ह्वाइट हाउसका एक अधिकारीले दिए ट्रम्पविरूद्ध वयान

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनलाई गरेको आग्रह अनुचित भनेर वयान दिने ह्वाइट हाउसका एक उच्च सैनिक अधिकारीको आलोचना गरेका छन्।

लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा युक्रेनी राष्ट्रपतिलाई फोन गरेर आग्रह गर्नु अनुचित भएको बयान दिएका थिए । गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो।

त्यसरी आग्रह गरेर राष्ट्रपतिले शक्तिको दुरुपयोग गरे वा नगरेको विषयमा संसदीय समितिहरूमा अनुसन्धान जारी छ । अनुसन्धानकै क्रममा साक्षीका रूपमा वयान दिने क्रममा भिन्डमनले त्यसो भनेक थिए ।

संसद्ले आउँदो चुनावमा ट्रम्पका आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ।

जाँचबुझ के हो?

ट्रम्पले त्यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ।

जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन् भन्ने स्थापित गर्ने प्रयास गरिरहेको छ।

प्रक्रिया अहिले पनि सुरुवाती चरणमै छ। डेमोक्र्याटहरूको पकड रहेको संसद्‍को तल्लो सदनमा गत सातादेखि सार्वजनिक सुनुवाइ सुरु भएको छ ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले गलत काम गरेको कुरा कडा रूपमा अस्वीकार गर्दै आएका छन्।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारित महाभियोग सुनुवाइ मङ्गलवार तेस्रो दिन भएको हो।

 

प्रकाशित मिति: : 2019-11-20 07:47:23

प्रतिकृया दिनुहोस्