धनुषामा मंसिर २७ राति टाइम बम बिस्फोट गराउने व्यक्तिहरू नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता रहेको प्रहरीले निष्कर्ष निकालेको छ।
प्रदेश–२ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बम बिस्फोटमा विप्लव समूहको हात रहेको पुष्टि गरेका हुन्। विप्लव समूहको नाममा आपराधिक समूहले ‘लेनदेन’का टाइम बम बिस्फोट गराएको डिआइजी कार्कीले बताए।
क्षीरेश्वरनाथ नगरपालिकामा भएको उक्त घटनामा घरधनी राजेश साह, उनका १७ वर्षीय छोरा अनन्त र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ।
उनकाअनुसार तराईमा आपराधिक गतिविधि गराएर रकम संकलनमा सक्रिय रहेका आधा दर्जन विप्लव समूहका कार्यकर्ता पक्राउ परिसकेका छन्। केही पक्राउ पर्न बाँकी छन्। पक्राउ पर्नेमा ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामसोभित साह रहेका छन् । पक्राउ परेका व्यक्तिहरू विप्लव समूहका लागि पैसा उठाउने व्यक्ति रहेको खुलेको छ।
घटनाका मुख्य योजनाकारसहितका व्यक्ति फरार रहेको कार्कीले बताए। प्रहरीले पक्राउ व्यक्तिबारे केही समयमा जानकारी दिने बताएको छ।
कसरी भएको थियो विस्फोट?
पीडित परिवार र उनका आफन्तजनले मृतक प्रहरी निरीक्षक दाहालले झोलामा रहेको प्रेसरकुकरलाई हातले चलाउँदा विस्फोट भएको बताए पनि प्रहरीले टाइमबम रहेकाले १२ बजे विस्फोट भएको दाबी गरेको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घरको बरन्डानजिक कपडाको झोलाभित्र शङ्कास्पद वस्तु भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा अनुसन्धान गर्न टोली खटाइएको उल्लेख छ।
'उक्त वस्तु अचानक विस्फोटन हुँदा प्रहरी निरीक्षक दाहालसहित १० जना घाइते भएपछि तत्काल उपचारका लागि लगिएकोमा राजेश साह, आनन्द साह तथा प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा मृत्यु भएको हो।'