गत नोभेम्बर २६ अमेरिकाको राष्ट्रिय पर्व ‘थ्यांक्स गिभिङ डे’ थियो। सो दिन बिहान साँढे नौ बजे ६५ वर्षीया शीला निक्कै अशान्त मुद्रामा एलिभेटरमा भेटिइन्।
मैले तत्कालै उनीसँग कुरा गर्न अलिकति सावधान बनाउन जरूरी ठानेँ। कताबाट कुरा सुरू गरौं भन्ने लागिरहेको थियो। सुरूवात सोही दिनबाटै गरेँ, ‘ह्याप्पी थ्यांक्स गिभिङ डे शीला।’ यति भन्नासाथ उनी भित्तामा टाउको बजारेर डाको छोडेर रून थालिन्।
मलाई एलिवेटरमा आठौं तल्लामा जानु थियो। तर, उनको अशान्त चेहरा, रूवाई र टाउको बजारेकाले मेरो प्राथमिकतामा उनी परिन्। म चौथो तल्लामा उनीसँगै उत्रिएँ र रूनुको कारण पत्ता लगाउनतिर लागेँ।
हुन पनि शीला सँधैं यो समयमा शान्त भएर, कहिले टिभी हेरेर त कहिले बिंगो खेलेर वा साथीहरूसँग गफिएर बसेकी हुन्थिन्। तर, थ्यांक्स गिभिङ डेको बिहान देखिको म्युजिक, केक र तामझामले उनलाई अशान्त पारिरहेको रहेछ।
‘म बिहानैदेखि मन दह्रो बनाएर सम्हालिने कोशिस गरिरहेकी थिएँ। तर, तिमीले बिचैमा मेरो आन्टीले भनेको जस्तै गरेर 'ह्याप्पी थ्यांक्स गिभिङ्ग डे शीला' भन्यौं। अनि मलाई मेरो परिवार सम्झेर भक्कानो छुटेर आयो,’ उनले स्पष्ट पारिन्।
शीला दश वर्ष अगाडिसम्म आफ्नै अपार्टमेन्टमा बस्थिन्। सिटीमा काम गर्थिन्। उनका आमा-बा र नजिकका नातेदारहरु सबै मिलेर एकै ठाउँमा लगभग वर्षभरिको पैसा खर्च गरेर पार्टी गर्ने, विभिन्न परिकारहरु बनाएर खाने, गिफ़्ट साटासाट गर्नेलगायत अत्यन्त रमाइलो गरेर थ्यांक्स गिभिङ्ग डे, क्रिष्मस र नयाँ वर्ष मनाउँथे।
हर्ट अट्याकका कारण उनका आमा-बाको मृत्यु भयो। आफन्तहरू पनि बसाइँ सरेर अर्कै स्टेट गएपछि क्रमशः सम्पर्क टुट्दै गयो। उनलाई पनि सात वर्ष अगाडि हर्ट अट्याक भयो। त्यसपछि उनी लामो समय अस्पताल बस्नु पर्यो। पूर्णरूपमा निको हुन र त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्ने र दैनिकी चलाउन जस्तो कार्य सिक्न पुनर्स्थापना केन्द्रमा बस्नुपर्यो।
अस्पताल र पुनर्स्थापना केन्द्रको लामो बसाइँले उता भाडामा बस्दै आएको अपार्टमेन्ट पनि गुमिसकेको थियो। दुई/चार दिन यसो गएर मन भुलाउने र आफ्नो स्वास्थ्य अवस्थाको बारेमा बताएर मन हल्का पार्नलाई आफन्तहरु पनि कोही बाँकि थिएनन्। पेस मेकर राखेको हुनाले कोठा खोजेर बस्नलाई उनीसँग तागत थिएन। पैसा पनि बचेको थिएन।
यस्तै अवस्थामा एकजना एजेण्टले एसिस्टेड लिभिङ फैसिलिटीमा महिनाको १८ सय डलर तिरेपछि खान, बस्न, डाक्टर, नर्स, साईको थेरापीलगायतका सम्पूर्ण सुविधा उपलब्ध छ भनेपछि उसैको पछि लागेर फ्यासिलिटीमा बस्न पुगिन्।
