जति आन्दोलन गरे पनि पार्टी वा सत्ता चरित्रमा परिवर्तन नहुने, लोकतन्त्रमा लोक केन्द्रमा होइन पाखामा पर्ने प्रवृत्तिले लोकलाई मर्कामा पारेको छ।
कुनै विषयमा अभाव वा असहज महसुस हुँदा आन्दोलन (क्रान्ति) गरिन्छ। तर, जति आन्दोलन गरे पनि अन्ततः यसलाई कहाँ पुर्याउने ? के हुने हो ? भन्ने प्रश्न आइरहँदो रहेछ। पहिले ‘प्रजातन्त्र’ भनिन्थ्यो, अचेल लोकतन्त्र। पछि त्यसैमा थपियो, ‘संघीयता’। लामो समयको संघर्ष र त्यसको उपलब्धि देखेपछि यो लोकतन्त्र के हो ? यसको अवधारणा के हो ? लोक कहाँ छ ? लोक कहाँ पर्छ ? लोक पर्छ कि पर्दैन ? सत्ताधारीले लोकलाई कसरी राखेका छन् ? यिनै प्रश्नमा उत्तरको खोजीमा पहिले नेपालले र पछि विश्वले अत्याउन थाल्यो मलाई। लोकतन्त्रमा कता–कता के–के हराए ?
जानी–नजानी म पनि लोकतान्त्रिक आन्दोलनमा होमिएँ। पश्चिमा मुलुकका सभ्यता, ज्ञानगुनका कुरा, त्यसैगरी बेलायत, अमेरिकाजस्तो मुलुकमा कसरी अभ्यास भएको छ भन्ने सिकेर सबैलाई स्वतन्त्रता चाहिन्छ भन्ने अनुभूति भयो। त्यसले एक प्रकार (न्याय र समानता) को आकांक्षा जन्मायो। अनि लडें। नेपालले पनि यो अभ्यासमा उत्रियो। बेलाबेलामा भएका नेपालका आन्दोलनले केही उपलब्धि गर्यो भने गुमायो पनि।