घुँडा धसेर पढ्नुपर्ने उमेरमा अखिर किन उनी होटलमा जागिर खाइरहेका छन्?
काठमाडौंको कमलपोखरीस्थित ‘ट्रेडिशनल कम्फर्ट’ नामक बुटिक होटल पुग्दा जो कोहीले भेट्ने छन्, १९ वर्षीय एक ठिटो। जो हरदम अतिथिको सेवामा जुटिरहेको भेटिन्छन्।
उनी होटलमा आउने अतिथिको स्वागतदेखि उनीहरूलाई आइपर्ने गाह्रो अफ्ठेरो सबै सोध्ने काममा जोडिन्छन्।
पुजल चन्द ठकुरी, हाल सान ईन्टरनेशनल कलेजमा ट्राभल एण्ड टुरिजम विषय लिएर अध्ययनरत छन्। घुँडा धसेर पढ्नुपर्ने उमेरमा अखिर किन उनी होटलमा जागिर खाइरहेका छन्? को हुन्, उनी? किन कलिलो उमेरमै उनले काम गर्नुपर्यो?
केही दिनअघिको जम्काभेटमा हामीले उनीसँग यही बुझ्ने प्रयास गरेका थियौं। लजालु स्वभावका पुजलले पहिले त केही बताउन मानेनन्। पछि मात्र रहस्य खुल्यो, उनी तिनै व्यक्तिका छोरा हुन्, जसले हिंसापीडित महिलालाई निःशुल्क गाडी सिकाउने काम गर्छिन्।
मिना चन्द ठकुरीका छोरा हुन्, पुजल। गाउँमा खानलाउन दुःख भएपछि ३ वर्षको छोरा च्यापेर मिना गुल्मीको जुभुङ्ग झिरवास वडा नं–१ बाट काठमाडौै झरेकी हुन्।
उनको संघर्षको कथा सुन्दा जो कोहीलाई लाग्छ, मन दह्रो बनाउनुपर्छ, आँटियो भने के नहुने रहेछ!
काठमाडौंमा काखे छोरा च्यापेर काम खोज्ने क्रममा मिनाले पशुपतिनाथ मन्दिरको बाग्मती छेउ मान्छे पोल्ने ठाउँ नजिकैको छिडीमा ३ रात बिताएकी थिइन्।
जेनतेन ट्याम्पु चलाउन सिकेपछि मिनाले काठमाडौंको एक सरकारी विद्यालयमा छोरालाई भर्ना त गरिन् तर कपि र किताब किन्न पैसाको जोहो गर्न नसक्दा ३ वर्ष पुजलले डेरामै बस्नु पर्यो।
उनी विगत सम्झन्छन्, ‘घरको आर्थिक अवस्थाले ३ वर्ष घरमै बस्नु पर्यो। यहीबीच भाइ जन्मियो। ममी हामीलाई कोठामा छाडेर गाडीमा खालसी काम गर्न थाल्नुभयो।’
कोठामा उनी भाइको स्हारसुसार गर्थे। ‘बिहान उठ्दा ममी हिडिसक्नु हुन्थ्यो। बेलुका आउँदा हामी भोकै निदाइसकेका हुन्थ्यौं,’ उनले भने।
आमाको हरेक दुःखमा साक्षी बनेका पुजल कक्षा ७ मा पढ्दादेखि होटलमा भाडा माझ्थे। घरमा पेन्ट लगाउने र ज्यामी काम गर्थे।
उनी अहिले पनि नियमित कलेज जान पाउँदैनन्। होटलको ड्यूटी कहिले बिहान हुन्छ, कहिले दिउँसो। ‘साथीहरूले कलेज बंक गर्यो भनेर जिस्क्याउँछन्,’ उनी आफ्नो बाध्यता सुनाउँछन्। उनी फुर्सदमा घरमै बसेर पढेपनि राम्रो नम्बर ल्याउने बताउँछन्।
साथीहरूले उल्ल्याउँदा उनलाई कहिले काही रुन मन लाग्छ।
तर, उनी आफ्नो आमाको संघर्षले गर्दा निकै प्रेरित छन्। भन्छन्, ‘अरुले मजाक बनाए पनि म खुसी छु।’ आमाको समाजसेवी भावनाले उनलाई पनि प्रभावित बनाएको छ। उनी पनि आमा जस्तै भविष्यमा समाजसेवासँग जोडिन चाहन्छन्।