सरकारले भारतीय गाडी रोकेर तराई–मधेसको पर्यटन प्रवर्धनमा अवरोध सिर्जना गर्‍यो: राज्यमन्त्री मण्डल

प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले केन्द्र सरकारले भारतीय नम्बर प्लेटको गाडी रोकेर तराई–मधेसको पर्यटन प्रवर्धनमा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्। 

तराई–मधेसमा पर्यटन प्रवद्र्धन सम्बन्धित अन्तरक्रिया एवम् भिजिट मधेस २०२० विषयक कार्यक्रममा बिहिबार बोल्दै मन्त्री मण्डलले यस्तो आरोप लगाएका हुन् । 

'प्रदेश सरकार पर्यटन प्रवर्धनका निम्ति लागि परेको बेलामा केन्द्र सरकारले भारतीय गाडीलाई नियन्त्रण गर्न बनाएको सोचले तराई –मधेसमा आउने पर्यटक बढि प्रभावित हुन्छन्।' उनले भने 'भारतसँगै सिमा जोडेकाले यहाँ ४० प्रतिशत पर्यटक भारतीय नै हुने भएकाले सरकारले लगाएको  नियम हटाउनु पर्छ।' 

भिजिट नेपालको सुरुवाति समय सम्झिदैँ राज्यमन्त्री मण्डलले ९० को दशकदेखि लिएर अहिलेसम्म केन्द्र सरकारले चलाएको अभियानमा मधेसलाई कहिल्यै समेट्न नसकेको अरोप लगाए। उनले अहिले तराई–मधेशको पर्यटन प्रवर्धनमा नेपाल सरकारले गर्न नसकेको काम भिजिट मधेशले गरेर देखाएको दावी समेत गरे। 

'यस वर्षको भिजिट नेपालमा समेटिन नसकेका तराईका–मधेशका धार्मिक तथा ऐतिहासीक धरोहरलाई भिजिट मधेसको अभियानले समेट्छ।' उनले भने 'बिदेशमा रहेका पर्यटकहरुबीच डिजिटल तरीकाले उजागर गर्ने छौँ।' तराई–मधेसलाई समेटेर भिजिट नेपाललाई सफल पार्न अहिले प्रदेश र स्थानीय सरकार पनि लागि परेको उनले जानकारी गराए। 

'पर्यटन प्रवर्धनका निम्ति अहिले यस क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुको व्यापक प्रचारप्रसार नभएको अवस्था छ।  सरकारले चलाएको अभियान काठमाडौं र पोखरा लगायतको ठाउँमा केन्द्रित रहेको हुदाँ भिजिट नेपालले तराईका जिल्लाहरुमा पनि ध्यान दिन आवस्यक छ।' उनले भने। 

प्रदेश २ सरकारले कृषि, उद्योग जस्तै पर्यटकलाई पनि समृद्धिको आधार मानेर व्यवसायी र बजारीकरण गर्न आवश्यक रहेको उनले बताए । यसका लागि तीनै तहका सरकार आ–आफ्नो क्षेत्रबाट मिलेर काम गर्नु पर्ने बताए। 

कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताउँदै तराई–मधेसको २२ वटै जिल्लालाई जोड्दै बिगत २ वर्षदेखि डिजिटल प्लाटफर्मबाट पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषताहरुलाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिए।

वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका र ठोरी गाउँपालिकाको सहकार्यमा भएको सो कार्यक्रममा विरगञ्ज महानगरका मेयर विजय सरावगी, पोखरीयाकि उपमेयर सल्मा खातुन, अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ, गायक रविराज साह, होटेल पर्यटन व्यवसायी संघका पर्सा अध्यक्ष हरी पन्त,सचिव तबरेज अहमद लगायत विरगञ्ज उद्योग वाणिज्य संघका वरीष्ठ उपाध्यक्ष सुवोध गुप्ता लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-01-10 06:33:33

प्रतिकृया दिनुहोस्