भारतलाई युथ–१९ विश्व कप जिताएका मनजोत एक वर्ष प्रतिबन्धमा

मनजोत युथ–१९ विश्व कपको फाइनलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।

एजेन्सी

काठमाडाैं

भारतबाट युथ–१९ को विश्व कप खेलिसकेका मनजोत कालरालाई उमेर ढाटेको आरोपमा एक वर्ष प्रतिबन्ध लगाइएको छ।

उनीविरूद्ध दिल्ली क्रिकेट संघले प्रतिबन्ध लगाउने निर्णय गरेको हो। मनजोत माथि युथ–१६ र युथ–१९ मा उमेर लुकाइएको आरोप लागेको थियो। उनी यस वर्षको रणजी ट्रफीमा सहभागी हुन पाउने छैनन्। मनजोतले सन् २०१८ मा युथ–१९ को फाइनलमा सतक बनाउँदै भारतलाई जित दिलाएका थिए। 

‘उनले एक वर्षसम्म निर्धारित उमेर समूहको प्रतियोगिता खेल्न पाउने छैनन्। अर्को वर्ष खुला तथा क्लबस्तरीय प्रतियोगिता खेल्न पाउने छन्,’ दिल्ली क्रिकेटको स्वतन्त्र छानवीन निकायका संयोजक बद्र दुरेज अहमदले बताए। 

मनजोत युथ–१९ विश्व कपको फाइनलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए। अस्ट्रेलियाविरूद्ध फाइनलमा १ सय १ रन बनाएपछि भारत ८ विकेटले विजयी भएको थियो। उनी फाइनल खेलपछि चर्चामा आएका थिए। 
 

प्रकाशित मिति: : 2020-01-03 06:06:20

प्रतिकृया दिनुहोस्