उच्च हिमाली भेगमा हिमपात: कर्णाली चिसाेले प्रभावित 

कर्णालीका सबै जिल्लामा चिसो बढेकाे छ। शुक्रबार बढेकाे चिसोले कर्णाली प्रदेशकाे जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरकाे काममा निस्कन सकेका छैनन्। 

चिसो बढेसँगै  हिमपात सुरु भएको छ। हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको छ।

कर्णालीका अन्य हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाको उच्च भू-मागमा हिमपात सुरु भएको छ। कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा भइरहेकाे छ। 

चिसोले बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। हुम्लाकाे तापक्रम माइनस १३ डिग्री सेल्सियस पुगेकाे छ भने जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। त्यस्तै वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलव १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए।

उनले सुर्खेत रातानाङ्लाकाे मौसमी राडरले शनिबारसम्म लगातार कर्णालीकाे हिमाली क्षेत्रमा हिमपात र पहाडी भेगमा वर्षाको सम्भावना देखाएको बताए। 

चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र हावाकाे तीब्र बेगका कारण कर्णालीमा हवाई उडान समेत प्रभावित भएको छ।

यसैबीच चिसोको कारण जेष्ठ नागरिक, बालबालिका लगाएत अन्य व्यक्तिहरू समेत बिरामी पर्ने सम्भावना रहेकाले सम्यमित रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेकाे छ। 

हिमपातको समयमा बाटो चिप्लो हुने तथा सड्क दुर्घटना हुने सम्भवना रहेकाले अत्यावश्यक काममा बाहेक लामो यात्रामा ननिस्कन जिल्ला विपत व्यवस्थापन समितिले जुम्लाले सचेत गराएको छ।

प्रकाशित मिति: : 2020-01-03 21:53:38

प्रतिकृया दिनुहोस्