मारवाडी समुदायकी बुहारी रूवि चमडियाले घरको भान्साबाटै रूविज् किचेन सञ्चालनमा ल्याएकी छन्।
घरभित्रै रहने महिलाले दिनहुँ गर्ने आफ्नो कामबाट पनि आय आर्जन बढाउनुका साथै समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छन् भन्ने उदेखाउन आफूले रुबिज किचेनको नामले बेकरी सञ्चालनमा ल्याएको चमडीयाले बिएल नेपाली सेवालाई जानकारी गराइन्।
घरको आफ्नो भान्सालाई व्यवसायमा परिणत गरेकी उनले ग्राहकको अर्डर अनुसार घर भित्रबाटै मिठा मिठा कुकिज बिस्कुट, बर्थडे केक, प्रेस्टिस, आईसक्रिम, चकलेट तथा बिभिन्न अन्नबाट बनेका पाउरोटीलगायत थुप्रै बेकरीका परिकार तयार गर्छिन्।
उनले अर्डर अनुसारका परिकारसमेत बनाएर दिने गरेकी छन्। उनले सामाजिक सञ्जालमा आएका अर्डरबाटै बजारको बिस्तार गरेकी छन्।
सम्पन्न परीवारकी बुहारी भएर बिना काम सुखमय जीवन व्यतित गर्नुभन्दा काममा व्यस्त रहे आत्मसम्मान बढ्ने भएकाले चमडियाले बेकरीको व्यवसाय सुरू गरेको बताइन्।
'काम आफ्नो लागि मात्र होईन अरूको लागि पनि गर्नुपर्छ भन्ने सोच बनाएर मैले रुबिज् किचेन सुरू गरेकी हुँ', उनले भनिन्, 'यसबाट आएको आम्दानी समुदायका गरिब तथा विपन्नका लागि विभिन्न संघ संस्थाको मार्फत सहयोगको रूपमा खर्च गर्नेछु।'
रूबिले बनाएको केक तथा कुकिज नेपालीका साथै भारतीयहरूको समेत रोजाईमा परेको छ। वीरगन्जसहित नेपालगन्ज र काठमाडौंलगायत आसपासका ठाउँसम्म उनको केक, कुकिज र ब्रेड चकलेट अर्डर बमोजिम पुग्ने गरेको छ।
उनले बनाएका सामाग्रीहरू भारतको दिल्ली, कलकत्ता, राजस्थानलगायत अन्य थुप्रै ठाउँमासमेत पुगेको उनले जानकारी गराइन्। बाहिर ठाउँमा पुर्याउनका लागि त्यहाँका आफन्तले उनलाई सहयोग गर्दै आएका छन्।
उनले बेकरी तथा फास्टफुडका रेसिपी सिक्न चाहने महिलालाई घरमै बोलाएर सिकाउने गर्छिन्। सिक्नका लागि उनी कहाँ भारतको बिहार तथा रक्सौल सितामढीलगायतका स्थानबाट युवतीहरू आउने गरेको उनले बताईन्।
घरमा जस्तै पोषिलो स्वादिलो र स्वस्थ्यकर तरिकाले खानेकुरा तयारी गरीदिने भएकाले वीरगन्जभन्दा बाहिरका होस्टेलमा बस्ने बालबालिकाका लागि उनी कहाँ बढी कुकिज, बिस्कुट जार केक तथा चकलेटको अर्डर आउने गर्छ।
उनको खानाको परिकार मन पराएर दिल्लीका महिलाले खानाको प्रदर्शनी गर्न समेत बोलाउने गरेको उनले बताइन्।
माईत घर नेपालगन्ज भएकी चमडिया विवाह गरेर २० वर्ष अघि वीरगन्ज आएकी हुन्। तीन सन्तानकी आमासमेत रहेकी रूबि अहिले ४० वर्षकी भईन्।
'बदलिँदो समय अनुसार घरेलु गृहणीलगायत हरेक महिलालाई आफ्नो बारेमा ध्यानदिनु पनि उत्तिकै आवश्यक छ',–उनले भनिन्।
घर परिवारसँगै उनी आफ्नो लागी पनि योगा र कसरत गरेर बचेको समय सदुपयोग गर्छिन्।
१५ वर्ष पहिले श्रीमानसँग टाढिएपछि एक्लोपन भएकी उनी २ बच्चाको जिम्मेवारीको बोझको थप तनावमा परिन्। यसले उनलाई प्रेशनमा पुर्यायो।
सम्पन्न परीवारकी छोरी र बुहारी भएकाले उनलाई पैसाको कुनै कमि थिएन। तर मारवाडी समुदायकि बुहारी भएपछि बाहिर निस्केर व्यापार गर्न समाजमा त्यति सहज थिएन।
यस्तो अवस्थामा उनले आफ्नो एक्लोपनापनलाई कम गर्न तथा फुर्सदको समयलाई सदुपयोग गर्ने सोच बनाइन्। समाजमा आफ्नो एक अलग पहिचान बनाउन आफ्नै घरको भान्सालाई व्यवसायीकरण गर्ने सोच बनाएर उनले रूबिज् किचेनको सुरूवात गरेकी हुन्।
