एक वर्षको अवधिमा मोरङमा १२ जनाको हत्या भएको छ। गत जनवरी देखि डिसेम्वरसम्मको अवधिमा गैर राज्य पक्षबाट ७ महिला, २ पुरुष १ बालिका र २ जना शिशुको हत्या भएको हो।
गत वर्षको यही अवधिमा ११ जनाको हत्या भएको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सोमबार आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समीक्षा गोष्ठि तथा मिडिया साझेदारी बैठकमा सो जानकारी दिइएको हो। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका प्रलेख अधिकृत पुन्य अधिकारीले एक वर्षको अवधिमा मोरङमा १ सय ५६ जना पीडित भएको बताए। उनले गत वर्ष १ सय ७१ जना पीडित भएको बताए।
सन् २०१९ भरिमा बलात्कारका ४५, बलात्कार प्रयासका ४० घटना भएको प्रलेख अधिकृत अधिकारीले बताए। गत वर्ष बलात्कारका ५६ र बलात्कार प्रयासका २७ घटना भएका थिए। एक वर्षको अवधिमा बहु विवाहका १५, घरेलु हिंसाका ८ वटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एक वर्षको अवधिमा विगत वर्ष झै हत्या, बहुविवाह, घरेलु हिंंसाका घटनाहरुले निरन्तरता पाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
पूर्व समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले महिला तथा बालबालिका माथि हुने हिंसाका घटनामा बृद्धि भएको देखिएको बताए। स्थानीय सरकारले महिला तथा बालबालिकाका क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्ने बताए।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मानव अधिकारको वर्ष पुस्तकमा प्रदुषणका सवालहरुलाई समावेश गर्न सुझाव दिए। उनले उपभोक्ता अधिकारलाई पनि समेट्नुपर्ने बताए। वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रमुख डीएसपी वेदप्रसाद गौतमले आफन्तबाटै बलात्कारका बढी घटना हुने गरेको बताए। ८० प्रतिशत बालिका तथा महिलाहरु आफन्तबाटै बलात्कृत हुने गरेको उनको भनाइ छ। गौतमले नागरिकले अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गरेको उल्लेख गरे।
गैरसरकारी संस्था महासंघ नेपालका सचिव उमेश विश्वकर्माले वार्षिक प्रतिवेदनमा जातिय विभेदका घटनाहरु समावेश गर्न सुझाव दिए। उनले मोरङमा जातिय विभेदका आधा दर्जन बढी घटना भएको उल्लेख गरे। महिला मानव अधिकार राष्ट्रिय सञ्जालकी केन्द्रिय सदस्य मञ्जिता उपाध्यायले महिलामाथि हुने हिंसाका घटना बढेको बताइन्। उनले एक वर्षको अवधिमा १ सय ५६ जना पीडित भएका घटना मध्ये महिलाहरु मात्रै १ सय १९ जना पीडित भएको बताइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा, विश्व सेवा समाजकी मुना आचार्य, कोक्यापका प्रकाश परियार, ओरेक विराटनगरका प्रमुख दिपक सुन्चेउरी लगायतले बोलेका थिए। इन्सेक प्रदेश संयोजक सोमराज थापाले वर्ष पुस्तकको परिमार्जन गर्ने तयारी गरिएको बताए। २८ वर्षदेखि प्रकाशन हुँदै आएको वर्ष पुस्तकमा घटना विवरणहरु मात्रै नभएर आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारलाई केन्द्रित गरेर प्रकाशन गर्ने तयारी भइरहेको जानकारी उनले दिए।