‘भावि समाज तथा भैंसी पालन दुग्ध उत्पादन उद्योग।’ यो नामसँग नभए पनि उद्योगको प्रोपराइटरसँग तपाईँहरु परिचित हुनसक्नुहुन्छ। जसका प्रोपाइटर गुठीचौर गाउँपालिका धिताका विष्णु धिताल हुन्।
उनको भैंसी पालन व्यवसाय र आम्दानीको बारे ‘उद्यमीको कथा श्रृंखला -१,’ बिएल नेपाली सेवामा प्रकाशित भइसकेको छ।
यस पाली मंसिरको अन्तिममा सातामा आएको हिउँले किसानको दैनिकी साह्रै कष्टदायी बनयो। त्यसमा पनि उद्यमीहरुलाई दुई गुणा कष्ट दियो। चिसो बढेर माइनस सात पुगेको छ। यस्तो बेला बिहानको समयमा गाडी गुडाउनु साहसिक कार्य बनेको छ। सदरमुकाममै एक फिट हिउँ जमेपछि जनजीवन प्रभावित बन्यो। यस्तो चिसोमा ‘भावि समाज तथा भैंसी पालन दुग्ध उत्पादन उद्योग’का धिताल कसरी बजारसम्म दुध पुगाउँछन्? उनको व्यवसायको जोखिमहरु के के छन्? यदि हुँदा पनि बढेको उनको उत्साहलाई समेटिएको चिसोमा उनको दिनचर्या प्रस्तुत छ।
यति चिसो जसले हावालाई पनि जमाउँछ होला भनेर सम्झिन्छन्, धेरै मान्छेहरु। ‘तिमीहरु कसरी बाँचेका छौ?’ भनेर पनि प्रश्न गर्छन्। त्यस्तो अवस्थामा धिताल बिहानै जम्बो झोलाभरी दुध बाकेर बाइक कुदाउँछन्। आफ्नो दैनिकीको सुरुवात गर्छन्।
तीन महिना अघिसम्म होण्डा स्पिलिन्डर भट्भट्याउँदै हरेक दिन पुरै बजार राउण्ड हानेर घर फर्किने उनी अब बजाजको डिस्कभरमा हुँइकिन्छन्। जुम्ला बजारका झण्डै बीस ठाउँमा दुध पुगाउँछन्। बिहानभरीमा उनले लगभग चालिस लिटर दुध वितरण गरी सकाउँछन्। (हिउँदमा केही कम र वर्षामा केही बढी।) बिहान घरबाट हिन्दाको गह्रौं झोला घर फर्किदा हलुको बनाएर घर फर्किन्छन्।
कनका सुन्दरीको मर्फान घर भई जुम्ला बहुमखी क्याम्पसको गेटैनेर चिया पसल गरेकी लालकली भण्डारीले उनीबाट दुध लिन थालेको ३ वर्ष भयो। उनी हरेक दिन १० देखि १५ मानासम्म दुध लिन्छिन्। वर्षामा भने बीस मानाजति राख्छिन्। दिनभरीमा सबै दुध बिक्री भइसक्छ। ‘दुध राम्रै छ। उहाँबाट लिन थालेदेखि अर्को खोज्नु परेको छैन।’ उनले चियाको चुस्की लिदै भनिन्।
क्याम्पसको क्यान्टिनमा पटमाराका वीर बहादुर बुढा असाध्यै मिठो दुधचिया बनाउँछन्। पुरै ढाँण थपाला भरीका मान्छेहरु उनकोमा चिया पिउन आउँछन्। सित्तिमित्ति अन्त जाँदैनन्। नजिकै घर भएकी चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल पनि प्राय बिहान उतै भेटिन्छन्। कारण बुढाको मिठो चिया हो। उनले बनाउने चियाको लागि दुध हरेक बिहान पुर्याउन आउँछन्, धिताल। उनले त्यहीँ २० देखि २५ मानासम्म दुध दिने गरेका छन्।
