राष्ट्रियता पोसाक र नारामा होइन व्यवहारमा हुनुपर्छ

रमेशराज वास्तोला

लिजवन,पोर्चुगल

भारतीय पक्षले सीमा मिचेपछि नेपालका दल एक ठाउँमा उभिए। प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए। सबै दलले भारतीय हस्तक्षेपको एक स्वरमा विरोध गरे। समाचार ठूला ठूला बने। तर, आखीर 'हात्ती आयो, आत्ती आयो फुस्सा!!' भयो। समस्या सल्टेला भनेको झन् बल्झियो।

यता भारतीय हस्तक्षेप विरुद्ध जनता पनि अति जागेका छन्। देश होस् या विदेश भारतीय राजदूतावासमा ज्ञापनपत्र दिनेदेखि धर्ना, नारा, जुलुस् केही बाँकी छैन। तर, विडम्वना 'ताप्के तात्दैन, बिँड तातेर के रोटी पाकोस्' यस्तै भएको छ।

कुटनीतिक तवरले हल हुनु पर्ने कुरा  चर्का नारा जुलुस लगाएर हल गर्न खोज्छौं। मानौं रास्ट्रियताको सवालमा झाडा पखाला लागेको बिरामीलाई सिटामोल खुवाए जस्तै गर्दैछौं।

केही समय अगाडि काठमाडौंमा भारतीय राजदूत अगाडि झन्डा समातेर अनि दौरा सुरुवाल टोपी लगाएर, भारतीय विस्तारवाद -मुर्दावाद! भारतीय हस्तक्षेप -मुर्दावाद! भन्दै नारा लगाएर त्यहाँ राष्ट्रवाद राम्रोसँग प्रस्तुत गरेर घर फर्किँदै गर्दा। तरकारी, फलफूल बजारमा  तरकारी, फलफूल किन्न केही नेपाली मन्डि भित्र पसे। त्यहाँ जुम्लाको स्याउ, चाइनाको स्याउ थियो। जुम्लाको भन्दा चाइनाको स्याउ २/४ रूपियाँ सस्तो थियो। त्यती बेला नेपालको होइन चाइनाको स्याउ किने। अलि पर नुवाकोटको टमाटर, काउली अर्को तिर भारतीय टमाटर काउली। ४ रूपियाँ भारतको सस्तो थियो। भर्खर भारतविरूद्ध नारा लगाउनेले ४ रूपियाँ सस्तो देखे भारतीय तरकारी किने।

चार रूपियाँ महंगो भए पनि स्वादीस्ट नेपाली स्याउ थियो। महंगो भए पनि नेपाली काउली र टमाटर विषादिरहित र ताजा थियो। तर, हामीले सस्तो हेर्‍यौं। यो सोचेनौं २/४ रुपियाँ महंगो भएर के भो त? नेपाली उत्पादन हो। नेपाली किन्नुपर्छ सोचेनौं।

कुखुरामा आत्मनिर्भर थियौं। मासुको भाउ बढाउने प्रपञ्च रचि ३० औं लाख चल्ला नष्ट गरि अभाव देखाएर भारतबाट मासु आयात गर्ने गिरोहको सक्रियता पनि देखियो।

तर, विदेशमा केही फरक देखिन्छ। केही समय पहिला कोपनहेगनमा एक जना डेनीस किम मुल्लर सँग भेट भयो। उनीसँग बजार गएँ। उनले जति नै महंगो भए पनि त्यहीँ उत्पादन भएको सुँगुर र दुधजन्य वस्तु खरिद गरे। अन्तबाट आयातित टमाटार भन्दा डेनमार्ककै ग्रीन हाउसमा उत्पादन भएको टमाटर १/२ क्रोनर महंगो थियो। उनले त्यही किने। मैले 'किन महंगो किनेको? यो भन्दा त्यो सस्तो छ। अनि राम्रो पनि छ नि' भन्दा उनले भने, 'त्यो अन्य विदेशबाट आएको हो। यो हाम्रो उत्पादन हो। हामीले आफ्नो उत्पादन प्रयोग गरे पो हाम्रो पैसा यही रहन्छ त। हामीले नकिनिदिए हाम्रा किसान मर्कामा परिहाल्छन् नि।'

यता पोर्चुगीजहरु पनि प्राय आलु, प्याज, फलफूल किन्दा आफ्नै देशको किन्छन्। स्पेनबाट अति सस्तोमा कृषिजन्य उत्पादन आउँछ। तर, महंगो भए पनि यहाँकाले आफ्नै देशमा उत्पादन भएका वस्तुहरु प्रयोग गर्छन्। उनीहरु गफ र नारामा रास्ट्रियता कहिल्यै देखाउँदैनन्। कसैको विरोध पनि गर्दैनन्। अरूको अस्तित्व स्वीकार गर्छन्। यो समान किन, यो नकिन पनि भन्दैनन्। बस् व्यवहारले देखाउँछन्। तर, हामी नारामा यो प्रतिबन्ध लगाऔं। यो बहिस्कार गरौं भन्छौं। तर, प्रयोग तिनै मालको गरिरहेका हुन्छौं।

