सहभागि नगराएर फरक व्यवहार गरेको आरोप लगाएका छन्।
‘सरकारले हामीलाई अर्कै लोकबाट आएका फरक प्राणी जस्तै व्यवहार गरिरहेको छ,’ शर्माले भने पर्यटन वर्ष सबैका लागि त्यति उत्तिकै महत्वपूर्ण हो। चाहे मानिस अपाङ्गता भएका नै किन नहोस्।’
यसअघि पनि सन् १९९८ र २०११ मा पर्यटन वर्ष मनाइएको थियो। सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा १२ लाख पर्यटक नेपाल आएका थिए। विशेष अभियान सञ्चालन गर्न सके सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने सरकारी अनुमान छ। तर, पर्यटन प्रवद्र्धनकालागि सरकारले आवश्यक व्यवस्थापन कमजोर देखिन्छ।
पर्यकीय सम्पदाको प्रचुरता भएको नेपालले भने २० लाख पर्यटक भित्र्याउन पनि यति ठूलो कसरत गर्नु परेको छ। अझै पनि शंका छ, आउलान् र २० लाख पर्यटकरु यसको कारण हो, देशका पर्यटकीय पूर्वाधारहरुको अभाव र गन्तव्यहरुको उचित प्रचारप्रसार हुन नसक्नु।
भ्रमण वर्ष मनाउने क्रममा पनि सरकारको ध्यान पूर्वाधार निर्माण र सुधारभन्दा बाहिरी तडकभडकै केन्द्रित देखिएको छ। करोडौं खर्चेर भड्किलो उद्घाटन कार्यक्रम गरिएको छ।
यसरी उद्घाटनमा गरिने खर्च बरु विदेशी अतिथिहरुलाई पर्यटकीयस्थल घुमाउनमा सदुपयोग गरेको भए हुन्थ्यो भन्ने तर्कहरु सामाजिक सञ्जालमा आइरहेका छन्। जे होस, सरकारको अभियानमा आम नागरिकको साथ त छँदैछ। यसमा अपाङ्गता भएका पर्यटकका बारेमा पनि केही सोच्ने कि!