उनले आफ्नो नामको भान्सा घर सञ्चालनमा ल्याएको १४ वर्ष पुग्यो। 'मास्टर सेफ बन्ने विवाह भन्दा पहिले देखि नै मेरो सपना थियो। तर, विवाह पश्चात घर गृहस्थी सम्हाल्दैमा त्यो सम्भव भएन्,' उनले भनिन्, 'श्रीमानसँग टाढा भएपछि अब मैले पनि आफ्नो लागि केहि गर्नुपर्छ भन्ने सोचले आफ्नो सपना साकार भएको हो।'
घर बाहिर निस्कन सम्भव नभएकाले उनले घरमा आउने महिला बिशेष म्यागजिन तथा खाना खजानाको रेसिपिको किताबबाटै उनले खानाहरुको अध्ययन थालिन्। यसरी उनले बेकरीको व्यवसाय आफ्नै भान्साबाट सुरू गरिन्।
यसबाट उनले कम लागतमा राम्रो आम्दानी गर्न थालिन्। उनले स्वाद र समाग्रीको मात्रा अनुसार १ किलो कुकिजको ४ सय ५० देखि १ हजार ५० रूपैयाको दरले बिक्रि गर्छिन्। यस्तै एक पाउण्ड केकको स्वाद र डिजाईन अनुसार ८ सय देखि १४ सय सम्ममा बिक्रि गर्छिन्।
बेकरीलगायत फास्टफुड सिक्न आउने युवतीसँग उनले रेसिपी कोर्सको प्रति व्यक्ति ६ हजार रूपैया लिने गर्छिन् ।
उनले बनाएको केकहरु वीरगंजका बाहिरी होटेलमा बनाईएको भन्दा एकदमै फरक स्वादिलो स्वस्थ्यकर भएकाले उनलाई दिनको ३ देखि ४ वटा केकको अर्डर आईरहेको हुन्छ।
पर्वको समयमा बाहिरी अर्डर बढी आउने भएकाले उनलाई चकलेट बक्स बनाउन भ्याई नभ्याई हुन्छ। उनले वीरगन्जमै पहिलो पटक केट्रिनको काम समेत सुरु गरेकि छिन्।
अर्डर अनुसार बक्समा पेस्ट्रिज बर्गर समोसा दुनट पिज्जालगायतका फास्ट फुड तथा बेकरीका सामाग्री तयार गरेर उनले ४ पटक सम्म पठाई सकेको बताईन्।
उनी बिहान ५ बजे देखि रातको ९ बजेसम्म काममै व्यस्त हुन्छिन्। घरकि एक्लो बुहारी भएपछि सासु ससुरा श्रीमानलगायत अन्य जिम्मेवारी पनि उनकै काँधमा छ।
उनले घरयसी काम सकाएर दिउँसोको समयमा ग्राहकहरुको अर्डर अनुसार सामान तयार गर्ने गर्छिन्। एउटा केकको बेस तयार गर्न उनलाई ४५ मिनेट लाग्ने गर्छ। कुकिज उनले ३० मिनेटमा तयार गर्छिन्।
यता सामान तयार भईरहदा उनी अन्य घरायसी काम गर्ने गर्छिन्। घरभित्रबाटै काम सुरुवात गरेकाले मान्छेको अभावमा उनलाई कहिले काही भ्याई नभ्याई हुन्छ।
यस्तो बेला उनलाई सासु आमाले सक्दो सहयोग गर्ने गर्छिन्।
समयको बिशेष महत्व दिने चमोडिया बेकरीको व्यवसाय सञ्चालन गरेपछि विभिन्न संघ संस्थाहरुमा पनि आवद्ध भएकि छिन्। तर, उनी विशेष ध्यान आफ्नो भान्सा घरबाट सञ्चालनित कामलाई नै दिने गरेकि छिन्।
भान्सामा केक र कुकिजको अर्डर नआएको दिन उनी घर सजावटको लागि गमलालगायत पेन्टिङ गर्ने गर्छिन्।
टिभी हेरेर समय विताउनु, बिना काम कतै जानु भन्दा खाली समयको सदुपयोग भएको उनको बुझाई छ।
रूबिका श्रीमान निखिल चमडिया वीरगन्ज आदर्श नगरका एक सफल लगेज व्यागका व्यापारी हुन्।
उनले आफ्नो कमाईको रूपैया विभिन्न संघ संस्थाकोमार्फत गरिब तथा बिपन्नहरुको सहयोगमा खर्च गर्ने गरेकी छन्।
काममा व्यस्त भएपछि समय अनुसार उनको स्वास्थ्य लगायत घर गृहस्थीमा पनि सुधार आयो। अहिले उनी आफ्नो श्रीमान र ३ सन्तानसहित सासु ससुरासँगै रमाइलो जीवन विताउँदै आएकी छन्।
अहिलेको समयमा सम्पन्न अथवा विपन्न हरेक महिला शिपमुलक काम गरेर आत्मनिर्भर हुनु आजको आवश्यकता रहेको उनको सुझाव छ।