यो शाश्वत कुरा हो कि, प्रत्येक घटनाको पछाडि निश्चित कारण हुन्छ। जन्मिनु पनि एउटा घटना हो । हामी जन्मिनुका पछाडि पनि कारणहरु छन्। आफ्नो होइन मातापिताको रहर, विना रहर, वाध्यता, अनिइच्छा वा झुक्यानले जन्मिनु सत्य हो जिन्दगी।
जन्मपछि, आफैंमा एउटा जिन्दगीको यात्रा सुरुवात हुन्छ। यस पछि के हो जिन्दगी? मानव चोला चेतनाको महशुस गर्ने भएपछि जे देखियो त्यही प्राप्ति गर्नु नै हो जस्तो लाग्छ जिन्दगी। तर, जिन्दगीको यात्रा, वहाब, उतार चढाव जीवन जिउने क्रममा जुन कुरा वा व्यक्तिको सामिप्यता रह्यो त्यही नै अन्तिम र उत्कृष्ट गन्तब्य हो जस्तो लाग्छ।
हुर्किदै जाँदा आकाशमा उडिरहेको चरा देख्दा उडीरहूँ जस्तो लाग्छ जिन्दगी, विद्यालयमा शिक्षक-शिक्षिकाले ‘उडीछुनु चन्द्र एक‘ भनी पठनपाठन गरिरहँदा जून नै छुनु पर्ने जस्तो लाग्छ तर अग्रेजी -शिक्षिकाले ‘होइन आइ विकेम फलानो भनिरहँदा‘ त्यस्तै बनू जस्तो लाग्छ जिन्दगी।
स्कूलले जीवनपछि जीवन जिउने सपनाको श्रृखला सुरु हुन्छ। संगत, प्रभाव अनुसार विज्ञान, कला, दर्शन, साहित्य लगायत विषय पढ्ने रहर लाग्छ। मेरो जीवनको सपना यही हो भन्दै हतारमा हुत्तिन्छ जिन्दगी।
जीवनको लक्ष्य, अभीष्ट वा गन्तब्य छनौट गर्ने भूलभुलैयाको सुरुवात हुन्छ। भूलभुलैयामा बाँचेको बालक अस्पताल पुग्दा डाक्टर बनी सेवा गरुँ जस्तो लाग्छ जिन्दगी । आकाशमा जाहाज उडिरहदाँ पाइलट नै बनू जस्तो लाग्छ, पाइलट भन्दा जीवनले हासिल गर्नुपर्ने अर्को कुनै ठूलो अभिष्ट देखिन्न। तर जव कुनै चलचित्र हेर्न पुगिन्छ कुरा फरक हुन जान्छ। चलचित्र हेरिरहँदा नायक-नायिका बनू जस्तो लाग्छ र प्रयास पनि हुने गर्छ।
खेलकूद हेरिरहँदा खेलाडी नै बनू जस्तो लाग्छ जिन्दगी र प्रयास पनि गर्छ। तपस्वी महर्षी देख्दा बाबा नै बनू जस्तो लाग्छ र लामा कपाल, दाह्री र गेरुबस्त्र पहिरन मन गर्छ जिन्दगी र संसारिक मोह, संञ्जाल माथि विषय प्राप्त गरौं जस्तो लाग्दछ।
गाउँमा छुट्टी मनाउन आएको लाहुरे देख्दा आफू पनि फौजी नै बनू जस्तो लाग्छ र दौड धूप पनि गर्छ जिन्दगी। यदि कुनै सन्दर्भमा अदालत पुगियो भने न्यायधीश नै हुने सपना बोक्छ जिन्दगी। कसैले प्रेमिका डुलाइरहँदा च्याप्प हात समार्इ प्रेमिकासँगै डुलिरहूँ जस्तो लाग्छ जिन्दगी। क्याम्पस पढिरहँदा दार्शनिक नै बनूँ लाग्छ।
एक-दुइ हरफ गद्य वा पद्य कोरिरँहदा र दुर्इ चार जनाले तारिफ गर्दा साहित्यकार नै बनू लाग्छ जिन्दगी। गैरसरकारी वा परोपकारी संघसंस्थाको जागिरे भर्इ देशदुनियाँ डुलीरहूँजस्तो पनि लाग्छ र स्वंयसेवक भर्इ काम गर्न पनि थाल्दछ जिन्दगी। क्रान्तिकारी भाषण सुन्दा वा देशको व्यतिथि हेर्दा कहिलेकाही राजनीति गरी नेतृत्वतहमा पुग्ने रहरले कार्यकर्ता बनू भन्ने रहन जाग्छ जिन्दगीमा।
