एमसिसी सम्झौता हतियारको ओसारपसार गर्नको निम्ति होइन : अध्यक्ष थापा

सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने

फाइल तस्बिर

राप्रपाका अध्यक्ष कमल थापाले नेपाल सरकारले अमेरिकन सरकारसँग तत्कालीन राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन्। 

राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालले शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले उक्त सम्झौता हतियारको ओसारपसार गर्नको निम्ति नभएको बताए।

 'एमसिसी सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन्' उनले भने। नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको अध्यक्ष थापाको भनाई छ। 

सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उनले भने, 'उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्न सक्छ।'

 सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउदैं उनले भने, 'प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको छ।'

 राष्ट्रमा प्रजातान्त्रिक तथा राष्ट्रवादी सोच र चिन्तन भएका पार्टीहरुसँग राप्रपाको एकीकरण हुन सक्ने उनको भनाई छ। 'आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्छ' उनले भने।

प्रकाशित मिति: : 2020-01-19 05:29:19

प्रतिकृया दिनुहोस्