अमेरिकामा 'गधा' दौडन थालेकै हो त ?

केन्टकीको गभर्नर र भर्जिनियाको दुबै सदनमा डेमोक्रेटस् : नीलो लहर आएकै हो त ?

अमेरिकामा मंगलबार सम्पन्न 'अफ दि ईयर ईलेक्शन' मा डेमोक्रेटिक पार्टीले केन्टकी र भर्जिनियामा अप्रत्यासित जीत निकालेको छ ।

राज्य र केन्द्रमा रिपब्लिकनको दबदबा रहेको गाढा रातो केन्टकीको गभर्नरमा डेमोक्रेटिक पार्टीका एन्डी बशीर विजयी भएका छन् । उनले अतिबादी दक्षिणपन्थी रिपब्लिकन गभर्नर म्याट वेभिनलाई कडा प्रतिस्पर्धामा साँघुरो मतले पराजित गरेका छन् । यद्यपि, वेभिनले अझै पराजय स्वीकार गरिसकेको छैनन् । 

वर्तमान राष्ट्रपति ट्रम्पका कट्टर अनुयायी वेभिनको पराजय रिपब्लिकनका लागि शुभ संकेत हैन । त्यसमा पनि केन्टकी सिनेटमा मेजरिटी लिडर मिच म्याक्नलको गृहराज्य हो । उनी अर्को वर्ष निर्वाचनमा होमिनुपर्ने छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले क्लिन्टनभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजय हाँसिल गरेका केन्टकीका गभर्नरमा डमोक्रेटको जीतले अमेरिकाको राष्ट्रिय राजनीतिमै ठूलो महत्व राख्दछ ।

उता, भर्जिनियामा भएको संसदीय चुनावमा दुबै सदनमा डेमोक्रेटिक पार्टीले जितेको छ । १०० सदस्यीय तल्लो सदनमा डेमोक्रेटसले ५३ स्थानमा विजय हासिल गरेका छन् । यसैगरी ४० सदस्यीय सिनेटको २१ स्थानमा डेमोक्रेट्स विजयी भएका छन् । भर्जिनियामा अहिले डेमोक्रेट्स नै गभर्नर छन् । यसरी भर्जिनियाको तीनवटै सत्तामा १९९३ पछि पहिलोपटक डेमोक्रेटस फर्केका छन् ।

रिपब्लिकनहरूले नर्थ क्यारोलाइनमा सम्पन्न तल्लो सदननका दुई स्थानमै विजय हासिल गरेका छन् । 

उता मिसिसिपी राज्यको गभर्नरमा पनि रिपब्लिकन पार्टीका रिभ्स विजयी भएका छन् । 

सन् २०२० को राष्ट्रपति चनाव आउन एक वर्ष पनि बाँकि नभएको बेला आएको यो चुनावी परिणामले देशमा नीलो लहर आउन सुरू भएको त हैन भन्ने प्रश्न उठेको छ । यसबाट रिपिब्लिकनहरूमा एक प्रकारको सन्नाटा छाएको छ भने डेमोक्रेटसमा उत्साह देखिएको छ । 

प्रकाशित मिति: : 2019-11-06 11:21:20

प्रतिकृया दिनुहोस्