आइतबार, १४ सेप्टेम्बर २०२५

नेपालमा घुम्नलायक केही तालहरू छुटाउनु भयो कि?

News Image
• • •

मुलुकभित्र दर्जनौं ताल छन्। जैविक विविधताले भरिपूर्ण तालहरू पर्यटकीय गन्तव्य बनेका छन्। कति ताल हेर्नका लागि मात्रै हुन् भने कतिपयमा बोटिङ, स्विमिङ र फिसिङ सुविधा पनि पाइन्छ।

फोक्सुन्डो
नेपालको सबैभन्दा गहिरो ताल डोल्पाको फोक्सुन्डो हो जुन ६५० मिटर गहिरो छ। फोक्सुन्डो (३,६१३ मिटर) ४.८ किमि लामो, १.८ किमि चौंडा छ। तालको तीनतिर नांगा पहाड छन् भने एकतिर रिङमो गाउँ।

तालको पानी निकास भएको सुलिगाडमा अग्लो झरना छ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने तालमा पौडी खेल्न पाइन्न, बोटिङ सुविधा पनि छैन।

ताल क्षेत्रमा बोन धर्माबलम्बीको बसोबास छ। जडीबुटी, जनावर र चराको भण्डार हो निकुन्ज। फोक्सुन्डो पदमार्गमा सामान्य खाना र बास पाइन्छ। यात्रामा न्याना कपडा बोक्नु पर्छ। 

कसरी पुग्ने : काठमाडौं–नेपालगञ्ज १ घन्टा हवाईयात्रा । नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाई यात्रा । जुफालबाट दुई दिन पदयात्रामा फोक्शुन्डो ताल । जुफालबाट दुई घन्टा पदयात्रामा डोल्पा सदरमुकाम दुनै बजार ।

तिलिचो

lake tilicho new image buddha air yatra magazine
संसारकै अग्लो ठाउँमा रहेको ताल तिलिचो (४,९१९ मिटर) मनाङ जिल्लामा पर्छ। तिलिचोको लम्बाई ४ किमि, चौंडाई १.२ किमि र गहिराई २ सय मिटर छ। त्यहाँ बोटिङ सुविधा छैन, नुहाउन र पौडी खेल्न पनि पाइँदैन।

ताल क्षेत्रमा तिलिचो, निलगिरिलगायत हिमाल छन्। ताल किनारमा होटल तथा रेष्टुँरा छैन तर तिलिचो वेस क्याम्पमा केही होटल छन्। त्यसैले पहिल्यै बुकिङ गरेर वा उज्यालैमा पुग्दा सजिलो हुन्छ। अन्यथा दुःख पाइन्छ।

यात्रामा न्याना कपडा बोक्नु पर्छ। उचाईमा बिस्तारै हिँड्नु पर्छ। ठाउँ–ठाउँमा आराम गर्दै र पानी खाँदै यात्रा गर्नुपर्छ।

कसरी पुग्ने : काठमाडौंबाट बेशिसहर हुँदै मनाङसम्म माइक्रो र जीपमा दुई दिन। पहिलो दिन बेशिसहरमा बास, दोस्रो दिन मनाङमा। मनाङ गाउँबाट दुई दिन पदयात्रामा तिलिचो ताल।

स्यार्पु

syarpu lake image buddha air inflight magazine.jpgपश्चिमी रुकुमको स्यार्पुताल (१,३१०मिटर)को क्षेत्र २.६ वर्ग किमि छ। हरियो ताल चित्ताकर्षक देखिन्छ। त्यहाँ डुँगा चढ्ने सुविधा छ। माछा चाख्न पाइन्छ। 

तालको पूर्व उत्तरमा भ्यू टावर छ। तालबाट बगेको पानीलाई दही खोला भनिन्छ। पानी दही जमेको जस्तो देखिन्छ। ताल क्षेत्रमा बुढालमस्टा, मथिगरे ब्रम्हा, दारे मस्टा, शिवालय, कालिका र वराह मन्दिर छन्। नजिकै केही झरना पनि छन्। 

ताल किनारमा दुइटा गाउँ छन्–स्यार्पु र दह। गाउँका ७ घरमा होमस्टे गराइन्छ जहाँ सस्तोमा खाना र बास सुविधा पाइन्छ। 

कसरी पुग्ने : काठमाडौं–खलंगा बसमा १६ घन्टा। खलंगा–स्यार्पु २३ किमि जिपमा डेढ घन्टा। खलंगाबाट दिउसो ३.३० बजे बस छुट्छ। स्यार्पुबाट बिहान ७.१५ बजे छुट्छ। जिप खलंगा, रातामाटा, गिलबाङ छिम्खेत, बाँफीकोट हुँदै स्यार्पु पुग्छ। खलंगा–स्र्यापु पदयात्रा समय ५ घन्टा।

रारा 

मुलुकको सबैभन्दा ठूलो ताल मुगुको रारा हो। सानो उपत्यकाको जंगल बीचमा छ ताल (२,९९० मिटर)। रारा १ सय ६७ मिटर गहिरो, ५.१ किमि लामो र २.७ किमि चौंडा छ। किनारको लम्बाइ १४.६ किमि छ जहाँ हिँडेर फन्को मार्न ४ घन्टा लाग्छ। 

तालमा डुँगा चढ्ने सुविधा छ, नुहाउन वा पौडी खेल्न पाइन्न। घोडा चढेर घुम्न सकिन्छ। तालबाट अढाई घन्टा उकालो चढे मुर्माटप पुगिन्छ जहाँबाट तालको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ। 

ताल किनारमा दुइटा होटल छन्। तालभन्दा बाहिर सल्लेरी र माझघट्टमा पनि केही होटल छन्। 

