श्रृंखला २
— हेमन्त विवश
जिन्दगीको आधा बाटो कटिसक्यो। उनीभित्र जम्मा भएका सोचाइका पलहरू भने हुन सकेका छैनन् आधी। दिमागमा सलबलाउन छोडेनन् कल्पनाका रेशाहरुले । मौनतामा बसेर कुनै न कुनै पलमा प्रायजसो सोचिरहन्छन्– कस्तो थियो होला बाको अनुहार। भक्कानो उठ्छ उनको मनमा अझै पनि आमाले सुनाएको त्यो कथा सम्झिदा। पुरा पढ्नुहोस्.............
भाग दुई
चालिस वर्षको लाउलाउ र खाउखाउ भन्ने उमेरमा बुवाले धर्ती छोडे। ३५ वर्षको उमेरमा आमाले सिउँदोको सिन्दूर पखालिन्। बिपदमा परेका चल्ला जस्ता निर्धा बने कलिला मनहरु। बुवा बित्नु भनेको घरको धुरी खामो भाँचिनु जस्तै न हो। कुप्रो पर्छ घर सबै लथालिङ्ग भएपछि। जेनतेन गुजरा चलाउनु शिवाय बाँकी के नै रहन्छ र जिन्दगीमा। किरिया सिध्दिने बित्तिकै हिँडेछन् अन्तरामका दाइ हरिलाल भारततिर।
८ कक्षामा पढिरहेको १३ वर्षको बालक भारतको चण्डीगढ पुगेर दरवानी गर्दै घर चलाउनु हरिलाल विष्टको वाध्यता हुन गयो। त्यसपछि अन्तरामका अरु दाइ र दिदीहरु कसैले पढ्न पाएनन्। पछिल्ला दिनमा आफुभन्दा जेठो दाइलाई उनले घरमै पढाए जो अहिले बैतडीमै व्यापार व्यवसाय चलाइरहेका छन्। माइला दाइले उनलाई आफुसँगै स्कुल लग्ने र ल्याउने गरिदिन्थे। दुई कक्षामा पढ्ने ती दाइले पनि छोडिदिएछन् स्कुल जान। त्यसपछि कोही भएनछन् अन्तरामलाई स्कुल लगिदिने।
घरमा रहेका दाजुभाइ दिदी बहिनीहरु बीच भात खाने बेला झगडा हुन्थ्यो। कारण थियो काँसको थालमा भात खान नपाउँदाको। घरमा जम्मा दुईवटा मात्र थिए काँसका थाल। बाकी सबै थालहरु थिए सिल्भरका। ती सिल्भरका थालहरु कतै न कतै कुच्चिएका हुन्थे। राम्रा देखिँदैन थिए, त्यसैले सबैले काँसकै थालमा खान खोज्दा हरेक दिन खाना खाने बेदा रुवाबासी भइरहन्थ्यो।
७ वर्षको उमेरमा पुनः एक कक्षामा भर्ना भएछन् उनी। एस एल सी सम्मको पढाइमा उनले कहिल्यै दोस्रो हुनु परेन। कक्षा ५ र ७ मा त जिल्लास्तरको परीक्षा नै टप गरेका थिए। ७ कक्षामा पढ्दा जेठा दाइले हौस्याउँदै भनेछन् – जिल्ला टप गर्यौ भने म पोलिस्टरको सर्ट किनिदिन्छु। परीक्षाको नतिजा आयो। उनले टप गरेको खबर सुने पछि ती दाइले एच एम टी घडी नै किनिदिएछन्।
आँखाभरि हर्षका आँसु बोकेका बिष्टले बुवाको भुमिकामा पाइरहे दाइलाई। दाइले पनि माया स्नेह प्रदान गरि नै रहे। भरसक बुवा नभएको आभाष नै नहोस् भन्ने कुरा मनन् गरिरहे। तर पनि सबैका बुवादेख्दा अन्तरामको मनमा एउटा प्रश्नले डेरा जमाइ रहन्थ्यो रे –मेरो बुवा कस्तो हुनुहुन्थ्यो होला।
