डीभी भर्ने नेपालीले पाउँन छोडे- अमेरिकाको पर्यटक भिसा !

भिसाको अन्तर्वार्तामा म्यान्डेटरी प्रश्न : 'डीभी भरेको छ कि छैन ? ' छ भन्यो कि भिसा अस्वीकृत । एक प्रतिकात्मक तस्बिर ।

डीभी चिट्ठा भरेका नेपालीको अमेरिका घुम्न आउने सपना चकनाचुर हुन थालेको छ । केही समययता डीभी भर्नेहरूले अमेरिकाका भ्रमणका लागि दिएका भिसा आवेदन अस्वीकृत भैरहेको संख्याले त्यही कुराको पुष्टि गर्छ ।

अहिले काठमाडोैंस्थित अमेरिकी दूताबासमा भिसाका लागि अन्तर्वार्ता दिन जाने जो कोहीलाई पनि एउटा प्रश्न सोधिन्छ-  'डीभी भरेको छ कि छैन ?' । म्यान्डेटरी नै बनेको यो प्रश्नको उत्तर 'छ' हुने बित्तिकै उसले भिसा पाउँने सम्भावना कम्तिमा पनि आधा त त्यही सकिन थालेको छ ।

उता, काठमाडोैंमा भुक्तभोगीहरू अमिलो अनुहार लगाउँदै त्यही भन्छन् । 

अमेरिकी दूताबासका एक कन्सुलरले फेसबुक चाटमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा घुमाउरो पाराले स्वीकार गरेका छन् । उनले भनेका छन्-  'डिभी आवेदनको अर्थ तपाई स्थायीरुपमा नै अमेरिकामा बसाई सर्न चाहनु हो । पर्यटक भिसाका लागि एउटा प्रावधान तपाईको नेपालमा बलियो सम्बन्ध हुनुपर्छ र भिसा सकिएपछि तपाई अमेरिकाबाट प्रस्थान गर्ने आशय हुनुपर्छ । पर्यटक भिसाका लागि आवेदन दिंदा तपाईको अमेरिकामा बसाई सर्ने चाहना अब किन छैन भन्नेबारे व्याख्या गनुपर्छ ।'

उनको यो भनाइले त्यही कुराको पुष्टि गर्छ कि डीभी चिट्टा पारेर त अमेरिका जान खोज्ने मानिस पर्यटक भएर अमेरिका गएपछि कसरी फर्केला र ? यही प्रश्न भिसा दिने नदिने निर्णयको आधार बन्छ र उसको भिसा अस्वीकृत हुन्छ ।

अमेरिकी दूताबासका एक कन्सुलर भन्छन्, ' ५० वर्षभन्दा कम उमेरका नेपालीलाई पयर्टक भिसा दियो भने नफर्कने सम्भावना ७० प्रतिशत हुन्छ । पहिलोपटक फर्किहाल्यो भने पनि यहाँ कागजपत्रको जोहो गरेर अर्कोपटक अमेरिका जान्छ र फेरि फर्कदैन । उनले अगाडि भने, 'हामीसँग ट्रयाक रेकर्डका आधारमा बनाएको तथ्यांक नै छ ।'

म अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिदैछु । के मैले डिभी भरेका कारण यसमा प्रभाव पर्छ ?

यदि तपाईले डिभीका लागि आवेदन दिदैमा भिजिटर भिसाका लागि स्वत अयोग्य भइदैन । तर डिभी आवेदनको अर्थ तपाई स्थायीरुपमा नै अमेरिकामा बसाई सर्न चाहनु हो । पर्यटक भिसाका लागि एउटा प्रावधान तपाईको नेपालमा बलियो सम्बन्ध हुनुपर्छ र भिसा सकिएपछि तपाई अमेरिकाबाट प्रस्थान गर्ने आशय हुनुपर्छ । पर्यटक भिसाका लागि आवेदन दिंदा तपाईको अमेरिकामा बसाई सर्ने चाहना अब किन छैन भन्नेबारे व्याख्या गनुपर्छ । डिभी लोटरी भरेकाहरुका कैयन आवेदनहरु पर्यटकभिसाका लागि सफलतापूर्वक योग्य भएका छन् ।

'यही तथ्यका आधारमा डीभी भरेको छ कि छैन ? भन्ने प्रश्नलाई म्यान्डेटरी बनाएको' बताउँदै उनले भने, ' यो प्रश्नले हाम्रो लागि महत्वपूर्ण गेटकिपिङको काम गरिरहेको छ ।' 

उनले अर्को कुरा पनि खोले, 'नेपालमा कन्सुलर भएर आउनु पनि आफ्नो खराब रेकर्ड निम्त्याउनु जस्तै छ । आफूले भिसा दिएका मानिस जति धेरै फर्कदैनन्, त्यति धेरै खराब रेकर्ड बन्छ । त्यसैले उदार हुन सकिदैन ।'

उता, काठमाडौंस्थित अमेरिकी दूताबासका एक अधिकृतले त्यस्तो बताइरहदा यता वासिङ्टन डीसीस्थित स्टेट डिपार्टमेन्टका एक अधिकृतले पनि फरक भाषामा झण्डै उस्तै कुरा दोहोर्याए । ब्रेक एन लिंक्ससँग कुरा गर्दै उनले भने, ' अहिलेको प्रशासनको मूल नीति नै आप्रवासीमैत्री छैन । जे गर्दा अमेरिकामा आप्रवासीको संख्या घटाउन सकिन्छ, ऊ त्यही गर्छ । '

उनले अगाडि भने, 'डीभी भरेको छ कि छैन ?' भनेर पर्यटक भिसाको लागि अन्तर्वार्ता दिनेलाई सोध्नुको मूलकारण पनि ऊ अमेरिकामा स्थायी रूपमा बस्न चाहन्छ कि चाँहदैन भन्ने पत्ता लगाउन खोज्नु नै हो ।' 

'जब कोही डीभी भर्छ भने ऊ अमेरिकामा स्थायी रूपमा बस्न चाहन्छ', हाम्रा कन्सुलरको सामान्य बुझाइ यही नै हुन्छ भन्दै उनले अगाडि भने, यसका आधारमा पर्यटक भिसा अस्वीकृत हुनु स्वभाविक हो । ' 

अमेरिकी सरकार जे गरेर भए पनि डीभी भर्नेलाई निरूत्साहित गरिरहेको छ । डीभी भर्नेलाई पर्यटक भिसा नदिने भएपछि स्वभावत: धेरै नेपालीले डीभी नै भर्दैनन् । 

प्रकाशित मिति: : 2019-10-26 07:49:03

प्रतिकृया दिनुहोस्