अमेरिका र चीनबीच वासिङ्टन डीसीमा वार्ता जारी रहेकै बेला अमेरिकाले चीनबाट आयात हुने थप दुई सय अर्ब डलरका सामानमा २५ प्रतिशत कर लगाउँने घोषणा गरेको छ।
राष्ट्रपति ट्रम्पले वार्ताका क्रममा गरेका प्रतिवद्धताबाट चीन पछि हटेकाले थप कर लगाइएको बताएका छन्। उनले वार्ता निष्कर्षमा नपुगे बाँकी तीनसय ३९ अर्ब डलरका चिनियाँ सामानमा पनि कर लगाउने बताए।
यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चालेको कदमको आवश्यक जवाफ फर्काउने बताएको छ। तर त्यो जवाफ कस्तो हुनेछ भन्ने चाँहि उसले स्पष्ट पारेको छैन।
कर थप्ने ट्रम्प घोषणाको जवाफमा राष्ट्रपति सीले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न भनेका थिए।
व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए। तर सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएका थिए।
गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो।
पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो।
लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो।
सेप्टेम्बर २४ देखि थप दुईसय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो।
अहिले अमेरिकाले ५३९.५ अर्ब डलरका चिनिया सामान आयात गर्दै आएको छ।