त्यहाँ पुगेपछि उनी जस्तै विभिन्न कारणले बिरामी परेर काम गर्न नसकेर आइपुगेका मानिसहरु देखेर झनै विरक्त लागेको उनी बताउँछिन्। जे जस्तो भए पनि दिनहरू बिताउँदै गएकी उनी थ्यांक्स गिभिङ, क्रिस्मस र नयाँ वर्ष जस्ता चाडबाड आएपछि पुराना दिन सम्झेर भक्कानो छुटेर आउने बताउँछिन्।
शीला जस्तै ५० वर्षीया स्पेन्सर पनि केही दिनदेखि सानो प्लास्टिकको क्रिस्मस ट्री च्यापेर चुम्बन गर्दै रोइरहेकी छिन्। उनी सुत्ने बेडमै सेण्टा क्लाजलाई पनि आफ्नै ब्ल्याङ्केट ओडाउँछिन् र बटन दबाएपछि जिंगल बेल्स भन्ने गीत बज्छ। आँशु पुछ्दै त्यही गीतको तालमा सुतिसुति शरीर हल्लाएर खुसी हुन खोज्छिन्।
उनलाई अघिल्लो साता यो क्रिसमस ट्री, सेंण्टा क्लाज, केही जोर नयाँ भेल्भेटका नाइट गाउन, ह्याट, केही कुकिज र चक्लेट एक जना पुरानो चिनजानकी साथिले थमाएकी थिइन्। ‘यो सानो दुई फिटे क्रिस्मस ट्रीले मलाई मेरो परिवारसँग चार दशक सँगै क्रिस्मस मनाएको क्षणलाई झन् गाढा गरिदियो। म यसलाई आजै फालिदिन्छु। तैले भोलि आउँदा यो देख्ने छैनस्,’ उनले भनिन्।
स्पेन्सरका अनुसार सिंगै पाइनको रूख़ ल्याएर हप्ताभरि लगाएर सातै रंगको लाइटले धपधप सजाउने, रूखको फेदमा गिफ्टले भरिभराउ हुन्थ्यो। राति अबेरसम्म के किन्ने भन्ने डिस्कस हुन्थ्यो। गाडीमा सबै परिवार बाहिर घुम्न निस्कने, जोक भन्ने गर्दा माहोल नै अर्कै हुन्थ्यो। पहिला पहिला हरेक वर्ष क्रिस्मसको समयमा हिउँ परेकै हुन्थ्यो।
बाहिर शहर नै पुरै क्रिश्चियन बेहुली झैं सिंगारिएको जस्तो हुन्थ्यो। परिवार र इष्टमीत्रसँग गिफ्ट आदान प्रदान, पार्टी, नाचगान गर्दा रमाईलोको कुनै सीमा नै नहुने उनी बताउँछिन्।
‘मेरो परिवार र इष्टमीत्रसँगका पुराना दिनहरु सम्झँदा मन भतभती पोल्छ, छटपटी हुन्छ र रुन मन लाग्छ,’ उनी निराश हुँदै भन्छिन्।
स्पेन्सरले काम गर्दागर्दै तीन वर्षअघि किड्नीको रोगी भइन्। त्यसपछि उनका श्रीमानले अर्कै केटीसँग हिमचिम बढाउन थाले र वास्ता गर्न छोडेपछि सरकारी सेल्टरमा बस्थिन्। सेल्टरमा एउटै कोठा करिब १० जनाले शेयर गर्नुपर्ने भएकाले त्यहाँ बस्न ज्यादै असजिलो भएपछि उनी एकजना एजेण्टमार्फत एसिस्टेड लिभिङ फेसिलिटीमा बस्न आइपुगेकी हुन्। उनी हप्ताको तीन पटक डायलिसिस गर्छिन्।
‘यो दुनियाँमा रमाउनलाई मेरो आफ्नो भन्ने पनि कोही बाँकी छैन र अब बेखुसी भएर किन बाँच्नु भन्ने पनि लाग्छ मलाई,’ चरम निराशा पोख्छिन्।
जो कोहीले सहजै अनुमान लगाउन सक्छ जवान उमेरमा एक्लोपनाले भित्रभित्रै पिल्सिएर उकुसमुकुस भएको कुरा उनको अनुहारले प्रष्ट बताउँछ।
