तीन अभिनेत्रीले सार्वजनिक गरे डिबी खड्काको 'नियत'

राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन भएको हो । प्रज्ञा भवनमा भएको कार्यक्रममा अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले ‘नियत’ विमोचन गरेका हुन् । पुस्तकमा कलाकारिता क्षेत्रमा प्रवेश गर्दा/संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका विषयका कथाहरु समेटिएका छन् ।

पुस्तक विमोचन समारोहमा सहभागि अभिनेत्री रेखा थापाले महिला मात्रै नभएर पछिल्ला समय पुरुष पनि हिंसाको शिकार भएको बताइन् । अहिले एकतातिर बलात्कार र महिला हिसा बन्द गरौ भन्ने अर्को तिर उनीहरुको दृष्टिकोण सधै नकारात्मक हुने बताइन्।

लामो समय रंग पत्रकारिता गरेका खड्काको पुस्तकबारे अभिनेत्री रेखाले भनिन्, 'किताब असाध्यै मनपर्यो। जति पटक किताब पढ्‍यो उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा रुचिपूर्ण कथा लागे।'

अभिनेत्री स्वस्तिमा खड्काले आफूले सुरुवाती चरणमा केही नराम्रा सन्देशहरु सामाजिक सञ्जालमा पाउने गरे पनि पुस्तकमा उल्लेख भएजस्तो हिंसाको शिकार आफू नभएको बताइन्। उनले संघर्षको समयमा भिडियो खेलाएबाफत तिमीले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने सन्देशहरु आउने गरेपछि आफुले त्यस्ता व्यक्तिहरुलाई सामाजिक सञ्जालबाट नै ब्लक गरिदिने गरेको सुनाइन्।

त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएको मा आफू प्रभावित भएको आशय पोखिन्।

पुस्तकका लेखक डिबी खड्काले नेपाली रंग क्षेत्रमा देखिएका कुराहरु नै पुस्तकमा समेटिएको बताए। विमोचनमा पात्रहरुको नाम र तस्वीर किन राख्नुभएन भन्ने प्रश्नमा उनले पीडित पात्रको नाम र तस्वीर सार्वजनिक गर्दा उहाँहरुमाथि थप पीडा हुने भएकाले नसमेटेको बताए। अहिले पनि धेरै कलाकारहरु नेपाली कला क्षेत्रमा सक्रिय रहेको र उनीहरुको तस्वीर नाम छापिएपछि समाजले हेर्ने दृष्टिकोण नै फरक बनाउने उनको भनाई छ ।

खड्का रंग पत्रकारिता क्षेत्रमा करिब एक दशकदेखि सक्रिय छन्।

प्रकाशित मिति: : 2020-01-14 00:34:28

प्रतिकृया दिनुहोस्