उनको सबै भन्दा धेरै दुध जितु डेरी उद्योगमा जान्छ। जुन जुम्लामा खोलिएको पहिलो डेरी हो। जसले उनीबाट २० लिटरसम्म दुध लिदै आएको डेरी संचालक रिता चौलागाई बताउँछिन्। उनी आजभोली झोलाभरी कोक र फन्टाका साना–ठूला बोतल दुध लिएर बजार पुग्छन्। कति ठाउँमा बोतल रित्याउँछन् त कति ठाउँमा भरी बोतल दिएर त्यसको साटो खाली बोतल झोलामा राख्छन्। घर फर्किदा अन्तिममा जुम्ला एयरपोर्ट नजिकै रहेको कान्जिरोवा होटल प्रा.लिमा एक लिटर दुध छोड्छन् र घरतिर लाग्छन्। उनी पहिला ग्यालेन र प्लास्टिकमा दुध बेच्थे। ग्यालेनमा दुध बेच्नु राम्रो नहुने हुनाले उनले क्यान प्रगोग गरिरहेका थिए। केही दिन यता बाटोभरी जमेको बरफका कारण उनले क्यान प्रयोग गरेका छैनन्। त्यसैले जम्बो झोलामा कोक–फन्टाका बोतल हुन्छन्।
हिउँ आएदेखि धिताल उनको गोठ धिताबाट बजारसम्म दुध पुगाउन कसरी आउँछन् र फिर्ता हुन्छन्? यो उनका लागि निकै कष्टकर छ। उनको गोठदेखि बजारसम्म पुग्न पैदल डेड घण्टा जति लाग्छ। बाटो राम्रो भएको बेला बाइकमा २० मिनेट लाग्छ। अहिले बाटोभरी बरफ जमेकाले आधा घण्टाभन्दा बढी नै लाग्छ।
उनको भैंसी गोठ स्याँलातिर छ। स्याँला भन्नाले शितल हुने, घाम नलाग्ने ठाउँ हो। दानसँगु देखि उनको घरसम्म जाने बाटोभरी हिउँ छ। पहिलो दिनको हिउँ फुस्रो र कमलो हुन्छ र त्यसपछि हिउँ बरफ बन्ने गर्छ। मंसिर, पुसको हिउँलाई शिला भनिन्छ। शिला अर्थात ढुंगा जस्तो हिउँ। जो पग्लिन फागुन कुर्नुपर्छ। त्यसैले हिउँ बरफ बनिसक्छ। बरफमा हिड्नुको सकस वर्णन गरीनसक्नु छ। हरेक दिन बिहान स्टार्ट गर्दा, उनको बाइक बरफ माथि हुन्छ। अनि गुड्दा पनि बरफमाथि नै। बरफमाथिको बाइक खुब चिप्लिन्छ। ‘दिनको कति ठाउँमा बाइक चिप्लिन्छ। कति ठाउँ लोट्छु (लड्छु) पत्तै हुँदैन। काम यही छ। नगरौं भएन,’ उनी निराश हुँदै भन्छन्, ‘चढ्न मिल्ने ठाउँ चढ्छु। अरु ठाउँ धकेल्नु पर्छ।’
उनी कहिलेकाहीँ बाइक बिँगारेमा राख्छन्। त्यहाँबाट उनको गोठ पुग्न हिउँमाथि हिडेरै पग्नुपर्छ। लामाकारको पुल तरेपछि हिउँले ढाकेको उकालो चड्नुपर्छ। दुरी थोरै भएपनि त्यो सगरमाथा चड्नु सरह नै छ। हिउँ बढी भएको र उकालो भएकाले पनि त्यस्तै लाग्छ। उकालोसँग आफ्नो व्यवसायलाई जोड्दै उनी भन्छन्, ‘भैंसी पालन पनि यस्तै उकालोमा हिढ्नु जस्तै हो। हाम्रो यतातिर त धेरैको मनमा पैसा सजिलै आउँछ भन्ने छ। तर पैसा पाउन त मेहनत गर्नुपर्छ भन्ने कुरा बिर्सन्छन्। जुम्लामा सबथोकको उत्पादन सम्भव छ। यत्ति हो मेहनत बढी लाग्छ। रुपियाँका रुख कहाँ होनन र सजिलै खेड्न(टिप्न) मिल्ने?’ यी भनाइले उनको व्यवसाय बारेको बुझाइ परिपक्व छ। मसिनो गरी व्यवसाय सम्हालेका छन्। मेहेनत र फल दुबैलाई राम्रोसँग बुझ्न सकेका छन् भन्ने देखिन्छ।