अमेरिकामा एक्लोपनले छट्पटाउने यी दुई त प्रतिनिधि पात्र मात्र हुन्। यहाँ हलोवीन चाडदेखि अन्य पर्वहरु थ्यांक्स गिभिङ, क्रिस्मस, नयाँ वर्ष र छुट्टिको सुरूवात हुन्छ। पारिवारिक भेटघाट गर्ने, मनोरञ्जन गर्ने, किनमेल, उपहार आदानप्रदान, घुमिफरलगायत विदा वा उत्सवको तयारीमा सारा मानिसहरु लाग्ने गर्छन्। थ्यांक्स गिभिङ्ग डे लगत्तै क्रिसमसको चहलपहलमा एक थरि अमेरिकनहरु लागे पनि अर्को थरि मानिस जस्का आफन्त र घर परिवार छैनन् उनीहरुलाई विदा वा उत्सवको समयमा झनै एक्लोपनाले सताउँदो रहेछ।
विकसित देशका मान्छेहरु विभिन्न कारणवश एक्लै बस्नुपर्ने अवस्था आउँछ। अमेरिकामा मानिसहरु प्राय: एक्लोपनमा नै रमाउने र एक्लै बस्ने स्वभावका जस्ता देखिन्छन्। यहाँ नीति नियम र सिस्टम बलियो भएकोले बिरामी हुँदा सिस्टमले हेर्छ। तर, जब चाडबाड आउँछ अनि सबैले परिवार खोजिरहेका हुन्छन्।
जीवनको कुनै कालखण्डमा पारिवारिक जमघट, भिडभाड, रसरंग, भोजभत्तेरमा रमाउन बानी परिसकेका मानिसहरु जब एक्लोपनको शिकार हुन्छन्, स्थिति भयावह हुँदो रहेछ।
वास्तवमा क्रिष्मस सकसले भरिपूर्ण चाड रहेछ र मन भत्काउने पर्व पनि। मैले चार वर्षदेखि अमेरिकी समुदायलाई नियालेर हेर्दा मानिसहरु प्रत्येक दिन एक्लोपनले कसरी छटपटाउँछन्? भन्ने कुरा हेर्ने, सुन्ने र महसुस गर्ने मौका पाए। यहाँ अमेरिकामा हरेक रोगको उपचार भएर नै होला सायद मानिस रोगले चापेर रोएको चिच्याएको, उपचार नपाएको ज्यादै कम मात्रामा वा १ प्रतिशत भन्दा कम मात्र देखेकी छु। तर, एक्लोपनले छटपटाउँनेको संख्या भने ज्यादै रहेछ।
विशेष गरेर अस्पताल, नर्सिङ् होम, एसिस्टेड लिभिङ, पुनर्स्थापना केन्द्र, हस्पिस, सीनियर लिभिङहरुमा क्रिसमस र नयाँ वर्षमा भावनात्मकतासँग जोडिएका कुराहरुले मानिसहरु बढी ग्रसित हुँदा रहेछन्। टाढाका नाता पर्ने आफन्तले समेत सम्झिन्छनकी भनेर मानिसहरु टेलिफोन सेटको अगाडि बिहानैदेखि चनाखो भएर बस्ने, अर्काको फोनको घण्टी बजेको पनि मेरै होला भनेर उठाउन जाने, पोष्टम्यानले कतै पुराना गर्लफ़्रेन्ड वा ब्वाइफ्रेण्डहरुले पठाएको गिफ़्ट कार्ड वा राम्रो शब्दहरु लेखिएको चिठ्ठीपत्रहरु पो ल्यायो कि भनेर आशा गर्ने रहेछन्।
कतिपय गुडिया, तकियालाई च्यापेर आफ्नो महसूस गर्छन्, कोही काम गर्ने स्टाफलाई गिफ्ट कार्ड बाँडेर र हग गरेर न्यानोपनको महसुस गर्छन् त कोही क्रिष्मस ट्री को रंगिचंगी लाईट हेरेर टोलाईरहेका हुन्छन्।
