पोर्चुगलमा समुद्रको छालमा दाजुलाई बचाउँन जाँदा भाईकाे पनि मृत्यु

गत शुक्रबार माछा मार्ने लाइसेन्स र माछा मार्दा प्रयोग हुने सुरक्षा ज्याकेट किनेर आएको उनीसँगै काम गर्नेले बिएल नेपाली सेवालाई बताए । 

बिएल संवाददाता

लिस्बन (पोर्चुगल)

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका दुई नेपालीलाई समुद्रको छालले बगाउँदा दुबैको ज्यान गएको छ। 

समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’ को ढुँगामा माछा मारिरहेको बेला धादिङ थानेबास गाउँपालिका घर भै हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइबालाई ठूलो छालले बगाएको हो।   

कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु नाै महिनाअघि पोर्चुगलमा अवस्थित आफ्नो सालोको एभरेष्ट रेष्टुरेन्टमा काम गर्न आएका थिए।  

गत शुक्रबार माछा मार्ने लाइसेन्स र माछा मार्दा प्रयोग हुने सुरक्षा ज्याकेट किनेर आएको उनीसँगै काम गर्नेले बिएल नेपाली सेवालाई बताए । 

घटनास्थल पुगेका अवैतनिक महावाणिज्यदूत मकर हमालले दुबैले निषेधित क्षेत्रमा भूलवश गएर माछा मारेको र दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको जानकारी दिए। ‘ दाजुलाई बचाउन खोज्दा भाईलाई पनि छालले बगाएर लगेको आशंका गरिएको छ,’ हमालले बताए। 

दाजुको निधारमा चोट लागेको पाइएको छ। छाल हेरिरहेकामध्ये कसैले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो। दुबैको मृत्य शरीर केही बेरमै फेला पर्यो।  कास्काइसको अस्पतालमा उनीहरुको लास राखिएको छ । लासलाई यतै सद्गद् गर्ने कि नेपाल पठाउने भन्नेबारे आफन्तबीच सल्लाह भइरहेकाे परिवारीक श्राेतले बिएल नेपाली सेवालाई जानकारी दियाे।  

झण्डै एक किलोमिटर वरसम्म छाल आउने यो क्षेत्रलाई पोर्चुगिजले ‘नर्कको मुख’ भन्ने गर्छन् । त्यसैले ठाउँको नाम नै ‘बोका दि इन्फेर्नो’ राखिएको छ। पोर्चुगिज भाषामा बोका भनेको मुख हो भने इन्फेर्नो भनेको नर्क हो। यसअघि पनि गर्मीको बेला माछा मार्न र पौडी खेल्न आउनेलाई छालले लगेका घटना घटेका थिए। 

पुषको ठण्डीमा सोमबार खासै माछा मार्नेहरु देखिएका थिएनन् । 

झट्ट हेर्दा सामान्य लाग्ने पोर्चुगलका समुद्री किनारमा राम्रोसँग जान हुने नहुनेबारे बुझेर मात्रै छेउछाउमा रमाइलो गर्न, हिँड्न, गर्मीको बेला पौडिनु पर्छ। शँकै नभएको ठाउँमा ठूलठूला छाल आएर वर्षेनी धेरे पोर्चुगिजले ज्यान गुमाउँनु परेको छ। 


 

प्रकाशित मिति: : 2020-01-14 04:12:26

प्रतिकृया दिनुहोस्