हिमपहिरोमा हराएका ९ जनाको उद्धारका लागि गएको टोली बीच बाटोबाटै फर्किए

अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हराएका पर्यटक खोज्न गएको उद्धार टोली निरन्तरको हिमपात र हिमपहिरोका कारण बीच बाटोबाटै फर्किएको छ।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि एबिसीको पदमार्गमा चार जना नेपाली गाईड, पाचँ  जना कोरियन पर्यटक गरी ९ जना सम्पर्क विहिन भएका थिए।

छोम्रोङ पर्यटन व्यवस्थापन समिति र वडा कार्यालयको आग्रहमा स्थानीय १२ जनाको टोली देउरालीमा बसेको थियो। तर, निरन्तर हिउँपहिरो झरेका कारण अहिले उद्धारको काम गर्न नसक्ने भन्दै फिर्ता बोलाइएको अन्नपूर्ण गाउँपालिका–११ नम्बर वडाका अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

‘१२ जना युवाहरूलाई त्यहाँ खटाएका थियौं। तर, मौसम निरन्तर प्रतिकूल भो। हिमपात अझै रोकिएन। हिमपहिरोको डर भएपछि उनीहरूलाई फिर्ता बोलाएको छु,’ उनले भने, ‘टोली फर्कियो। मौसममा केही सुधार भएपछि मात्रै उनीहरूलाई पुनः घटनास्थल पठाउने गुरुङले बताए।

हिमपातका कारण छोम्रोङभन्दा माथि पर्यटकलाई प्रवेश रोक्ने निर्णय शनिबार भएको छ। त्यस क्षेत्रका होटलमा काम गर्ने कामदार र अन्य व्यक्तिलाई पनि होटल बन्द गरेर छोम्रोङ झारिएको छ।

लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए।

उनले प्रहरी टोली छुम्रुङबाट माथि लागिसकेको बताए।

यसैबीच एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2020-01-20 05:37:41

प्रतिकृया दिनुहोस्