कसरी पुग्ने: काठमाडौंबाट सडक यात्राबाट तेस्रो दिनमा रारा। पहिलो बास नेपालगञ्ज, दोस्रो नाग्मामा र तेस्रो रारामा। नाग्मा–गमगढी सडकबाट सल्लेरीसम्म बसमा। त्यहाँबाट दुई घन्टामा ताल। सुर्खेतसम्म उडेर जाँदा दोस्रो दिनमै ताल पुगिन्छ। अथवा नेपालगन्ज-सुर्खेतबाट ताल्चा हवाई यात्रा ३५ मिनेट। ताल्चाबाट दुई घन्टा हिँडे रारा।

घोडाघोडी

झट्ट हेर्दा घोडाको टाप जस्तो देखिने भएकाले कैलालीको एउटा ताललाई घोडाघोडी भनिन्छ। ताल किनारको मन्दिरमा घोडाघोडीका मूर्ति छन् जहाँ विवाहपञ्चमी, शिवरात्री र माघीमा मेला लाग्छ। त्यहाँ डुँगा चढ्ने सुविधा छ। 

रामसारमा सूचीकृत ताल ७६.९ हेक्टरमा फैलेको छ। त्यहाँ चरा, गोही, अजिंगर, माछा, पुतली र कछुवा पाइन्छ। घोडाघोडी किनारमा भ्युटावर छ। मन्दिर वरपर अरु देवताका मूर्ति पनि छन्। बर्खामा ताल कमल फूलले ढाकिन्छ।

राजमार्गसँग जोडिएको ताल किनारमा सामान्य चिया र खाजा सुविधा छ। त्यहाँ भन्दा ४ किमि टाढा माघि गाउँमा थारु समुदायले होमस्टे चलाएका छन्। घोडाघोडी घुमेर सुख्खड, महेन्द्रनगर, धनगढी वा चिसापानी बास बस्न पनि सकिन्छ।

कसरी पुग्ने : काठमाडौं–धनगढी १ घन्टा १० मिनेट हवाई यात्रा । धनगढी विमानस्थलबाट ५५ किलोमिटर र चिसापानी पुलबाट करिब ३५ किमिमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ घोडाघोडी ताल ।

खापर 

khapar lake

खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खापर दहलाई खप्तड ताल पनि भनिन्छ। जंगल बीचमा मनमोहक ताल। त्यहाँ डुँगा छैन। नुहाउन वा पौडी खेल्न पाइन्न। तालको फन्को मार्न २५ मिनेट लाग्छ। 

निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ। बाजुरा, डोटी, बझाङ र अछामको भूभाग समेटेर सरकारले ०४३ असार ९ गते निकुञ्ज बनाएको हो। त्यसको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म छ। निकुञ्ज मुख्यालयबाट करिब डेढ घन्टामा खापर दह पुगिन्छ। 

खप्तडका बीचपानी र निकुञ्ज मुख्यालयमा सामान्य गेस्ट हाउस छ। त्यसैले यात्रामा निस्किँदा स्लिपिङ ब्याग साथमा बोक्नुपर्छ।  

कसरी पुग्ने : काठमाडौं–धनगढी ६५० किमि, बसमा १४ घन्टा। धनगढी–सिलगढी २०० किमि, बसमा ८ घन्टा। अथवा काठमाडौं–धनगढी १ घन्टा १० मिनेट हवाई यात्रा। डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र दोस्रो बास निकुञ्जको मुख्यालयस्थित गेष्ट हाउसमा।

कमल


ढकमक्क कमल फूल्छ पूर्वी रुकुमको कमल तालमा। पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा छ ताल। उत्तर दक्षिण फैलिएको ताल नेपालको नक्शा आकारमा छ। त्यसको गोलाई डेढ किमि छ। त्यहाँ माछा छैन। डुँगा चढ्ने सुविधा पनि छैन। 

मध्यपहाडी लोकमार्गसँग जोडिएको ताललाई २५ मिनेटमै फन्को मार्न सकिन्छ। तालको कुनामा बराह मन्दिर छ। तालमा जेठदेखि कात्तिकसम्म कमल फुल्छ। तालमा नुहाएमा रोगहरू निको हुने जनविश्वास छ। त्यहाँ शिवरात्री, चैते दसैं, तिज र बडादसैंमा मेला लाग्छ।

ताल क्षेत्रमा बाहुनठाना र टाकुरा दुई गाउँ छन्। किनारमा केही होटल छन्।

कसरी पुग्ने: काठमाडौं–मुसिकोट बसमा १६ घन्टा। मुसिकोटबाट बिहान ६ देखि साँझ ४ बजेसम्म दुई–दुई घन्टामा रुकुमकोटका लागि जिप छुट्छ। काठमाडौंबाट रुकुमकोटका लागि सोझै बस पनि पाइन्छ।

बुलबुले

bulbule taal rukum

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा स्यानो पोखरी छ जहाँ पानी बुलबुल गरिरहन्छ। त्यसैले तालको नाउँ नै बुलबुले राखिएको। तालबाहिर १० वटा धारा छन् जहाँ सर्बसाधारण नुहाउँछन्। 

ताल क्षेत्रमा फूलबारी छ। फूलबारीको छेउमा पछि बनाइएको अर्को ठूलो ताल छ। त्यसलाई पनि बुलबुले नै भनिन्छ। ठूलो तालमा डुँगा चढ्ने सुविधा छ। ताल क्षेत्रमा गायत्रीको मन्दिर छ। 

वीरेन्द्रनगरबासिको गर्मी छल्ने उपयुक्त गन्तव्य बुलबुले उद्यान। वीरेन्द्रनगर बजारमा आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा छन्। 

कसरी पुग्नेः काठमाडौं–सुर्खेत बसमा १२ घन्टा अथवा हवाईयात्रा १ घन्टा।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!