६ र ७ कक्षामा पढ्दा ताका दिनमा दुईघण्टा हिँड्नु पथ्र्यो विद्यालय पुग्न। त्यो समयमा विज्ञान शिक्षक पाउन त्यति सजिलो कर्म थिएन। उनी पढ्ने विद्यालयमा विज्ञान पढाउने शिक्षक भारतको पिथौरागढबाट आएका थिए। लामो दाह्री र कपाल पालेका हुँदा विद्यार्थीहरु सबैले उनलाई झम्पान सर भन्ने गर्थे। तिनै झम्पान सर नै अन्तरामका पहिला संगीत गुरु बने। तिनैलै सिकाए सा रे ग म प ध नि सा। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भागलिन प्रोत्साहन दिए। फुर्सदको समयमा उनी पुग्थे खोलाको किनारमा र गाउँथे गीत। जहाँ खोलाको सुसाहट र दुईतिरका डाँडाँले छेकिदिन्थ्यो स्वर। अनि निर्धक्क भएर निकाल्थे आवाज।
८ कक्षामा भर्ना हुन उनी पाटन पुगे। विद्यालयको छात्रावासमै बस्न थाले। २०४६ सालमा बैतडी जिल्ला भरिमा १८ वटा विद्यालय थिए। एसएलसी प्रथम श्रेणीमा पास हुनेमा उनी लगायत जम्मा तीन जना थिए। ती तीन जनामा पनि जिल्ला टप गर्ने उनै थिए।
आइ एस्सी पढ्न उनका दाइले उनलाई भारतमा बोलाएछन्। चण्डिगडमा रहेको डिएभि कलेजमा उनको नाम निस्कियो। तर उनले त्यहाँ पढ्ने इच्छा गरेनन्। इन्जिनिएर बन्ने उनको ठुलो धोको थियो। इन्जिनिएरिङ पढ्न ओभरसेरबाट जान पाउथ्यो। ललितपुरको इन्जिनिएरिङ क्याम्पस पुल्चोकमा ओभरसेर पढ्न प्रवेश परीक्षा दिएछन् नाम निस्किएछ। तर विविध कारणले गर्दा त्यो पनि पुरा हुन सकेनछ। अन्तमा कञ्चनपुर आई सिद्धनाथ क्याम्पसमा आइ एस्सीमा भर्ना हुनुको विकल्प रहेन।
सोचेको विषय पढ्न नपाउनुको दिकदारी एकातिर थियो भने तराईको गर्मीले आँखा पाक्न थाल्दाको पीडा अर्कोतिर थियो। ४० कोठा भएको छात्रवास भवनमा एउटा पनि पङ्खा रहेनछ। शौचालय उस्तै दुर्गन्घित। दुई तला माथिको ट्याङ्कीमा पानी नै नचढ्ने रहेछ। अर्कै खाले वेथिति देखेछन् उनले। यी सारा कुराहरुले उनी भित्र एक प्रकारको बिद्रोह पैदा हुनगएछ। दिन प्रतिदिन उनी क्याम्पस प्रमुखको आँखाको तारो बन्न थालेछन्।
२०४६ सालको आन्दोलनमा बैतडी पाटनमै आकर्षित र समावेस भैसकेका विष्टको नाम पुलिसको पक्रिनु पर्ने सूचीमा पहिलो नम्बरमै थियो। पुलिसले समात्न नपाउँदै प्रजातन्त्र घोषणा भैदियो। यही बीचमा साथीहरुले उनलाई विद्यार्थीहरुको लिडर बनाइ दिएछन्।
उनी क्याम्पसको ४८ बिघा जमिनको खोजनीति गर्न थालेछन्। ३ बिघा जमिनको भाडा मात्रै खातामा भएको कुरा थाहा भएछ। १२ बिघा जमिन बहुमुखी क्याम्पसलाई दिइएको देखिएछ जुन अहिले सुप विश्वविद्यालयलाई दिइएको छ। ती सारा प्रमाणहरु खोतले छन् उनले। सुरुमा उनको उद्देश्य भन्नु नै होस्टेलमा पङ्खा जडान गराउनु थियो। एक करोडको लगानीमा २०४४ सालमै तयार भैसकेको उक्त भवनमा पङ्खा जडानका लागि रकम छुट्टयाइएको थियो।
तर क्याम्पस प्रमुखको रवैयाले सबै कुरा खोतल्ने वातावरण तय हुन गएछ। नेबिसंघको एकाइ समितिको गठन गरिदा अध्यक्षमा सबैले चुनेछन् उनैलाई। दुई सय जना विद्यार्थीका बीचमा उनी नेता बन्न पुगेछन्। सारा चिज शुद्धिकरण गरिएछ। क्याम्पस प्रमुखलाई हटाउने काम समेत हुन गएछ। नयाँ क्याम्पस प्रमुखको रुपमा देखापरेछन् धरणीधर जोशी। तिनै जोशीसँग एकदिन उनले अनुरोध गरेछन् त्यस क्षेत्रका स्थानीय र केन्द्रीयस्तरका बिभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा आम भेला बोलाउन। भेला बोलाइएछ। भेलामा क्याम्पसमा बि एससी कार्यक्रम ल्याउनु पर्ने कुरा जोडतोडले उठाइएछ।
