जिउँदै मान्छे जलाउने आततायी प्रथालाई पुन: जीवित बनाउन नेताहरुको एकता बुझिनसक्नु छ।
दृश्य:
उपसभामुख शिवमाया तुम्बाहाम्फेको भौतिक शरीर आत्मिक आत्मविश्वास, मानसिक अठोट,दृढता, अडान र आँटले आभामय देखिएको छ। उनको अनुहारमा क्लेश, द्वैस र दुविधा छैन, देखिन्न पनि। तर उनलाई जिउँदै चितामा राख्ने तयारी भइरहेको छ। उनको अभौतिक देहको खरानी उठाउन कमरेड केपी ओली र प्रचण्डले गरेको व्यवहार हेर्न लायक छ। यी लगायत अन्य थुप्रै नेता कार्यकर्ता शिवमायाको मलामी जान र उनलाई जिउँदै अग्निमा होम्न लालायित छन्।
त्यो कारुणिक सतीप्रथाको घीनलाग्दो स्वरूप देखिदैछ। जिउँदै मान्छे जलाउने आततायी प्रथालाई पुन: जीवित बनाउन नेताहरुको एकता बुझिनसक्नु छ। राजा मानदेवको पालाभन्दा धेरै अघि सुरु भएको सतिप्रथाको कुरुपता सय वर्षअघिकै रुप, अवस्था र अवस्थितिमा नभए पनि आधुनिक स्वरूप र नयाँ शैलीमा अवतरित भएको छ।
तत्कालिन महिला हिंसाको चरम रुप अहिले राजनीतिक हिंसाको पराकास्टामा अनुवाद भएको पाइन्छ। क्रुर र निरंकुश भनिएको राणा शाषकभन्दा सयौं गुणा निरङ्कुश व्यवहार गर्ने र नारी अस्तित्व तुच्छ सम्झने नेतृत्व देशमा विद्यमान हुनुको परिणति हो, यो दु:खद दृश्य।
कलियुगकी सतीको दु:खद अन्त्यको काल्पनिक चित्र यहाँ प्रस्तुत छ। शिवमायाको बिम्ब र प्रतीक मात्रै हो, यो सतीको रुप सोही अनुसार बुझ्न यहाँ अब सती मात्रै उल्लेख गरिन्छ। यहाँ शिवमाया तुम्बाहाम्फेको अभौतिक शरीरको अत्याधुनिक सती प्रथाको झलकको नाटकीय करण गरिएको हो।
आर्यघाटमा अवहेलना, अविश्वास, कुण्ठा, बेइमानी र महिला हिंसाको भयानक चिता तयार गरिएको छ। थुप्रै ध्वजा, पताका, सुगन्धित धुप दीप फूलमालाको सजावटले चिता आकर्षक देखिन्छ। त्यहाँ जलाउने मृतक कोही छैन। जिउँदो नारीको अस्मिता र भविष्य भष्म बनाउने पुरुष अहंकारवादको नग्न रुप मात्रै हो।
यता उपसभामुख (सती) लाई आर्यघाट लैजान मलामीको चहलपहल सुरु भएको छ। यहाँ आउने मलामीको विशेषता के हो भने तिनीहरु प्राय: झण्डा हल्लाउँदै, प्रहरी सैनिकको पाले पहरा सहित आउने देशका विशिष्ट र उपल्लो दर्जाका मान्छे हुन्। सर्वसाधारण कम तर देशका भीआइपी बढी र उत्सुकता साथ आएका देखिन्छन्। सामान्य मान्छेमा भय, आतंक र करुणाको दयनीय अवस्था देखिन्छ भने ठूलाबडामा कुनै हिनता, खिन्नता र प्रयाश्चित देखिदैन, सामान्य अवस्थामा नै देखिन्छन्।
फूलै फूलको डोलीमा सजाइएकी सतीलाई लट्याउने सुई लगाएर सुताइएको छ। शंखको एकोहोरो ध्वनि फुक्न प्रचण्ड र केपी ओलीले जिम्मा पाएका छन्। बुर्की र टिलो छर्ने टपरी शेरबहादुरले बोकेका छन्। सतीको शरीरतिर अग्नि सापकोटा लागे। नारायणकाजीले टाउको र पयरतिरबाट उठाएर काँध हाले। बीचबीचमा माधव नेपाल र झलनाथ खनाल लगायत नेताले डोली बोक्न पालो दिएका थिए।
यी सब दृश्य र दुखमा रुने आँशु झार्ने एक पात्र थिए विजय सुब्बा, जो सतीका एकै कोखका प्रिय दाजु र असल राजनीतिक अभिभावक हुन्। अरु महिला कमरेड पनि बेला बेलामा हात लगाएर डोलीको पछिपछि कुद्दै थिए। घाट पुग्नुअघि वरपिपलको चौतारी थियो। त्यहाँ मृतकको शव बिसाएर वरपिपल घुमाउने चलन शवयात्रीले गर्छन्, त्यस्तै गरियो त्यहाँ पनि। तर यहाँ सती जीवित भएको कारण उनलाई चितामा राख्नुअघि नांगै पारेर लाने चलन अनुसार उनको गरगहना खोलियो। शरीर नांगै बनाएर तोरीको तेल दलियो। तर त्यहाँ सती होइन लाछी, बेइमान र हुतिहारा नेता नांगै देखिन्थे। नेताको इमान र नैतिकता वस्त्रविहिन थियो। इज्जत, इमान र मर्यादा नामको एकसरो कपडा पनि नेताको शरीरमा थिएन।
