गायिका आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएपछि उनलाई पक्राउ गर्न लागिएको हो।

बिहिबार राउतले विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्। तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले राउतले समाजिक संजालमा आफ्नो प्रतिष्ठामाथि आँच आउने कुरा बोलेको भन्दै उजुरी दिएकी थिइन्।

विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए।

उनले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउने बताए।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि राउतलाई भोलि (आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ।

भोलि जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ।

 राउत भने कार्यक्रमका लागि भारतको सिक्किम पुगेकी छिन्। उनी भोलि नै नेपाल फर्कने छिन्।

गल्ति नगरेकाेमा गायिका राउत अडिक

प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतको विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएको के भएको हो भन्नेबारे स्पष्ट पारेकी छन्।

शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको भन्दै आफूले कुनै दम्भ नदेखाएको र नडराएको बताइन्।

राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्,‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ। फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस्।’

‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो। तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन। त्यसको लागि माफी चाहन्छु।’

कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले दावी गरेकी छन्। ‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,’ राउतले फेसबुक लाइभमार्फत भनेकी छन्।

देखेको भरमा मलाई अनावश्यक गाली नगर्न आस्थाले आग्रह पनि गरेकी छन्। उनले भनिन्, ‘२, ४ शब्द गल्ती बोलेँ, त्यसको लागि क्षमा चाहन्छु। दुई हात जोडेर माफी माग्छु।’

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ। कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस्।’
 

प्रकाशित मिति: : 2020-01-19 10:13:07

प्रतिकृया दिनुहोस्