चन्दननाथ मन्दिरबाट हराएको मूर्ति तीन वर्षपछि बेवारिसे अवस्थामा फेला (भिडियोसहित)

खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट हराएको मूर्ति तीन वर्षपछि फेला परेको छ।  २०७३ मंसिर १२ गते हराएको चन्दननाथ मन्दिरको मुख्य मानिएको दत्तात्रेयको १८ किलोको चाँदीको मूर्ति जुम्ला चन्दननाथ नगरपालिका १ दानसाँगुमा फेला परेको हो। 

चोरी भएको तीन वर्षसम्मपनि नभेटिएको मुल मुर्ति सोमवार दानसाँगुमा भेटिएको डिएसपी लाल बहादुर धामीले पुष्टि गरे। 

उनका अनुसार बिहान साढे नौ बजे तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न गएका थिए। उनीहरुले ठुलो मूर्ति देखेपछि स्थानीय  अगुवा दयादत्त हमाललाई खबर गरे। उनले चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सरोकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरको मूर्ति भएको रहस्य खुलेको हो। 

मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर अनुसन्धान गरेको थियो। लामो समयको अनुसन्धानबाट नभेटिएको मुर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

प्रकाशित मिति: : 2020-01-21 01:34:21

प्रतिकृया दिनुहोस्