सन् १५६६ मा पहिलोपटक हस्तलिखित पत्रिकामार्फत खवर पढ्न पाउँदा भेनिसबासी हर्षले कति रमाएका थिए, त्यो भावनाको अभिलेख त्यतिबेलाको अक्षरले राख्न सकेन। त्यो युगान्तकारी घटना नै थियो तत्कालीन समाजमा। विचार र सन्देशको सञ्चारले मानव चेतनालाई फराकिलो पार्दै लग्यो। अन्यत्रको समाचार पढ्ने र अरुको विचार जान्ने तिर्खा झनै जाग्दै गयो र १६०९ मा आइपुग्दा जर्मनीमा पत्रिका छापिन थाल्यो। विचार र समाचारका पाठकहरू निरन्तर विस्तार भए। १९२० तिर रेडियो प्रसारण सुरु भयो। १९२५ मा जोन लेगी वर्डले स्टकी विलमार्फत श्रव्य र दृश्य एकैसाथ प्रसार गरे। श्रव्य दृश्य, ग्रामोफोन, चलचित्र, म्याग्नेटिक टेप, कार्टिज, सिडी, डिभिडी जस्ता सञ्चार माध्यमको यति छिटो विकास र विस्तार हुन थाल्यो कि मानव तिर्खा झनै बढ्दै गयो।
१९९० को दशकबाट वल्र्डवाइड वेबसाइट सुरु भएपछि सूचना उत्पादन, प्रसारण र ग्रहणका विधिमा क्रान्तिकारी छलाङ नै सिर्जना भयो। सञ्चार क्षेत्रलाई अझै ‘लाइभ जर्नल’ बनाउने यात्रा रोकिएन। कलेजका विद्यार्थीको सोसल नेटवर्किङको आवश्यकता पूरा गर्न २००४ मा मार्क जुकरबर्गले विकास गरेका फेसबुक, २००५ मा जावेद कारिम समूहले विकास गरेको युट्युब र माइक्रो ब्लगिङ साइटका रूपमा ज्याक डोर्सी समूहले २००६ मा प्रयोगमा ल्याएको ट्विटरसम्म आइपुग्दा सञ्चार क्षेत्रमा अकल्पनीय उथलपुथल आइसकेको छ।