विशेष गरी एमाले नेता ऋषि लम्सालले साथ दिएछन्। सबैले उक्त प्रस्तावलाई समर्थन गर्नुको विकल्प थिएन। त्यतिबेला ऋषि लम्साल एमाले भित्र राम्रै छवि भएका जिल्लामा चर्चित नेताका रुपमा चिनिन्थे। पहिलो भेलामै सामाजिक राजनैतिक व्यक्तित्वहरुको बीचबाट डेलिकेशनका लागि तिनै लम्सालको नेतृत्वमा विष्ट लगाएत ५ सदस्यीय समिति गठन हुन गएछ। उक्त समितिले त्रिबिका तात्कालिन उपकुलपति डा. केदारभक्त माथेमालाई भेट्दा उत्तर पाएछ –भैतिक पूर्वाधार तयार पार्नुहोस् कार्यक्रम दिन गाह्रो छैन। दोस्रो भेलामा क्याम्पस प्रमुखले भवन निर्माणको एजेण्डा उठाएछन्।
नगरपालिका, जिल्ला बिकास लगाएतका संस्था प्रमुखले संस्थागत रुपमै सहयोग गर्ने घोषणा गरेछन्। शिलालेखमा नाम लेखिने भनेपछि दस बीस हजारका दरले पैसा उठ्ने काम दु्रर्त गतिमा हुन थालेछ। भवन निर्माण हुन थालेछ। ल्याव बनाउनका लागि पुनः नगरपालिकासँग अनुरोध गरिएछ। सबै काम सम्पन्न भएपछि त्रिबिबिले बि एससी कार्यक्रम पनि लागु गरेछ। आइ एससी प्रथम वर्षमा प्रथम डिभिजन ल्याउन सफल विष्ट दोस्रो वर्षको परीक्षाको नतिजाले घाइते हुन पुगेछन्। घाइते बनाउँनेमा थिए उनै पूर्वक्याम्पस प्रमुख। जसले त्यतिखेरै भनेका थिए रे – बाबु ११ कक्षा (आइ एससी) पास हुन एघार वर्ष लाग्ला। नभन्दै जीवनमा पहिलो पटक फेल भए विष्ट। प्राइटिकल परीक्षामा शून्य नम्बर दिइएछ उनलाई।
त्यस पछि बझाङ्ग,डोटी, बैतडी र डडेल्धुरा जिल्लाको सीमानामा पर्ने लेकलोपण मा.बि. शिवलिङ्ग च्वागढमा शिक्षण गर्ने अवसर पाएर उनी हिँडेछन् एक्लो यात्री बनेर। खोड्पेदेखि ९ घण्टा हिँड्नु पथ्र्यो च्वागढ पुग्नलाई। उनले त्यहाँ दुई वर्ष जति अध्यापन गरेछन्। दुई वर्ष निल आएको विद्यालयको नतिजामा निकै नै सुधार हुन गएछ।
त्यो समयमा उक्त विद्यालय प्रस्तावित मा. बि. थियो। उनीसँग विद्यालयले न त सर्टिफिकेट नै मागेछ न त कसैलाई आइ एस्सी फेल भएको कुरा नै थाहा भएछ। बीचमा कसैलाई थाहा नदिई अर्कै कामको बाहाना गरेर प्राइटिकल परीक्षमा सामेल भएर फर्किएछन् उनी। उक्त समयावधिमा विद्यालयको आर्थिक सहयोगका लागि ढुङ्गाड, तलारा, लेकम, थलाकाडा लगायतका क्षेत्रमा नाटक लगेर गाउँगाउँ डुल्न थालेछन् अरु शिक्षक र विद्यार्थीहरुसँगै विष्ट पनि। त्यही दौरानमा थुप्रै गीत र भाकाहरु तयार गरेछन् उनले।
एकपल्ट रातभर नाटक देखाएर भतिजीको बिहेमा घर फर्किदा भोकको महत्व बुझेका हुन् उनले। ९ घन्टाको बाटोमा एकातिर अघिल्लो रातको अनिदो अर्कोतिर बाटोमा खानेकुरा पाएनछन्। बाटोमा एकदुई ठाउँमा भरिया भेटिए पैसा दिदा मानेनन्। साहुको पसलको सामान हो दिन मिल्दैन भनिदिए। एउटा घर देखिएछ आशै आशले त्यहाँ पुगेछन् ती मान्छेले बोल्नै चाहेनछन्।