देशको कानुन नियम र विधानलाई च्यातचुत पारेर सतीको शरीरमा दलिएको छ। अब अन्त्येस्टी गर्न उनको डोली उठाएर घाटमा पुर्याइयो। परापूर्व कालभन्दा आधुनिक समयमा सती हुनुको एउटा फाइदा के छ भने अहिले बेहोस पारिने सुई लगाउने सुविधा छ। सती जानेको मनस्थिति र दशाको भयानक अवस्था हेर्नु पर्दैन। चिच्याहट र कारुणिक क्रन्दन सुन्नु पर्दैन। मात्रै मलामीको गुनासा, वेदना र रोदन देखिन्छ। सतीयात्रा शवयात्रा जस्तै लाग्छ। जब सतीलाई चितामा राख्न अग्नीज्वाला दन्काइयो, त्यति नै बेला सतीलाई ढुंगाले हानेर लडाउनु पर्ने प्राचिन संस्कार अनुसार ओली र प्रचण्डलाई ढुंगा हान्ने विधि गर्न लगाइयो।
अरु पनि थुप्रै मलामीले ढुंगा हाने। संयोग ओली र प्रचण्डले ढुंगा हान्ने बेला उनी अर्धहोसमा विछिप्त भएर ऐया, आथ्था भन्दै कराएको सुस्क कारुणिक आवाज सुनियो। आगो दन्कदै थियो। उनी उठेर कराउँदा, चिच्याउँदा त्यो करुणामय आवाज नसुनियोस् भन्नका खातिर ठूलठूला साउण्ड सिस्टमबाट आवाज निकालिएको थियो। जसको कारण आगोको राप र तापबाट सतीको चित्कार, क्रन्दन सुनिएन तर सतीको एक आवाज धेरैले अनौठो भाकामा सुनेको चर्चा गरे।
उनले ऐया सँगसँगै ढुंगा लाग्दा जुन आवाज निकालिन, त्यो आवाज श्रापको थियो। कता कता करुण ध्वनिमा निस्केको आवाजमा भनिएको थियो, ‘तेरो पनि खरानी उडोस।’ राजनीतिक कार्यकर्ता भन्दा बाहेक सारा महिला केटाकेटी बूढाबूढी जवान सबै सबैको मुहारमा मलिनता थियो। डर भय र आतंक व्याप्त देखिन्थ्यो।
तर अरु राजनीतिमा लागेका महिला, पुरुषकाे नियति नै यस्तै हो। भाग्यमा यस्तै लेखिएको थियो। प्रारब्धको खेल नै यस्तो थियो। जसलाई स्वीकार गर्नु र सहनुको विकल्प छैन भन्दै गफिएको सुनिन्थ्यो। नारी भएर जन्मनुको नियति यस्तै हुन्छ। सबै दोष त्यही भावीको भनियो। छैटीमा भाग्य कोर्ने भावीको हातलाई धिक्कारियो। एउटा घिन लाग्दो अमानवीय प्रथा सँगसँगै समानताको एउटा ज्योति निभ्याे। मानवता स्वतन्त्रता र मर्यादाको ढुकढुकी रोकियो। देशको नियम कानुन र विधान, समावेशिता, महिला शसक्तिकरणले हावा खायो।
दुर्भाग्य भनौ कि सौभाग्य। सतीको छातीमा हाम्रा नेताको जन्म कुण्डली अर्थात चिना पनि खुसुक्क राखिदिने कोही पात्र थियो। त्यो पनि हेर्दा हेर्दै खरानी भएर उडेको कसैले चाल पाएन। धुँवाको मुस्लो सँगसँगै एउटा आस्थाको पहाड धमिलियो। विश्वासको परम्परा टुट्यो। भविष्यको पर्खाल भत्कियो। सती खरानी बनिन्। तर उनको विश्वास, नैतिक मुल्य, आँट, धैर्यता र मान्यता सगरमाथा जत्तिकै अग्लिएको देखिन्थ्यो।
(माथि नाम उल्लेख गरिएका पात्र प्रतिनिधि मात्रै हुन। यो नेपाली राजनीति, राजनीतिक पार्टी र तिनीहरुको समग्र प्रवृतिको स्वरूप हो। यसलाई व्यक्तिगत लान्छना, गाली अपमान र अपहेलना नबुझियोस, प्रवृति माथिको उपहास सम्झनु श्रेयस्कर हुनेछ।)