लोकको सेवा गर भन्छ मस्तिष्क वेला वेला र लोकसेवा अध्ययन पनि गर्छ जिन्दगी। ठूलै जहाज चढी विदेश जा पनि भन्छ जिन्दगी र त हाङ्गुला वा हिराकाना काताकाना लिपी घोक्न सुरु गर्छ जिन्दगी लगायत जीवन यात्राको क्रममा सबै जे देख्यो त्यही गरौ नै लाग्छ भूल भूलैया जिन्दगी जहाँ हजारौ सपनाको यात्रा तयार गरि रहेछ।
जीवनको अभीष्ट, लक्ष्य वा गन्तब्य नै पहिचान गर्न नसक्दा जस्तो देख्यो त्यस्तै गरु जस्तो लाग्छ जिन्दगीमा। जीवनको सारभूत महत्व तब सुरु हुन्छ जव केही न केही प्राप्त हुन्छ जिन्दगीमा।जसरी कागवेनीमा ठूलो पत्थर बग्दै, ठोक्किदै, फुट्दै, दलिदै, गुड्दै तल कालिगण्डकीको तिरमा आइपुगेपछि शिला बन्छ
त्यो शिलाको पत्थर पृष्ठभूमि, आकार र विगत कसैले सम्झिदै, केवल शिलाको शालिनतासँग रमाउदै जसरी सुरु हुन्छ त्यो कालिगण्डकीको शिलाको जिन्दगी सजावटका लागि, देवालयका लागि वा अन्य प्रयोजनका लागि, त्यसरी नै बुनेका सपनाको जालो मध्येबाट प्राप्त हुने त्यान्द्रोले पइल्याउन्छ जिन्दगी।
समय क्रममा आइपर्ने वाधा, व्यवधान, समस्याले नै जीवनलार्इ परिपक्क बनाउने हो। जिउने सिलसिलामा कैयौं सपनाको निर्मम अवसान हुन जान्छ भने थोरै मात्र सफलिभूत हुन्छन्।
जीवनमा दश थरिका इच्छा वा सपनाको उदय भए पनि सवै त पक्कै पूरा हुने होइनन्। समय क्रममा धेरैजसो पानीका फोकाजस्ता फुटिजाने हुन् ।
यही सत्य हरेक जिन्दगीमा लागू हुन्छ। सपनाको पछाडि दौडिरहँदा आफ्नो मौलिकता,क्षमता, अनुकुलता, परिवेश, संयोग वा अन्य कुराले सपना चकनाचुर हुनुको साक्षी पनि जिन्दगीको एउटा विशेषता नै भन्न सुहाउँछ।
पूर्वको सपना देखेर पश्चिम पुग्नु जिन्दगीको नियती नै हो। सपनाको रंगिनतामा रुमिल्लिनु आफैमा भुलभुलैया हो। सम्भवतः कुनै पनि व्यक्तिको सपना श्यामस्वेत नभइ रंगीन नै हुने गर्छ। तर देखेको रंगीन सपना अन्ततः रंगहीन हुनु पनि जिन्दगीको बिशेषता हो भन्दा फरक नपर्ला।
लोकको सेवा गर्छु भनी बालापनमा सपनाको माला गास्नेले जब सेवा प्रवेश गर्छ तब सुरु हुन्छ जिन्दगी। मोडलिङ्ग गर्छु भनी केही अंश अनुशरण गर्दै हिड्ने युवक/युवतीले लगनगाठो कसेपछि सुरु हुन्छ जिन्दगी ।
यी लगायत यस्तै-यस्तै...। सपनाहरुको अंश रहेसम्म अनुरागको उजेली बाँचिरहँदो रहेछ जिन्दगी। जसरी आफ्नो होइन अरुकै रहरले जन्मिनु सत्य हो, त्यसैगरी मृत्यू मात्र अन्तिम सत्य हो जिन्दगी। अरु सबै भूलभूलैया हो जिन्दगी, सपनाको व्यापार हो जिन्दगी। जसरी मृगले आफ्नै जीउमा भएको कस्तुरी खोज्दै हिँडे जस्तै जिन्दगीमा अनेक सुगन्दको खोजी भै रहन्छ।