नेपाल डेंगीको मारमा, स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा

विदेश भ्रमणका लागि सँधै खुट्टा उचालिरहेका भनिने उपप्रधानमन्त्री यादव अमेरिकाको एटलाण्टामा । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री उपेन्द्र यादव दुई साता लामो अमेरिका भ्रमणका क्रममा जोर्जियाको राजधानी एटलान्टा आइपुगेका छन् ।

संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी हुन न्युयोर्क आउने क्रममा उनी नेपालीले यहाँ आयोजना गरेको एक स्वास्थ्यसम्वन्धी सम्मेलनको प्रमुख अतिथि हुन एटलान्टा आइपुगेका हुन् ।

एटलान्टामा सेप्टेम्बर २० देखि २२ सम्म पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना हुदैछ । सम्मेलनमा स्वास्थ्यकर्मसँग सम्बन्धित संसारभर छरिएर रहेका नेपाली र नेपालीमूलका व्यक्तिहरूको प्रतिनिधिमुलक सहभागिता हुने बताइएको छ ।

यो पनि हेर्नुहोस् 
बैकुन्ठको दौड ५० बर्ष
 सम्मेलनका संयोजक डा. सन्दीप सापकोटाले सम्मेलन नेपालभित्र वा नेपाल बाहिर जहाँ रहेका भए पनि स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको सहकार्यका लागि समन्वय, समझदारी र  नेटवर्किङ स्थापना गर्ने कुरामा केन्द्रित रहने बताएका छन् । उनले सम्मेलनले उपलव्धीका रूपमा एक्सन प्लानमा आधारित विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गरिने बताउँदै त्यसैको आधारमा काम अगाडि बढ्ने बताए । 

नेपालीहरू सभा, सम्मेलन, बैठक, सेमिनार गर्नमा जति माहिर छन्, त्यसलाई कार्यान्वयनमा उतार्न भने त्यति नै असफल छन् । यो पृष्ठभूमिलाई हेर्दा यो सम्मेलन पनि त्योभन्दा पृथक होला भन्न सकिने अवस्था छैन । डेंगीको मारमा परेको नेपालका स्वास्थ्यमन्त्रीलाई बोलाएर जुन किसिमको सनातनी उद्घाटन गरिदैछ, त्यसले मात्र पनि यो प्रोफेसनलहरूको सम्मेलन हो भन्ने कुरामा शंका गर्नुपर्ने जस्तो देखिन्छ । विहानीले नै दिउँसोको संकेत गर्छ भनेझै यति भन्नलाई कुनै आइतबार पर्खनुपर्ने अवस्था छैन । 

यसै पनि विदेश घुम्ने मामलामा बदनाम उपेन्द्र यादव ओली सरकारमा स्वास्थ्यमन्त्री भएयता २५ पटक विदेशयात्रामा निस्किसकेका छन् । यो उनको  पछिल्लो कार्यकालमा २६औं विदेश यात्रा हो । यो यात्रामा उनी ओली क्याविनेटमा उपप्रधानमन्त्री हुँदाहुँदै पनि मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको सदस्यका रूपमा भ्रमण गरिरहेका छन् । प्रोटोकलको पटक्कै ख्याल नगरी भैरहेको यो भ्रमणले जग हसाउने काम गरेको छ । उनी यसपटक परराष्ट्रमन्त्री प्रदीप कुरमार ज्ञवालीले नेतृत्व गरेको राष्ट्र संघको ७४औं महासभामा सहभागी हुने नेपाली टोलीका सदस्य हुन् ।

उपप्रधानमन्त्री यादव एटलान्टाको यो सनातनी सम्मेलन सकेर न्युयोर्कतिर लाग्नेछन् । उनका टोली नेता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भने सेप्टेम्बर २१ मा काठमाडोैंबाट न्युयोर्क उड्ने कार्यक्रम रहेको छ । 

नेपाल डेंगीको चपेटामा परेर यसको छवि दिन प्रतिदिन धुमिले हुँदै गएको छ । सन् २०२०लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने भन्दै २० लाख पर्यटक नेपाल भित्राउने सपना ओली सरकारले देखेको छ । तर, विदेशमा भने नेपालको छवि डेंगीको प्रकोप भएको देशका रूपमा बनेको छ । यस्तो अवस्थामा स्वास्थ्यमन्त्री दुईसाता विदेश भ्रमणमा निस्केका छन् । यसले पनि यादव कति देश र जनताप्रति जिम्मेवार छन् भन्ने संकेत गर्छ ।

प्रकाशित मिति: : 2019-09-20 05:37:54

प्रतिकृया दिनुहोस्