१३ वर्ष पुरानो मुद्दामा गाउँपालिका अध्यक्ष कारागार चलान

बिएल संवाददाता

वीरगञ्ज, Dec 22, 2019

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत कारागार चलान भएका छन्।

१३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो।

अदालतले उनलाई २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न कारागार पठाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। जिल्ला अदालतले उनलाई आइतबार नै थुनामा राख्नका लागि अनुमति दिएसँगै कारगार पठाइसकिएको खनालले बताए।

२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा–३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा २०६३ साल भदौ २९ मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो।

प्रकाशित मिति: : 2019-12-23 04:10:06

प्रतिकृया दिनुहोस्