दुनै भन्ने ठाउँको मुखियाको छोराले उक्त दृश्य देखेछन् र बोलाएर लगेछन् आफ्नो घरतिर। उनको घरमा मयरी भात (मोही नून, मसला,चामल एउटै भाडोमा राखेर पकाएको )पाकेको रहेछ। पेटभरी खाएर हिँडेछन् विष्ट। तिनको नामसमेत सोध्न बिर्सेछन्। दाइले गरिबीको महसुश गर्न नदिएका विष्टले भोक के हो भन्ने थाहा पाएछन्। कुनैदिन त्यो ठाउँमा गएर तिनलाई फेरि भेट्ने मनछ उनको।
महेन्द्रनगरमा बि एस्सी पढाइ सुरु भयो। उनी भर्ना भए। परीक्षाको बेला रेडियोमा स्वर परीक्षा खुल्यो। फिजिक्सको परीक्षा ड्रप गरेर स्वर परीक्षा दिन उनी हानिए काठमाडौं सिंहदरवारस्थित रेडियो नेपालतिर। २०५१ सालमा स्वर परीक्षाका लागि नयाँ नियम लागु भयो। त्यो नियम थियो तीन प्रकारका लोक गीतहरु गाउनु पर्ने। मान बहादुर तामाङको सहयोगमा एउटा तामाङ सेलो बनाएका थिए उनले। एप्लिकेन्ट जति अडियन्स थिए।
बाहिर चौरमा गाउनु पर्ने थियो। उनले गाउने क्रममा तामाङ शेलोका केही शब्दहरु बिर्सेछन्। मात्र ताल पक्रेर ललल गरेर गाएछन्। गाइसकेपछि उनलाई थाहा भैसक्यो मेरो नाम निस्किदैन भन्ने। नतिजाको प्रतिक्षामा नबसी सरासर घर फर्केर रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायल पुगे उनी। आफ्नो नाम बद्लेर एम बिष्ट लेखाए। बुडरको गोगन पानीमा बाटो बिग्रेको रहेछ। हिँडेरै दिपायल पुग्दा थोरै ढीला भैसकेको थियो। ललिजन रावलले उनलाई गाउन लगाए गीत। ललिजन रावल रेडियो नेपालको कर्मचारीको नाम मात्र थिएन। गीत, गजलका क्षेत्रमा एउटा स्थापित नाम पनि थियो।
उनको गीत मन पराएर तिनै रावलले स्वर परीक्षा पछि लिउला पहिले गीत रेकर्ड गराइ हालौ भनेर लगेछन् स्टुडियो तर्फ। गीतको बोल थियो –तो कैले दियो चुनेली मखमलका झुप्पा .....। हर्षका आँसु बर्षे बिष्टका नयनबाट। खुसीको कुनै सीमा नै रहेन। पछि तीन वटा गीत गाएर स्वर परीक्षा दिए। उनी घर फर्किने क्रममा रावलले भनेछन्– तिमी घर पुगुन्जेल तिम्रो गीत पनि बजाइ दिन्छौ रेडियोबाट। नभन्दै गीत बजेछ रेडियोबाट। गाउँका अधिकांशले उनको गीत सुनेछन्। घर पुग्दासम्म उनले सोच बनाइ सकेछन् एक महिना भित्रमा एल्बम निकाल्छु भन्ने।
उनी घरपुग्दा साँझपख घरमा अलग हुने कुरा चलिरहेको सुनेर जेठा दाइसँग भनेछन्–मेरो भाग जे जति दिनु हुन्छ मेरो गुनासो छैन। त्यसको व्यवस्थापन पनि आफैं गरिदिनु होला। उनले भावुक मुद्रामा सुनाएका थिए – ’त्यति बेला कल्पनामा एकातिर एल्बम थियो अर्कोतिर बा थिए । बाको नदेखेको काल्पनिक अनुहार थियो।‘ माथि आकाशमा बादल घुमिरहेको थियो। तल धर्तीमा तिनै अन्तराम विष्टको दिमाग घुमिरहेको थियो। अनि बेलाबखत घुमिरहेको थियो परेलीभित्रै आँसु। जुन आँसुले सिकायो उनलाई जिन्दगी जिउन पनि। आँसुको त्यो कथा समेटिने नै छ आगामी लेखमा।