राष्ट्रियता झल्काउन रास्ट्रिय पोसाक लगाउँछौं। टोपी दिवस मनाउँदा जिन्स पाइन्छ लगाएरै भए पनि शीरमा ढाका टोपी लगाएको फोटो सामाजिक सञ्जालमा सजाउँछौं। तर, त्यही पोसाकको कपडा अनि सिउने धागो पनि विदेशबाटै आएको बिर्सन्छौं। उस्तै परे सूचीकार पनि विहारतिरबाट आएकाहरु छान्छौं। तर, देशमै उत्पादन हुने अल्ला, सिस्नु, केतुकीबाट बनेका कपडाहरुको प्रयोग र प्रवर्द्धनमा हिचकिचाउँछौं। हाम्रो राष्ट्रियता यसैमा अडेको छ।

एउटा नेपाली गाउँमा राष्ट्र र राष्ट्रियताको कुरा गर्छ। अनि पल्लो छिमेकीकोमा भएको खसी बोका किनीदिउ र गाउँको पैसा गाउँमै रहोस् भन्ने सोच्दैन। बजार जान्छ चाइनाबाट आएको प्राउन, इन्डीयाबाट आएको खसीको मासु अनि माछा लिएर गाउँमा भव्य पार्टी दिन्छ।

गाउँघरमा फलेका टमाटर, गाउँघरमा भएका बन्दा काउली उसको नजरमा राम्रो लाग्दैन। अनि बजार गएर विशाक्त तरकारी चर्को मूल्यमा किन्छ। फेरि उसैले गाउँको विकास भएन भनेर युवा पलायन चर्को बहस चलाउँछ।

गाउँभरिको दुध, दही जस्ता गोरसको उपयोग गर्नुको साटो कोकाकोला, फेन्टा, पेप्सी जस्ता पेय पदार्थ किनेर ल्याउने अनि गाउँको दुध, दही गोरस चाहिँ बिग्रेर जाने भैरहेको छ। जुन दिन दुई गुणा रात चौगुणा बढिरहेका छन्।

गाउँघर, पाखा पखेराका रिठो, अमला, खन्यु, चुत्रो, अमिलो ऐसेलुको महत्व र त्यहाँ पाइने भिटामीनलाई हामी वास्ता गर्दैनौं। तर, विदेशबाट आएको फलफूल खान पाउनु र त्यो फलफूल किनेर कसैलाई कोसेली दिनु प्रतिष्ठा संझिन्छौं।

जलस्रोतमा दोस्रो धनि देश नेपाल जहाँ वर्षेनी करोडौंको पानी आयात गरिन्छ। यतिमात्र होइन जनै, लाखबत्ती, अनी गुन्द्रुक पनि विदेशबाट आयात भएको देख्दा, अनि कोरियाबाट आयातित छ्याङ्ग भाटभटेनीमा किन्न जाँदा, राष्ट्रियता सम्झिन्छौं कि नाई?

यदि राष्ट्रको माया र राष्ट्रको समुन्नत चाहने हो भने पहिला हामीबाट नै सुरु गर्नुपर्छ। चाइनाको जनै होइन, गाउँकै जनैलाई प्रोत्साहन गरौं। चाइनाको लाख बत्ती किनेर बाल्नु भन्दा आफ्नै गाउँघरका दिदिबहिनीले बनाएको बत्ती बालौं।

कोरियाको छ्याङ्ग भाटभटेनीमा होइन सरकारबाट अनुमति लिएर स्वदेशमै छ्याङ्ग बनाउन लगाऔं र आयात कटौती गरौं। भोड्का वुलडगहरू किनेर खानेहरु बरु गाउँकै कोदोको ३ पाने किनेर खाउँ र यसैलाई व्यवस्थित गरौं।

चाइनाबट आएको स्याउ दुई किलो किनेर कोसेली दिनु भन्दा जुम्लाको स्याउ डेढ किलोमा चित्त बुझाउँ। कम्तिमा आफ्नो उत्पादनको उपयोग त हुन्छ। जति पुग्दैन, जो छैन त्यो मात्र विदेशबाट आयात गरौं।

विदेशी कपडाहरुको दौरा, सुरूवाल, कोट लगाएर राष्ट्रियता झल्काउनुले नापिने के नै हो र? जब आफ्नो उत्पादन छैन भने। नेपाली कागजको प्रयोगमा व्यापकता दिनुपर्‍यो। नारा र बोलीमा मात्र सिमित हामी व्यवहारिक हुने कहिले?

प्रकाशित मिति: : 2019-12-29 23:51:41

प्रतिकृया दिनुहोस्