उकालो सकिए पछि १५ मिनेटमा उनको गोठमा पुगिन्छ। चिसो अत्याधिक हुनाले बिहान गोठका ढोकाहरु सबै बन्द हुन्छन्। जुन ढोका भित्र १२ वटा भैंसी छन्। जसमा ७ वटा दुहुना, ३ वटा व्याउने, चारवटा पाडा र दुईवटा राँगा छन्। दुई वटा व्याउने भैंसी धितालकी श्रीमती जानकीले आफ्नी बैनीलाई पाल्नु र मल गर्नु भनि दिएकी छिन्। ती व्याएपछि गोठमै ल्याउने उनले बताइन्। उनीहरुसँग ठुला भैंसी मात्र १४ वटा छन्।
हरेक वर्ष कालिकोट तिर गएर १५/२० दिन लगाई व्याएका भैंसी ल्याई व्यवसाय धानेका धिताल यसपाली घरकै भैंसी व्याउने भएकोमा खुसी छन्। अब उनको गोठमा दुहुना र व्याउने दुबै खाले भैंसी छन् साथमा राँगो पनि छ। एउटा हालको लागि र अर्का केही वर्ष पछिको लागि। केही वर्षको लागि भनेको सानो राँगो हुर्किदैछ। व्यवसायको लागि आवश्यक सबै बन्दोबस्त गर्न सकिएकोमा उनी खुसी छन्। भन्छन्, ‘कति भएको छैन। कति नपुगेको होला। काम गर्दै गर्दा व्यवस्था पनि हुँदै जाँदो रहेछ। अब त व्यवसायलाई लिएर खासै चिन्ता पनि लाग्दैन।’
धितालको नमुना भैंसी गोठ बनाउनको लागि भेटेरेनरीले सहयोग गर्यो। गोठमा भैंसीलाई घाँस र दाना खुवाउन दुबैतिर डुँठो छ। जसको बीचमा पिसाब कलेक्सन हुने नालि पनि छ। त्यहीँ पाइप जडान गरिएकोले बाहिर पिसाब जम्मा हुने ठाउँ छ। वर्षामा हरेक दिन गोबर सोहोर्ने गरिएको भएपनि आजभोली एक दुई दिन बिराएर सोहोर्ने गरिएको छ। चिसोलाई छल्नको लागि ह सल्लाको पिरल गोठभरी बिच्छाइएको छ। यस्तो काममा जानकी दिलो ज्यान दिएर लागेकी छिन्। उनी पनि आजभोली सबै कुरा जान्ने भैसकेकी छिन्। कहिलेकाहीँ लोग्ने घर नहुँदा सबै आफै समाल्ने गरेकी उनी बजारमा दुध पुगाउन पनि आफै जान्छिन्। हर हिसाब मज्जाले राख्छिन्।
गोठको माथिल्लो तलामा घाँस सुकाउने र जम्मा गर्ने गरिएकको छ। साउन, भदौको महिनामा हरियो घाँस बढी पाइने हुनाले त्यो संकलन गरि राख्छन्। त्यही घाँसलाई मसिनो बनाएर जौं वा मकैसँग पकाएर खुवाउने गरेका छन्। यसरी दाना खुवाउँदा सजिलो हुने उनले बताए।
‘आगामी दिनहरुमा सहयोगी हातहरु भेटिए एउटा व्यवस्थित अफिस बनाउने सोचेको छु। कारोबार व्यवस्थित गर्न सकिने थियो,’ आशातित मुहारमा उनले भने, ‘विभिन्न ठाउँमा प्रपोजल हालेका छु। पर्यो भने खुसी थपिनेछ।’
चैतदेखि कार्तिकसम्म जुम्लाको मौसम तातो हुने हुँदा दुध बिग्रने सम्भावना धेरै हुन्छ। कति पल्ट दुध बिग्रेर उनले घाटा बेहोरेका छन्। हिजोआज डिफ्रिज राखेदेखि यो समस्या टरेको छ। दुध र दही जे राखे पनि ताजा हुने हुँदा सहज भएको छ।
बिहानीको घाम गोठको आगनमा आइपुग्नासाथ दुबैजना मिलेर भैंसी गोठको आगनमा बाँध्छन् र बिहानको दानापानी दिन्छन्।
