सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा- प्रचण्ड

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण कार्यक्रममा

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा रहेको बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै अध्यक्ष दाहालले उनीहरुलाई जित्नेगरी आफ्नो हतियार धारिलो बनाउन पनि आग्रह गरे।

‘दुर्भाग्यवस सूचना प्रविधि बुर्जुवाहरुकै हातमा छ अहिले पनि र उनीहरुले त्यसलाई नराम्रो ढंगले दुरुपयोग गरिरहेका छन्। हामीले विस्तारै त्यो टेक्नोलोजिलाई जनताको हितमा प्रयोग गर्ने जमर्को गरिरहेका छौं। त्यसकारण यसमा मेहनत गरेर सिपालु बन्नुपर्छ। यसका प्राविधिक एक्पेक्टहरु, यसको प्रिजेन्टेसनका विधिहरु पत्ता लगाएर बुर्जुवाहरुलाई जित्नुपर्छ’, उनले भने, ‘यो जितका लागि तपाईहरुको यो बटालियन कति सक्षम छ । तपाईहरुले दिएका हतियार कति धारिला हुन्छन् । कति तिखो हुन्छन् । विरोधीको हतियारलाई काउण्डटर गर्नका लागि व्यवस्थित स्रोत र साधन कति व्यवस्थित हुन्छन् भन्ने कुरा जित हारको फैसला हुनेवाला छ।’

एक लेख र समाचारकै वरिपरि सबै घुम्न थालेको भन्दै अध्यक्ष दाहालले अग्रमोर्चाको लडाई जित्नका लागि मोर्चाको तयारी र कति राम्रो विधि प्रोग्राम बनाउँदैछौँ भन्ने मुख्य विषय रहेको बताए। बुर्जुवाहरुले श्रमजिविहरुलाई सजिलै गरि नपत्याउने तर गद्दीबाट लगत्याएपछि उनीहरुले शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको उनले बताए।

‘यी दुःख पाएका गरिब, श्रमजिविहरु धेरै धन पनि नभएका, बुद्धि पनि नभएकाहरुले मिलेर हाम्रो लडाई, हाम्रो राज्य उल्ट्याउन, हामीलाई गद्दीबाट गलत्याउलान भन्ने उनीहरुले पत्याउँदैनन्। उनीहरुको इतिहास चरित्रले पत्याउन दिँदैन। तर एकदिन जनताको तागत भारी पर्छ उनीहरु गलत्याइन्छन्’, उनले भने, ‘त्यसको भोलिपल्टबाट उनीहरुले हिसाब गर्न थाल्छन्। के कारणले हामीलाई केही नभएका सर्वहारा टाइपका, श्रमजिवि, गरिब गुरुवाहरुले हाम्रो इतिहास देखिको वैभवलाई उल्ट्याए त भनेर हिसाब गर्न थाल्छन् । उनीहरुसँग पैसाको तागत हुन्छ। उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ यी कुराहरु प्रयोग गरेर फेरी प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन्।’

अध्यक्ष दाहालले पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा चिपचिपे र हल्का हुने खतरा बढ्न सक्ने पनि चेतावनी दिएका छन्। पार्टी एकताका मर्म र भावनाहरु गम्भिरतापूर्वक बुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको दाबी गरे। आधारभूत विचारमा एक रूपता भएका कारण नै पार्टी एकता सम्भव भएको उनले बताए।

प्रकाशित मिति: : 2019-12-29 09:39:24

प्रतिकृया दिनुहोस्