अमेरिकामा मानिसहरु एक भेटघाटमा नै म एक्लो छु भनेर कसैलाई सुनाउँदा रहेनछन्। एक हिसाबले यो पीडा नै हो। म वर्ष दिन बिहानदेखि रातिसम्म उनीहरुसँगै बिताउँदा पनि व्यक्तिगत कुरा केही थाहा पाउँदिनँ। कामको कुरा सकिएपछि कहिलेककाहिँ समय बढी भयो भने मौसम, मार्केटमा लागेको सेल वा १९७०/८० तिर बनेका फ़िल्म, हिरो हिरोइन, पुस्तक वा अरु कन्ट्राभर्सियल नहुने विषय छानेर कुरा गर्नुपर्छ।
कसैसँग कुरा गर्दा एकदमै होस पुर्याउनुपर्छ। गलत तथ्यांक, गलत सूचना र कम थाहा पाएको कुरा कहिल्यै गर्नु हुँदैन। उसको कुरालाई आँखा ठूला पारेर, निक्कै नै चाख दिएको जस्तो पाराले, बीचबीचमा मुख्य विषयलाई सार खिचेर प्रश्न पनि राख्न सक्नुपर्छ।
कसैले एक्लो छु भनेर भन्नु भनेको जीवनमा म कतै असफल व्यक्ति पो हुँ कि, भन्ने अरूले ठान्लान् भनेर कसैलाई सुनाउँदैनन्। कुनै सहायता चाहियो भने छिमेकि भन्दा पहिला पुलिस वा सम्बन्धित निकायलाई जानकारी गराउँदारहेछन्।
यस्तो विकसित देशमा मान्छे एक्लिने मुख्य कारण केलाउँदा रेसिजम् र यसले जन्माएको भेदभाव, शारीरिक अस्वस्थता, लामो समय बेरोजगार हुनु, लागू पदार्थको कुलत, पारिवारिक र सांस्कृतिक संरचना बलियो नभएको, विवाह टिक्दै नटिक्ने, (फ्रैण्डस विथ बेनि फिटफाब) आवश्यक पर्दा मात्र सेक्स्यूल डेटिङ गर्ने, प्रेममा विश्वास नराख्ने र पछिल्लो समयमा सामाजिक सन्जालको प्रयोग जस्ता अनेक कारणहरु रहेछन्।
यहाँ यस्ता एक्ला मानिसहरुका लागि काम गर्ने अनेक थरि सामाजिक संस्था र धार्मिक प्रकृतिका मानिसहरुका लागि चर्चहरु पनि छन्। तर, यिनीहरुले काम गरेको वर्षैं प्रभावकारी भए पनि चाडबाड जस्तो भावनात्मक कुरामा कसैको मन भर्ने काम गर्न सकेको देखिदैन। पेपरमा निश्चित फर्म्याट बनाएर मेकानिकल जस्तो काम गर्नेहरू आफैं पनि एक्लोपनले वा कुनै न कुनै पारिवारिक समस्याले ग्रसित भएका हुँदा रहेछन् र खासै प्रभावकारी काम हुन सकिरहेको हुँदैन।
अमेरिकी सर्जन जनरल, विवेक हाल मूर्तीले प्रत्येक दिन १५ वटा चुरोट पिउँदा स्वास्थ्यमा जति असर गर्छ एक्लोपनाले पनि त्यति नै असर गर्ने बताएका छन् भने एक्लोपनालाई महामारीको संज्ञा दिएका छन्।
उता युनिभर्सिटी अफ जारजिया कलेज अफ पब्लिक हेल्थ (University of Georgia College of Public Health)को रिपोर्ट अनुसार पनि अमेरिकामा एक्लोपन मानिसको चाँडो मृत्युको प्रमुख कारण बन्दै गएको छ। र चार वर्षमा बढेर ५३ बाट ५७ प्रतिशत पुगेको छ।
अमेरिकाले हरेक राज्यहरुमा चाँडो भन्दा चाँडो यसमा नीति तथा कार्यक्रम बनाएर अगाडि नबढे एक्लोपनाले भयावह अवस्था नल्याउला भन्न सकिन्न।