व्यवसायमा जमेका उनीहरु दुबैको शरीरबाट गोबर र दुधको रिमिक्स फ्लेबर आउँछ। तर पनि उनीहरुलाई फोहोर लाग्दैन। अब त बानी परिसकेको छ। आम्दानीको स्रोत उही भएपछि। पेसाले सन्तुष्टी दिन सकेपछि। गोबर र दुधकखे रिमिक्स फ्लेबर ज्यादै वासनादार लाग्न थालेको छ। उनले त्यसबेला पशुपति शर्माको गीत सम्झिए, ‘मलाई पिजा पनि यही, बर्गर पनि यही।’ नठानुन पनि कसरी? जोसँगको दैनिकीले वार्षिक छ देखि दस लाख सम्म कमाई भैरहेको छ।
सन्तानहरुमा उनकी तीनवटी छोरी छन्। जेठी छोरी मायदेवीले अमिन सकाइन्, माइली सनिताले डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षको पढाई भर्खर सुरु गरेकी छिन्। कान्छि भावना यो वर्ष एसईई दिने छन्। उनीहरु सबैको पढाई खर्च र घर खर्च यसैबाट चलेको छ भने केही बचत पनि भएको छ। यी तीन छोरी र दुई बुढाबुढी सबैको नाम जुराएर न्वारान गरिएको उनको उद्योग हो, ‘भावि समाज’।
उनी प्रायः पुराना दिन सम्झिन्छन्। त्यो २१ वर्ष अगाडिको जिन्दगी, जुन अभाव र तनावले भरीपूर्ण थियो। सबै तिर अँध्यरो देख्थे। तर जतिबेला गरिबी निवारण कोषबाट ऋण सहयोग पाए, त्यतिबेला देखि उनको भैंसी पालन यात्रा आरम्भ भयो। ‘सुरुसुरुमा दुध बेच्न जान पनि लाज लाग्थ्यो,’ भन्छन्, ‘पछि पछि त विस्तारै बानी पर्यो।’ एक पटक प्रमुख जिल्ला अधिकारीले मुख फोरेर उनको प्रसंशा गरे। त्यसपछि मन भरी उत्साहित भरियो, ‘भएको सबै लाज पनि एकाएक कहाँ! गायव भयो भयो।’ अहिले उनलाई लाग्छ व्यवसायिक कल्चर सुरु भएकै रहेनछ।
व्यवसायमा नाफा जरुर हुन्छ, यदि त्यसमा इमान्दारीता र लगनशिलता छ भने। यसै भनाइलाई आत्मसाथ गरेका उनलाई पनि नाफा भएकै छ। त्यो उनको मेहेनतको फल हो। त्यही फललाई प्राप्त गर्न लालाहित उनीमा व्यवसायमा आउने विभिन्न खाले उतारचडाबलाई सहजै सामना गर्ने सामर्थ्य छ।
यसरी कडा परिश्रमका साथ ढटेर व्यवसाय धानेका धिताल जस्ता उद्यमीलाई राज्यले लगानी गर्नुपर्छ। जसले परिवार र सिंगो राज्यको अर्थतन्त्रलाई माथि उकास्छ। तर यहाँ किसानको नाममा गैर किसान र उद्यमीको नाममा गैर उद्यमी तथा बिचौलियाले फाइदा उठाइरहेका छन्। मेहेनत र सीपसँग पनि राजनीति भैहेकेको छ। जसले वास्तविक किसान र उद्यमीलाई मर्का परेको छ। यस्तै हुने हो भने एक दिन विष्णु धितालहरु पनि निराश हुनेछन्। त्यसैले अहिलेदेखि नै वास्तविक किसान र उद्यमी पहिचान गर्न लाग्नुपर्छ।
आफ्नो गोठमा पुग्ने जोकोहिलाई दही र दूधले मिठो स्वागत गर्ने धिताल भन्छन्, ‘यतातिर आउँदा जाँदा बाटैमा गोठ छ, पसेर जानुहोला! दुध, दहि जे छ, खुवाएर पठाउँला हजुर।’