१२ फरार प्रतिवादीलाई पक्राउ गरेर अदालत बुझाइयो

अदालतले विभिन्न अपराधिक घटनामा अपराधी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई मोरङबाट पक्राउ गरिएको छ।  

इलाका प्रहरी कार्यालय पथरीले बुधबारदेखि शनिबार रातिसम्ममा पक्राउ गर्दै उनीहरुलाई  आइतबार अदालतमा बुझाएको हो। पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी ज्यान, चोरी, लागुऔषध समेतका मुद्दामा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेकाहरुलाई पक्राउ गरिएको बताए।  

पक्राउ पर्नेमा बहुविवाह मुद्दामा फरार रहेका पथरीशनिश्चरे ८ का ४५ वर्षीय चन्द्रबहादुर लुइँटेल, पथरीशनिश्चरे १० का ३५ वर्षीय बालकृष्ण श्रेष्ठ, ३० वर्षीय अर्जुन राई, ३२ वर्षीय नरमाया तामाङ, लागुऔषध मुद्दाका पथरीशनिश्चरे ८ का ६० वर्षीय लालबहादुर राई र पथरीशनिश्चरे ६ का ३५ वर्षीय बज्रमोहन यादव रहेका छन्। त्यस्तै सवारी ज्यान मुद्दाका पथरीशनिश्चरे –६ का ३४ वर्षीय बले मुसहर, ५० वर्षीय गोपाल लुइँटेल, ४४ वर्षीय राजकुमार धिमाल, पथरीशनिश्चरे ८ का ४५ वर्षीय सोभित भुजेल, कानेपोखरी २ का ३५ वर्षीय फणिन्द्रबहादुर लिम्बू र चोरी मुद्धामा फरार पथरीशनिश्चरे ५ की ५५ वर्षीय मीना खड्कालाई पनि पक्राउ गरिएको डीएपपी गिरीले बताए।  

जिल्ला अदालत मोरङले चन्द्रबहादुरलाई २०७५ साल माघ २ गते एक वर्ष कैद र १० हजार जरिवाना, बालकृष्णलाई २०७५ जेठ ३१ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना, अर्जुन र उनकी कान्छी श्रीमती नरमायालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। गत जेठ १४ गते लालबहादुरलाई १० महिना कैद र बज्रमोहनलाई छ महिना कैद तथा दुई हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो।  

अदालतले बलेलाई २०७१ असार ११ गते एक महिना कैद र दुई हजार जरिवाना, गोपाललाई २०६९ भदौ १४ गते दुई हजार जरिवाना, सोभितलाई २०७५ जेठ १५ गते तीन महिना कैद, राजकुमारलाई दुई हजार जरिवाना र फणिन्द्रलाई २०७३ चैत १४ गते १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। चोरी मुद्दामा मीनालाई २०७० साल माघ २० गते अदालतले १५ दिन कैद र ४५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।  

प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भएकालाई कैद भुक्तानका लागि कारागार चलान गरेको छ भने जरिवानाको फैसला सुनाइएकालाई त्यस वापतको रकम तिराएर छाडिदिएको छ।  
 

प्रकाशित मिति: : 2020-01-07 06:04:24

प्रतिकृया दिनुहोस्