फेरि लडे जिमी कार्टर, भर्ना भए अस्पताल

९५ वर्षे तन्नेरी कार्टर : मनको गतिलाई शरीरको गतिले नभेटेपछि लडिरहन्छन् कार्टर, उठिरहन्छन् कार्टर । तस्बिर : एजेन्सी

अमेरिकाका सबैभन्दा वृद्ध राष्ट्रपति जिमी कार्टर अस्पताल भर्ना गरिएका छन् । जर्जियाको प्लेनस्थित आफ्नै घरमा लडेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी स्थानीय समयअनुसार सोमबार राति लडेको बताइएको छ ।

अहिले राष्ट्रपति कार्टरको उपचार स्थानीय फोबी सम्टर मेडिकल सेन्टरमा भैरहेको छ । मेडिकल सेन्टरले उनको पेल्भिक फ्याक्चर भएको जनाएको छ ।

उनको मनोबल उच्च रहेको र चाँडै ठीक भएर घर फर्कने बताइरहेको पनि मेडिकल सेन्टरकी सञ्चार निर्देशक डियनाले बताएकी छिन् ।

ह्ययुमानिटी फर ह्याविट्याटसँग मिलेर विपन्नहरूका लागि घर बनाइरहेका कार्टर ९५ वर्षको उमेरमा पनि स्वंयसेवीका रूपमा खटिइरहेका छन् ।

सादा जीवन उच्च विचारका धनी कार्टर जर्जियास्थित एक सामान्य घरमा बस्छन् । उनी बस्ने घर देख्दा जो कोही पनि अमेरिकाको राष्ट्रपति भैसकेको मानिस यस्तो घरमा बस्छ भन्ने कल्पना पनि गर्न सक्दैन ।

उनी दुई साताअघि पनि त्यो घरमा लडेका थिए । निधारमा १४ टाँका लगाएर पनि उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार टेनेसी न्यासभिलमा बनिरहेका घरमा स्वयंसेवा गर्न निस्केका थिए ।

प्रकाशित मिति: : 2019-10-22 19:30:31

प्रतिकृया दिनुहोस्